–खुक्सङ खम्बु

विषय उठान

राई जाति यस भूमिको आदिम जाति हो । यस भुगोलको उत्पत्ति सँगै यो जातिको दुखम्–सुखम् कथा–व्यथा जोडिएर आउँछ । यस ऐतिहासिक जातिको बारेमा केही वर्ष यता थोरबहुत समस्याहरु देखिएका छन् । “राई हाम्रो जात होइन, पद हो । हामी राई मान्दैनौं । हाम्रो जात त थुलुङ, कुलुङ, बाहिङ, बान्तावा, नाछिरिङ, चाम्लिङ पो हो ।” यसो भन्ने राईहरु पनि अहिले देखा परिरहेका छन् । राई शव्दको मौलिकता नभएको, राई जाति भित्रको विभिन्न थरी–भाषिको इतिहास, संस्कृति र भाषा फरक–फरक भएको तर्क पेश गर्दै आफूहरुलाई छुट्टै जात बनाइनुपर्ने उनीहरुको माग छ । किरात महासङ्घ जस्ता संघ, संस्था खोलेर राई हटाइ छुट्टै जात बनाउन उनीहरु लागिपरेका छन् । छुट्टै जात बनाइ पाउँ भन्दै सरकारलाई निवेदन पनि हालिरहेका छन् । उनीहरु किन यसो गर्दैछन् ? यस्को भित्री कारण के हो ? यस्को खोजी गर्दै उनीहरुले राई जाति माथि लगाएका गंभिर आरोपहरुको यस लेखमा जवाफ दिने प्रयास गरिने छ ।

राई शब्दको मौलिकताको बारेमा

राई जातलाई हटाएर छुट्टै जात बनाउनेहरुको आरोप के छ भने “राई हाम्रो जातै होइन । यो त पृथ्विनारायणले दिएको पद हो । पद कसरी जात हुन सक्छ ? हामी राई मान्दैनौं । हामी राई हुँदै होइनौं ।” राई शब्द के हो ? कसरी यो शब्द प्रचलनमा आयो ? यो पद हो कि जात हो ? यस बारेमा यहाँ चर्चा गरिन्छ ।

खालिङ राईहरु आफूलाई रादु भनेर चिनाउँछन् । दुमी राईहरु रदु भन्छन् । चाम्लिङ राईहरु पनि आफूलाई रोदुङ भन्छन् । साम्पाङ राईहरु रादुङ भन्छन् । हामी थुलुङ राईहरु आफूलाई ¥वादु÷प्रच्यो थुलु भन्छौं । ¥वादु÷प्रच्यो भनेको राई हो भन्ने हाम्रो बुझाइ छ, जसको शाब्दिक अर्थ यही भूमीबाट उत्पति भएको भन्ने हुन्छ, थुलु भनेको त थुलुङ भइहाल्यो । ¥वादु÷प्रच्यो, रादु, रदु, रोदुङ, रादुङ र राई शब्दमा निकट सम्बन्ध छ, भन्ने लाग्छ । यदि रायाबाट राई हुन्छ भनेर सजिलै अर्थ लाइन्छ भने ¥वादु, रादु, रदु, रोदुङ र रादुङबाट राई किन हुँदैन ? जरुर हुन सक्छ, बरु हाम्रो अध्ययनको दायरालाई अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ? पृथ्वी नारायणले हामीलाई अर्कै ग्रहबाट टपक्क टिपेर राई शब्दले सम्बोधन गरेको अवस्य होइन, बरु राई शब्दसँग सम्बन्धित् त हामीनै पो थिए छौं त । जस्तोः ¥वादु, रादु, रदु, रोदुङ, रादुङ शब्द राई शब्द सँग मिल्दा–जुल्दा छन् ।

 

