शुसिल खनाल
रोल्पा, पुस २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ५ नम्बर प्रदेशका जनतालाई कमजोर ठानेर सरकारले विभाजन गर्ने प्रस्ताव संसदमा दर्ता गरेको बताउनुभएको छ । ५ नम्बर प्रदेश विभाजन गर्ने प्रस्तावको विरोधमा आज रोल्पाको लिबाङ भएको जनसभालाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताउनुभएको हो ।

रोल्पा प्यूठानका जनताको साथ लिएर प्रधानमन्त्री बनेका प्रचण्डले अहिले यि जिल्लालाई नै किन पोखरासँग जोड्न खोजेका छन् भन्ने कुरालाई रोल्पालीहरुले गम्भीर भएर सोच्नुपर्ने बताउनुभएको छ । राजा फाल्न सक्ने रोल्पालीहरुले अहिले आफ्नो प्रदेश बचाउन किन नसक्ने भन्दै नेता भण्डारीले अब संघर्ष गर्ने दिन आइसकेको उल्लेख गर्नुभयो ।

संविधान निर्माण गर्दादेखी नै विबाद देखिएका झापा, मोरङ, सुनसरी र कैलाली कञ्चनपुरलाई बचाउनको लागि फरक–फरक पार्टीका शिर्ष नेताहरु एक ठाउँमा उभिन हुने तर ५ नम्बर टुक््रयाउदा हामी किन चुप लाग्नुपर्ने भन्दै नेता भण्डारीले पार्टी भन्दापनि माथी उठेर सबै दलका नेता तथा कार्यकर्ताहरु अब प्रदेश बचाउन लड्नुपर्ने धारणा राख्नुभयो ।

प्रशासनिक सुगमताका लागि संघियता बनाउन खोज्दा उल्टै रोल्पाका जनतालाई पोखरा जानुपर्ने भएपछि कसरी सुगमता हुन्छ भन्नुभयो । जनसभालाई नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रा.डा. पुष्प कँडेल, नेकपा एमाले संसदीय दलका सचेतक गोकुल घर्ती, नेपाली काँग्रेसका सांसद अमरसिङ पुनले सम्बोधन गर्नुभएको थियो ।