उदयपुर । ‘बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिटपछि मृत्यु भएको भनिएकी’ काभ्रे सानो गौथली–७ की लक्ष्मी परियारको मृत्यृ प्रकरणमा जोडिएकालाई विभिन्न संघ संस्थाले कारबाहीको माग गरेको छ । शुक्रबार गैर सरकारी संस्था महासंघ नेपाल उदयपुले विज्ञप्ती प्रकाशित गरेर कारबाहीको माग गरिएको छ ।

2016-12-17_1438
लक्ष्मी परियार प्रकरणमा जोडिएका स्थानीय शिक्षक हिरा तामाङ, र उनकी आमा काइली तामाङ, साहिला तामाङ लगायतका व्यक्तिहरुले बाँधेर मलमुत्र खुवाएर जघन्य हत्याप्रति उदयपुरका आधा दर्जन संघ संस्थाले संयुक्त विज्ञप्ती निकालेर पिडकलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘आजको आधुनिक प्रगतिशिल युगको समयमा पनि बोक्सी जस्तो अत्यन्त घृणित निकृष्ट आरोप लगाई मर्म मर्ममा प्रहार गरी हत्या समेत गर्नाले मानव सभ्यता र मानवलाई नै कुरी कुरी गरेको छ । दिनदहाडै शरिर बाँधेर चरण यातना दिई मलमुत्र खुवाएर घोर प्रासविक यातना दिने पीडकहरुको साथै घटनाका रमितेहरुलाई नेपालको कानून बमोजिम हदैसम्मको सजायको माग गरेको छ ।’

 

विज्ञप्तीमा भनिएको छ, ‘घटनाको भित्री तहसम्मको यथार्थ निष्पक्ष सत्य तथ्य पत्ता लगाई पिडकलाई कारबाही र पिडितलाई न्याय गर्न सम्बन्धित सरोकारबालाहरु समक्ष जोडदार माग गर्दै गैसस महासंघ उदयपुर, मानवअधिकार सञ्जाल, लोकतान्त्रिक गैसस महासंघ, मानवअधिकार एलायन्स, महिला अधिकार मञ्च, र पारालिगल कमिटि उदयपुरले संयुक्त विज्ञप्ती प्रकाशित गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ ।’