पदनै देको भए त डिट्ठा, बहिदार, खरदार पो भन्नुपर्ने, किन राई भन्यो ? खोजीको बिषय यो हो । तत्कालीन माँझकिरातका किराती राईहरुले आफूलाई ¥वादु, रादु, रदु, रोदुङ, रादुङ हौं भनेर चिनाउँदा पृथ्वी नारायणको जिब्रोले उच्चारण गर्न नजानी राया÷राई भनेको चैं सत्य हो । किनकि राया शब्दसँग त उनीहरु पहिल्यै परिचित् थिए । सालेनालेन थुलुङलाई सत्यनारायण थुलुङ भन्ने÷बनाउनेले ¥वादु, रादु, रदु, रोदुङलाई राया भन्नु कुन अचम्मको कुरा भो र ? लु तिमीहरु ¥वादु, रादु, रदु, रोदुङ, रादुङ नै हौ (पृथ्वी नारायणको भाषामा राया,राई नै हौ) यो जिमीभूमी (किपट) तिमीहरुकै हो, भनेर सम्मानपूर्वक हामीलाई सुम्पेको÷स्वीकारेको बरु सत्य हो । यही ¥वादु, रादु, रदु, रोदुङ र रादुङ शब्द बाट अपभ्रंश भइ राई भएको हुनुपर्छ । यो कुनै पृथ्वी नारायणले दिएको पद होइन । हामी रादु÷राई नै हौं । हाम्रो जात रादु÷राई नै हो । सही इतिहास के हो ? बुझ्नुपर्ने कुरा यतातिर छ ।


समय बित्दै जाँदा राजनीतिक घटनाक्रम हाम्रो प्रतिकूल हुँदै जाँदा शाह, राणाकाल भोग्दै आउँदा, हाम्रो जिमीभूमी खोसिदै जाँदा बाध्य भएर तत्कालीन सरकारलाई हामीले÷राईले तिरो–कर उठाएर तिर्नु प¥यो । हो, त्यहींनेर राई जाति भित्र फुट ल्याउने नियोजित उद्देश्यले राई र जिमीमा हामीलाई बाँडियो । कर उठाउने हर्ताकर्तालाई राई र अरु सबैलाई जमिन्दार÷जिमीदार÷जिमी भनियो । त्यसपछि शाह, राणाका भरौटे इतिहासकारले राईलाई पद देखे÷लेखे÷भने । तर राई शब्द हिजो रादुबाट आएको हो भन्ने कुरा उनीहरुले बुझेनन् । वा बुझेर पनि बुभ्m पचाए । यहीँनेंर हामीले बुझ्नुपर्ने चुरो कुरो के छ भने शाह, राणा त हामीलाई सिध्याउनै चाहन्थे नि, हाम्रा इतिहास, भाषा, संस्कृति त खत्तम पार्नै चाहन्थे नि । हामीलाई त हरुवा–चरुवा, नोकर–चाकर बनाउँन चाहन्थे नि ।

अब प्रश्न उठ्छ । त्यस्ताका भरौटेले हाम्रो बारेमा बोलेको, लेखेको इतिहास के सही होला ? के तिनीहरुले साँच्चै इमान्दार पूर्वक बृहत किरात सभ्यता, इतिहास, भाषा, संस्कृतिको अध्ययन् गरेरै लेखेका हुन् ? कदापि होइन । धेरै टाढा नजाउँ, २०४६ साल भन्दा पहिले के थियो स्थिति ? के भन्थे उनीहरु हामीलाई ? हाम्रो भाषा बोल्दा गाईखाने भाषा भन्थे । नियत तिनीहरुको, यहीं प्रष्ट हुन्छ । के गर्न चाहन्थे तिनले हामीलाई ? त्यस्ता फटाहाहरुले लेखेको हावादारी इतिहासको पछि लागेर सारा राई जातको बेइज्जत गर्ने दुष्प्रयास् जो हाम्रै मान्छेहरु बाट भइरहेको छ, यो घोर निन्दनीय र अक्षम्य छ ।

