काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको तर देश र जनताप्रतिको जिम्मेवारी नछाडेको बताएका छन् ।

नारायणहिटी दरवार छाडेपनि आफुले देश र जनताप्रतिको जिम्मेवारी नछाडेको पूर्वराजा शाहको भनाई, देशलाई कसैको क्रिडास्थल बन्न नदिने उद्घोष

२९५ औं पृथ्वी जयन्ती तथा एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश दिदैं पूर्वराजा शाहले नारायणहिटी छाडेको एक दशक नपुग्दै देशै नबच्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
पटक पटक सन्देश र विज्ञप्तीहरु जारी गरेर चर्चामा आउने गरेका पूर्वराजाले यसपटक पनि आफ्नो सन्देशमा राजनीतिक दलहरुतर्फ संकेत गर्दै देशलाई कसैको क्रिडास्थल बन्न नदिने बताउनुभएको छ । सन्देशमा उहाँले समयको मागले आफुले राजदरबार छाडेको तर राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको प्रष्ट पारेका छन् ।
पूर्वराजा शाहले चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको मुलुकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने काम भइरहेको भन्दै दलहरुप्रति चर्को असन्तुष्टि समेत जनाएका छन् ।
भौगोलिक एवं क्षेत्रीय अखण्डातामाथि प्रहार गर्ने कार्य जो जसले विजारोपण गरेको भएपनि नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेकोउनको ठम्याई छ । उनले नेपाली झण्डाको रक्षा गर्न सबै एक ठाउँमा उभिने समय आएको पनि सन्देशमा उल्लेख गरेका छन् ।