काठमाडौँ, १० पुस – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सहयोगी संस्था बन्द गर्ने योजना रहेको बताएका छन्।

 

राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो सहयोगी संस्था ट्रम्प फाउन्डेसन बन्द गर्ने योजनामा रहेको घोषणा गरेका हुन्। स्वार्थका लागि हुने द्वन्द्व अन्त्यका लागि फाउन्डेसन बन्द गर्ने योजना बनाएको ट्रम्पको भनाई छ। ट्रम्प फाउन्डेसनमाथि पारदर्शी रुपमा काम नगरेको आरोप लागेको छ।

 

आरोपको विषयमा न्युयोर्कका अधिकारीले छानबिन गरिरहेका छन्। तर ट्रम्पले भने सबै आरोप अस्वीकार गर्दै आएका छन्। तर छानबिन गरिरहेको न्युयोर्कको सरकारी वकिल कार्यालयले भने अनुसन्धान पूरा नभएसम्म ट्रम्पले फाउन्डेसन बन्द गर्न नपाउने दाबी गरेको छ।

ट्रम्पले शनिबार अबेर जारी गरेको वक्तव्यमा फाउन्डेसनले धेरै आवश्यक समूहका लागि ठूलो सहयोग गरेको उल्लेख गरिएको छ। तर फाउन्डेसनका कारण उत्पन्न हुन सक्ने विवाद अन्त्यका लागि संस्था नै बन्द गर्ने योजना बनाएको वक्तव्यमा उल्लेख गरिएको छ। एजेन्सी