भोलिका दिनमा यस कुकार्यको फल तिनले भोग्नुपर्नेछ ।
हामी राई हैनौं, बरु जिमी हौं भन्ने पनि कतिपयको तर्क छ । जिमी त झन् हामी खसभाषीकरणमा परे पछिको पछिल्लो शब्द हो । जमिन्दारलाई जिमीदार भनियो । यही जिमीदारको छोटो रुप जिमी हो । वस् जिमीको अर्थ यत्ति न हो । जमिन, जमिन्दार शब्द खस भाषाका हुन् । आफूलाई जिमी भन्नु भन्दा रादु÷राई भन्नु सैंयौं गुणा ठीक छ । रादु, रदु, ¥वादु, रोदुङ, रादुङ, राई शब्द भित्र कहीं न कहीं हाम्रो गहिरो इतिहास लुकेको छ । ंखोज्न जाने हाम्रो उत्पतिका सारा कथा यहीं भित्र छ ।

केवल हाम्रो कुरा हेर्ने आँखा हाम्रै जस्तो हुनुप¥यो, हाम्रो कुरा सुन्ने कान हाम्रै जस्तो हुनुप¥यो र हाम्रो कुरा बुझ्ने दिमाख हाम्रै जस्तो हुनुप¥यो । अनि मात्र सही कुरा देखिन्छ, सुनिन्छ, बुझिन्छ । अरुको आँखा, कान र दिमाखले हेर्दा, सुन्दा र बुझ्दा त अर्कै कुरा देखिन्छ, सुनिन्छ र बुझिन्छ नि । समस्या भएको यहिंनेर हो । यतिबेला हामी किराती राई इतिहासको पुनर्लेखन, पुनर्खोज–अनुसन्धान र पुनर्समिक्षामा छौं । बरु आउनुस् समिक्षा गरौं र लेखौं हाम्रो सही इतिहास अब हाम्रै हातले ।

राई जातिको इतिहासको बारेमा

छुट्टै जात बनाउनेहरुको अर्को तर्क के छ भने “राई जात हो भने खै राईको इतिहास ? खोइ वंशावली ? इतिहास, वंशावली नभएको जात हुन्छ ?” आउनुहोस् राईको इतिहास र वंशावलीको बारेमा यहाँ छलफल गरौं । बान्तावा राईहरुले सुम्निमा–पारुहाङ, हामी थुलुङ राईहरुले पातिसङ–द्युल्युन्दुमा, चाम्लिङ राईहरुले नाइमा–पारुहँ आदि–इत्यादि नामले पुकारे पनि हामी राईहरुको पुर्खा भने एउटै हो । पात्र र कथा पनि एउटै हो, यसमा कसैको दुईमत छैन । त्यस्तै तायामा, खियामा, हेत्छाकुप्पा, हामी थुलुङ राईहरुले जाउमा, ख्लिउमा, ख्वाक्चिलिप, जाउमो, ख्लिउमो, खाक्चिलिपु, रैछाकुले जे भने नि पात्र, कथा, घटना र दर्शन एउटै हो ।

भूगोल, भाषा र रहनसहनले दूरी बढ्दै जाँदा, पुस्तान्तर हुँदै जाँदा, वक्ता फेरिदैं जाँदा नाम फरक हुनु, सुनिनु, भनिनु र बोलिनु स्वाभाविक हो । तर कथाको सार–जरा या उद्गम चैं हामी सबै राईको एउटै हो । त्यसो त हाम्रो इतिहास एउटै हो, जरा एउटै हो, उद््गम–उत्पतिको बिन्दु एउटै हो । तर पात्रको नाम फरक पर्दैमा कतिपय साथीहरु हामी फरक हौं, हामी छुट्टै जात हौं भन्छन् भने त्यो जति सतही र हावादारी कुरा के हुन सक्छ ? नाम त हिन्दुहरुको कृष्णको पनि धेरै छ नि । सायद बताउन नपर्ला । दश वटा नामले कृष्णलाई पुजे पनि कृष्णको दश वटा रुपको व्याख्या गरे पनि कृष्णको बारेमा दश वटा कथा बुने पनि हिन्दुहरुले कृष्ण चैं आखिरी एउटै हो है भन्छन् । हामी चैं पात्रको नाम फरक पर्दैमा हामी अर्कै जात हौं भन्दै पाखुरो सुर्किनु पर्ने ? आफ्नै वंशको जरो उखेल्न कस्सिनु पर्ने ? यस खाले प्रवृतिले हामीलाई कहाँ पु¥याउँछ ? गंभिर भएर सोच्नु पर्ने विषय हो यो ।

