अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः ५० देखि ५४ वर्षका नागरिकलाई लगाइने


संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताउनुभयो । एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
अमेरिकाले यसअघिदेखि नै नेपाललाई कोरोनाको उपचार र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेकामा मन्त्री श्रेष्ठले आभार व्यक्त गर्नुभयो । “कोरोनाको नियन्त्रणका लागि खोप नै उत्तम विकल्प हो, ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउने गरी सरकारले आवश्यक तयारी गरेको छ”, उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै उहाँले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताउनुभयो । राजदूत बेरीले आजसम्म अमेरिकाले नेपालको कोभिड प्रतिकार्यका लागि सात करोड अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेकोसमेत जानकारी दिनुभयो । रासस ]

यो पनि – अमेरिकी सरकारबाट खोप हस्तान्तरण

अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो ।

यो पनि – ७० हजार मेट्रिकटन चैते धान उत्पादन

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो । गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढोत्तरी भएको छ ।

हरियो तरकारी महँगो

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण तरकारी खेतीमा क्षति भएपछि कलैया बजारलगायत जिल्लाभरि नै हरियो तरकारीको मूल्य महँगो भएको छ । कलैया बजारमा हाल हरियो तरकारी झिगुनी प्रतिकिलो रु १००, बोडी रु १००, रामतोरी रु ७०, करेला रु ६०, घिउरा रु ६० र परवल रु ८० प्रतिकिलो बिक्रीवितरण भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

हरियो तरकारी १५ दिन पहिला कलैया बजारमा झिगुनी रु ६०, वोडी रु ६०, रामतोरी रु ३०, करेला रु ३५, घिउरा रु २५ र परवल रु ६० प्रतिकिलो बिक्री भइरहेको थियो ज्ञानकेन्द्रका प्राविधिक सहायक गेनालाल मण्डलले भन्नुभयो । गत वर्ष कृषकले वर्ष झिगुनी, रामतोरी, घिउरा, करेला, आदि गरी पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेकामा वर्षाका कारण खेतमा नै गलेर उत्पादनमा निकै गिरावट भएको ज्ञानकेन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस