बाह्रवर्षको उमेरमै लागुऔषधको दुर्व्यसनमा फसेका बेलायती नागरिक रायन लङमुरसँग अहिले नाम र पैसा दुबै छ । किनकि उनी एक सफल क्याटरिङ व्यवसायी बनेका छन् ।

उत्सुकताले सधैं मान्छेलाई सकारात्मक दिशातिर मात्रै होइन, कहिलेकाहीँ नकारात्मक दिशातिर पनि धकेल्छ । यस्तै भयो, उनको जिन्दगीमा पनि ।

उनी सानैदेखि धेरै जिज्ञासु थिए । १२ वर्षको उमेरमा लागुऔषधका बारेमा उनलाई जिज्ञासा लाग्यो । साथीहरुसँग लहलहैमा लागेर उनले लागु औषधको स्वाद चाखे ।

सुरुमा उनी लागू औषधको परीक्षण मात्रै गर्न चाहन्थे । तर, स्वाद चाखिसकेपछि उनी त्यतिमै सीमित हुन सकेनन् । जसका कारण लामो समय कुलतमै फसे । लागुऔषधको नशामा फसेपछि उनका ८ वर्ष कुनै प्रगतिविना बिते । यी ८ वर्ष उनको बाटो प्रगतितिर होइन, दुर्गतितिर लम्कियो ।

ती आठ वर्षमा उनको दिन केबल लागुऔषध खोज्दैमा बित्थ्यो । तर अहिले समय बदलिएको छ । उनका दिनहरु अहिले पैसा कमाउने नयाँ-नयाँ उपायहरु खोज्दैमा बित्छ ।

लागुऔषधको लतबाट बाहिर निस्केपछि उनले रेगिस ब्यांकेटबाट उनले मनग्य आम्दानी गरिरहेका छन् । उनको क्याटरिङमा अहिले ६५ जना कामदार छन् । र, उनको कम्पनीले बाषिर्क १.३ मिलीयन पाउण्डको कारोबार गर्दछ।

उनी आफै आफ्नो कमाइमा अचम्मित छन् । लङमुर भन्छन् ‘मैले स्यान्डवीच बेच्ने गर्छु, तर कुनै डाक्टर र वकिलले भन्दा धेरै पैसा कमाएको छु, म आफैं अचम्ममा परेको छु ।’

उनी अहिले ३७ वर्षका भएका छन् । उनले लागुऔषध छाडेको पनि झन्डै १७ वर्ष बितिसकेको छ । लागुऔष छाडेर उनी अहिले ठूला व्यवसायी भएका छन् ।

२० वर्षको उमेरमा टेकेपछि उनले लागुऔषधको लत छाडे । र, लङमुरले अहिलेसम्म फेरि त्यो चाख्ने प्रयाससमेत गरेका छैनन् ।

‘मैले सबै चाखें, कोकिन हिरोइन, स्पिड र यस्तै अन्य अरु लागुऔषध खाएँ । मैले दिनमा ५ देखि १० वटा ट्याब्लेसम्म खाएँ ।’ उनी भन्छन् ‘१५ देखि २० वर्ष सम्म हुँदा त मैले हरेक दिन नशामा नै बिताएँ ।’

१६ वर्षको उमेरमा उनले लागुऔषधको लुकीछिपी ब्यापार पनि गर्थे । उनी भन्छन् ‘यदि मैले लागुऔषध खान नछाडेको भए आज गुण्डागर्दीमा हुन्थे ।’

२४ वर्षको उमेर हुँदा उनले रेगिस ब्यांकेट सञ्चालनमा ल्याएका हुन् । जसले उनलाई अहिले नाम र पैसा दुबै दिएको छ । साथै क्याटरिङको व्यवसाय थालेपछि उनी निराश बन्न परेको छैन ।

एउटा ‘लिफ्ट’ले परिवर्तन भएको जीवन

आखिर लागुऔषधको नशामा झुमीरहेका लङमुरको जिन्दगीमा नाटकिय परिवर्तन कसरी भयो त ?

कोही कसैलाई आफ्नो सवारी साधनमा लिफ्ट दिएकै कारण जिन्दगीमा आमूल परिवर्तन हुन सक्छ भन्ने सहजै पत्यार नलाग्न सक्छ । तर, लिफ्ट दिएकै कारण लङमुरको जीवन बदलिएको रहेछ ।

लिफ्ट माग्ने महिलाले उनलाई लागुऔषधबाट छुटाइन् र धर्म कर्मतिर लगाइन् । उनले व्यवसाय थाल्ने मौका मात्रै होइन, जीवनसाथी समेत पाए ।

उनी जुन धार्मिक स्थलमा जान्थे, त्यहाँ कफी सप सञ्चालन गर्ने व्यक्तिको आवश्यकता थियो ।

लागुऔषधबाट बाहिर निस्केका लङमुरलाई धर्मगुरुले कफीसप सञ्चालनको जिम्मा दिए । कफीसप सञ्चालन गरेका लङमुरलाई नशाको लतबाट बिस्तारै व्यवसायको लत लाग्न थाल्यो ।

नयाँ नयाँ व्यवसायहरुको खोजी गरिरहेका लुङमर २४ वर्षको उमेरमा नै रेगिस ब्यांकेट सञ्चालनमा ल्याउन सफल भए । क्याटरिङमा खासै अनुभव नबटुलेका उनले जोखिम मोलेरै क्याटरिङको व्यवसाय थालेका थिए ।

राज्यले उनलाई ५ हजार पाउण्ड ऋण प्रदान गर्‍यो । यसले उनलाई झनै हौसला बढायो ।

प्रोफेसर इलेनर सा भन्छिन् ‘क्याटरिङ निकै चुनौतिपूर्ण व्यवसाय मानिन्छ, किनकि यो धेरै प्रतिस्पर्धी छ । तर, लङमुरसँग काम गर्ने जोशजाँगर र मिहेनत गर्ने बानी छ, जसले उसलाई सफल बनाएको छ । ‘
-अनलाइन खबर बाट साभार