 

हिजो–आज छुट्टै जात माग्ने कतिपय कुलुङ, खालिङ, नाछिरिङ र बाहिङहरु ५, ७ सय वर्ष यताको आफ्नै मात्र वंशावली पेश गरेर राईको वंशावली माथि प्रश्न तेस्र्याउँछन् । त्यसो त म थुलुङ राई भएको नाताले थुलुङ यताको मात्र वंशावली अनुसार अहिले म २१ सौं पुस्ता हुँ । त्यस्ता वंशावली त हामी प्रत्यक कहाँ सुरक्षित छ । तर यो वंशावली भनेको ५, ७ सय वर्ष यताको मात्र हो । त्यसो त ५, ७ सय वर्ष भन्दा पहिलेको इतिहास–वंशावली चाँहि हामीलाई चाहिदैन ? खोज्नु पर्दैन ? त्यो दुर्दान्त–दुखान्त समयको हाम्रो कथा–ब्यथालाई त्यति सजिलै बिर्सन मिल्छ ? त्यति धेरै हामी निष्ठुरी बन्न मिल्छ ? कि हाम्रो उत्पति भएकै ५, ७ सय वर्ष मात्र भयो ? तर इतिहासले त यो भूमिमा हाम्रो उत्पति भएको त दसौं हजार वर्ष भयो पो भन्छ त ।

सुम्निमा–पारुहाङ यता राईको वंशावली सोध्ने÷खोज्नेले ब्रम्हा, विष्णु देखि यता प्रचण्डको वंशावली दिन सक्छन् ? बलबहादुर के.सी. कै दिए नि हुन्छ । सक्छन् भने हामी नि खोजौंला । उनीहरु त झन् लेखेरै राख्ने हुन् । लेखेर राख्ने कहाँ त हुनुपर्ने हैन ? हामी भने मुखले मात्र भन्दै आउने हौं । हामी कहाँ नहुनु स्वाभाविक लाग्छ । कुरा यति हो, पात्रको नाम फरक पर्दैमा, ५, ७ सय वर्ष यताको मात्र इतिहास कोट्याएर वंशाावली देखाउँदैमा हामी छुट्टै जात हौं, हाम्रो छुट्टै इतिहास छ, राईको वंशावली खोइ ? भनेर भ्रामक कुरा नगरौं । हाम्रो जरा त्यति धेरै टाढा छैन । र त्यो त्यति ढाट्न मिल्ने खालको छैन ।

 

राई जातिको संस्कृतिको बारेमा

छुट्टै जात बनाउनेले संस्कृति पनि छुट्टै देखाउनु परिहाल्यो । अनि संस्कृति फरक देखाउन जबरजस्त तर्क पेश गर्नुप¥यो । तिनका तर्कको यहाँ खण्डन गरिन्छ । हिजो हाम्रा पूर्खाले एउटै खोलाको पानी पिएर, माटो खोस्रेर जिवन जिए, सभ्यताको निर्माण गरे । संस्कृतिको निर्माण गरे । त्यसो हुँदा हाम्रा संस्कार–संस्कृति पनि मिल्दो–जुल्दो हुनेनै भयो । रिब्दुङका थुलुङ राईले सुँगुर पालेर बस्दा बुङ–छेस्कामको कुलुङ राईले ऊँट पालेर बसेको थिएन । बुङ–छेस्कामको कुलुङ राईले जाँड खाँदै गर्दा रिब्दुङको थुलुङ राईले अवस्य कफी पिउँदै थिएन । यसो हुँदा हामीले निर्माण गरेका सामाग्री–सम्पती, आर्जेको सीप–ज्ञान, सील–स्वभाव, संस्कार–संस्कृति, जिवन पद्धती उस्तै–उस्तै छन् ।

हामी थुलुङले तोसी, बान्तावाले साकेवा, चाम्लिङले साकेला, खालिङले वास वा बाहिङले सेग्रो जे भने पनि हामीले गर्न, भन्न र पुज्न खोजेको चैं उही भूमी र पुर्खानै हो । नाम, नचाई र पूजा विधीमा फरक हुन सक्छ । भाषाको विविधताले मुन्दुमका केही शब्दहरु पनि फरक हुन सक्छन्, मैंले मानें । तर यसले बोकेको कथा–दर्शन र भन्न खोजेको कुरा त एउटै हो । हामी जाने त कथा र दर्शनमैं हो नि । किनकि एउटै कथा (बिन्दु) र दर्शनले यद्यपि हामीले यो चाड मनाइरहेका छौं । नाम, नचाइ र पूजा विधीको फरकतिर मात्र जाने हो भनें त पात्र अनुसार फरक परिहाल्छ नि । थुलुङ राईकै तोसीको उदाहरण लिऊँ न । हाम्रै नाच मिल्दैन । पूजा विधी मिल्दैन ।

कोही सुङ्गुरले पुज्नेहरु छौं, कोही कुख्राले, कोही अण्डाले मात्र । कसैले केराको पातमा थान–थपना राखेर पूजा गर्ने, कसैले नेबराको पातमा थान–थपना बनाउने र पुज्नेहरु छौं । यस्ता बिबिधता त हामी थुलुङ राई भित्रै छ । छुट्टै जात बनाउनेहरुले यही कुरालाई आधार बनाएर हामी फरक हौं भनी हिँड्छन् । तर यहाँ बुझ्नुपर्ने सत्य के छ भने लेकमा केरा हुँदैन, लेकमा बस्ने थुलुङले कसरी केराको पातले थान बनाउँछ त ? त्यस्तै तल अउलमा नेबराको रुख हुँदैन अनि कसरी अउलमा बस्नेले नेबराको पातले थान–थपना बनाउँछ त ? त्यस्तै सुङ्गुर नहुनेले कुख्राले पुज्यो होला, कुख्रा सम्म पनि नहुनेले चैं अण्डाले काम चलायो होला । यो ब्यबहारिक बाध्यतालाई नबुझी यहीं कुरामा विवाद गर्दै, फरक हो भन्दै गयौं भने हामी कहीँ पुगिदैन ।

अरु राईहरुमा हेर्दा प्रायः चाम्लिङ राईको नचाई छिटो छ भने दुब्देहाङ बान्तावाहरुको ढिलो छ । कुरा यति हो दुब्देहाङ बान्तावाको पूर्खा मोटो थियो होला ऊ बिस्तारै नाच्यो, चाम्लिङको पुर्खा छरितो ज्यानको थियो होला ऊ छिटो नाच्यो । उनीहरुका सन्तानले पनि आ–आफ्नो पुर्खाले सिकाएनुसार सिक्दै÷नाच्दै आए । यही ढिलो र छिटो नचाइकै कारण चाम्लिङ र बान्तावा फरक–फरक जात हुन् भन्न मिल्छ ? संस्कृति फरक भन्न मिल्छ ? के यही कुरा हाम्रो संस्कृति फरक पार्ने मापक हुन् त ? यहीनै हो छुट्टै जात बनाउने आधार ? हो भन्नेहरुलाई मेरो प्रश्न “यो भन्दा हाँसो उठ्दो कुरो के हुन्छ ?”

 

राई जातिको भाषाको बारेमा

राई जात हो भने खोइ राईको भाषा ? भाषा बिनाको जात हुन्छ ? भन्छन् छुट्टै जात माग्नेहरु । यस लेखमा राई भाषाको सवालमा चर्चा गरिने छ । राई भाषा (माउ भाषा) हिजो एउटै हो । राईहरुको मुन्दुमी भाषा सत्तरी प्रतिशत भन्दा बढी मिल्नुले यस कुरालाई प्रमाणित गर्छ । अहिले पनि राईहरुको २० प्रतिशत सम्म बोलीचालीको भाषा मिल्छ । निरन्तर संपर्क नहुँदा, लेख्य परम्परा नहुँदा र कतिपय शब्दहरु पछि निर्माण हुँदा हाम्रा भाषा–शब्दहरु केही फरक हुँदै गए, यो स्वाभाविक हो ।

खस भाषालाई राष्ट्रिय भाषा राज्यले बनाएर निरन्तर विभिन्न माध्यमबाट प्रयोगमा ल्याउँदा त अझै पूर्व र पश्चिमको खस भाषामा एक रुपता आइसकेको छैन भने राई भाषा फरक नहुने कुरै भएन । जरुर अहिले हाम्रा भाषाहरु केही फरक छन् । र अहिले राईलाई टुक्राएर छुट्टै जात बनाउन चाहानेहरुको सबै भन्दा बलियो हतियार भाषा भइदिएको छ ।

त्यसो त भाषिक भिन्नताको आधारमा कुलुङ, थुलुङ, बाहिङ, नाछिरिङ जस्ता जात बन्यो रे, एकैछिनलाई मानीलिनुस् । तर भुमन्डलीकरणको युगमा दिन दुई गुणा, रात चार गुणा हाम्रा स–साना भाषाहरु मर्दै गइरहेका छन् । भाषा म¥यो भने छुट्टै जात बनाउने आधार त सकियो त, त्यो दिन के हुन्छ जातको स्थिति ? भाषा भन्ने कुरो कसैको सनक, रुवाई या मूर्खेसास्तीले त बाँच्दैन, कसैको मूर्खेसास्ती, सनकले भाषा बाँच्ने हो भने त त्यत्रो राज्यनै लागेर अरबौ, खरबौं खर्च गरेर संस्कृत भाषालाई बाहुनबादी सरकारले बचाउन खोजेकै हो, तर संस्कृत भाषा किन म¥यो ? राज्यनै लाग्दा त भाषा बचाउन नसक्दो र छ भने हामी दुई, चार जनाको सनकले के हाम्रो भाषा बाँच्ला ? बचाउन सकिएला ? भाषा मरेको दिन हाम्रो जात बन्ने आधार त सकिन्छ, र त्यो दिन हाम्रो जात चैं के हुन्छ ? भाषा बाँच्नलाई अहिलेको भुमण्डलीकरणको युगमा दुई वटा कुरा हुनु अनिवार्य छ । प्रथम कुनै पनि भाषा बाँच्नलाई त्यो भाषा आर्थिक रुपमा फाइदाजनक हुनु अनिवार्य छ, जस्तो अङ्रेजी र कोरियन भाषा । दोस्रो सरल । हाम्रा भाषा सरल त होलान्, के आर्थिक पक्षबाट हेर्दा फाइदाजनक छन् ? त्यस्तो बन्ने संभावना छ ? तत्काललाई कुनै सम्भावना छैन ।

 

म थुलुङ राई भाषाको राम्रै वक्ता हुँ, मेरो भाषाको मलाई नि अगाध माया छ । सकेसम्म बचाउन हामी लागीपरेकै छौं । सके त नि संसारको माध्यम भाषानै इङ्लिस हटाएर थुलुङ राई भाषा बनाउन मन छ, तर संभव छ ? अहँ । त्यसो त किन भाषाको कुराले यत्रो रडाको मच्चाउँछन् हँ ? मगरको नि तीन, चार वटा भाषा छ । किन उनिहरुले छुट्टै जात नबनाएका ? नमागेका ? किन हामी भित्र मात्र यत्रो लफडा ? के छ फाइदा भोलि गएर हँ ? लेखेरै राख्नुस्, निकट भविष्यमा हाम्रा धेरै राई भाषाहरु मर्दै छन् । भाषिक भिन्नताको आधारमा छुट्टै जात बनाउन कम्मर कसेर लाग्ने साथीहरुले ठण्डा दिमाखले यो सत्यलाई एकचोटी सोच्ने हो कि ?

क. राई माध्यम भाषाको प्रस्ताव

भोलि गएर बचाउन नसकिने भाषाको पछि लागेर अहिले हामी अलग हुनु ठीक कि बेठीक ? भाषाको आधारमा अलग जात बनाउन चाहनेहरुले सोच्दै गर्दा रामै्र हुन्छ । अहिले हाम्रो ध्यान भने हामी सबै थरी राईहरुको भाषालाई बचाउँदै राईहरु बीच कम्युनिकेट गर्न माध्यम राई भाषा बनाउनतिर जान जरुरी छ । जस्तो नेपालमा माध्यम भाषा खस भाषा छ । त्यस्तै राईहरु बीच कम्युनीकेट गर्ने राई भाषा चाहिन्छ । यो रणनीतिक, सामरिक महत्वको ऐतिहासिक, युगान्तरकारी काम हो । जो हामी संघीयतामा जाँदैछौं । सबै थरीका राई भाषाबाट बराबर शब्द तानेर, कमन वर्ड छानेर, बोल्न सजिलो शब्द छानेर अब हामीले राई भाषा बनाउनुपर्छ ।

अहिल्यै राईहरुको १५, २० प्रतिशत भाषा मिल्न आउँछ । बराबर शब्द तान्ने, कमन वर्ड छान्ने तरिका अपनायौं भने झण्डै ५० प्रतिशत् शब्द मिल्न आउँछ । मतलव आधाउधी राई भाषा जुनसुकै भाषा बोल्ने राईले बुझ्न सक्छ । बाँकी ५० प्रतिशत् सिकाउन, पढाउन, सिक्न कुन पहाड भो र ? इङ्लििस, कोरियन, अरबी, हिब्रु, जापानिज, चाइनिज, हिन्दी, खस भाषा अहिले हामी राईहरुले पढिएकै छ । एउटा राई भाषा थप्दा÷पढ्दा के नै पो बिग्रिन्छ र ? बरु हाम्रा धेरै कुरा सप्रिन्छ । हुती हुनेले आफ्नो मातृभाषा पनि पढ्ने÷बोल्ने राई भाषा पनि पढ्ने÷बोल्ने । नहुनेले कम्तिमा राई भाषा चैं पढ्ने÷सिक्ने÷बोल्ने । जो संघीय राज्यद्धारा स्कूल, कलेजमा अनिवार्य गराइनुपर्छ ।

इलाम, पान्थर, धनकुटाका थुलुङ, कुलुङ, खालिङ, बाहिङ आदि राईहरुले अहिले बान्तावा भाषा बोल्दा भाकै छ । राई भाषा बोल्दा, बोल्न सिकाउँदा कसो नहोला ? अझ अपनत्व बोध होला । अझ राम्रो होला । अझ हामी एकतातिर गइएला । राई भाषा बनाए पछिको तागत कति हुन्छ ? त्यो हामीलाई थाहा छ । पहिले लिम्बुहरुको पनि भाषा मिल्दैन थियो । बैरागी काइँलाले एक बनाए भनिन्छ । अहिले लिम्बुवानको तागत र तयारी हेर्नुस् त । राईको भने दशतिर मुख फर्किएको छ, अनि कसरी गरि खाइन्छ त ? भाषाविद्हरुलाई हार्दिकतापूर्वक मेरो अग्रिम अनुरोध के छ भने विभिन्न थरी हामी राईहरुको अरु भाषाहरुलाई चैं मार्ने भनिएको हैन है ।

झन् भाषिक एकता त गर्ने भनिएकै हैन । बरु सबै भाषालाई बचाउँदै अर्को नयाँ राई भाषा चैं बनाउँ भनिएको हो है । यत्रो भाषा बनाउने हामी राईहरुलाई अब एउटा भाषा बनाउन के गाह्रो काम हो र ? उहीले भाषाविद् नहुँदा त त्यत्ति धेरै भाषा बनाउने हामी राईहरुले अहिले यत्रा हाम्रा राईनै भाषाविद् हुँदा एउटा राई भाषा बनाउन सकिन्न र ? भाषाविद्हरुले लाज नमानी अब यो काम थालेर ऐतिहासिक जिम्मेवारी पूरा गर्ने महान कामतिर पो अग्रसर हुने हो कि ?

बैठान

“किरातीको सल्लाह खरानीको डल्ला” उहिले यसो भन्थे किराती राई पुर्खाहरु । “हामी मिल्न नजान्ने, फुट्न मात्र जान्ने” पनि भन्थे । आफ्नै वंशलाई किन यत्तिबिद्दी गाली ग¥या होला नि भन्ने लागेर आउँथ्यो ऊबेला । जिन्दगीले चालिस दशक पार गरिसक्दा पो थोरबहुत भेउ पाउन थालिएको छ । खासमा त हामी त्यस्तै हुँदा रहेछौं नि त । हाम्रो सल्लाह नमिलेरै, हामी आफै मिल्न नसकेरनै आफ्नै देशमा हामी निरन्तर हारीरहेका रहेछौं नि त । कहिले पाठ सिक्ने हो हामीले ? कुरा बुझ्ने हो हामीले ? कुरा टिठ लाग्दो छ । कुरा साह्रै दुःख लाग्दो छ । कुरा दिक्क लाग्दो पनि छ ।

जस्ले जे–सुकै भने पनि, दावी गरे पनि तत्कालीन किरात राई यायोक्खाका पदाधिकारी र विभिन्न भाषी÷थरीका अगुवा बीच सरकारले फ्यालेको चारो (पैसा) को बाँडफाँडमा कुरा नमिले पछि नै यो झगडाको बीऊ रोपिएको सत्य हो । थुलुङ राई सामाका पूर्व अध्यक्ष गोकर्ण राई यायोक्खाका तत्कालिन पदाधिकारी सँग डिस्कस् भएको कुरा स्विकार्नु हुन्छ । सरकारले फ्यालेको चारोमा हामी झुत्ती खेलिरहेका छौं । कुकुर जस्तै झगडा गरिरहेका छौं । एकले अर्कालाई देखाइदिने, सिध्याइदिने डरलाग्दो अहंकार पालेर बसेका छौं । आफ्नै जातलाई तथानाम गाली गरेर आफ्नै मुखमा हामी थुकीरहेका छौं । यसरीनै हाम्रो जुनी जाने भो । हामी सिध्दिने भयौं । यो भन्दा दुखद् कुरा के हुनसक्छ ? के हुन सक्छ यो भन्दा बुद्धीहारा काम ? के हुन सक्छ यो भन्दा आत्माघाती काम ?

 

हो, अधिकार चाहिन्छ । पहिचान चाहिन्छ । राज्यको स्रोतमा बराबर हिस्सा चाहिन्छ । भाषा, संस्कृति, धर्म, इतिहास बचाउनुपर्छ । तर यसरी त बचाइन्न नि । समानतामा पुग्ने तरिका यो होइन नि । सरकारले फ्यालेको दुई, चार पैसामा झगडा गरेर अधिकार पाइन्छ ? समानतामा पुगिन्छ ? गुन्द्रुकको झोलमा जात फ्याल्ने भने जस्तो पो भो यो त । कुनै पढालेखा भएको दुई, चार जनाले सरकारको या विभिन्न एनजिओ, आइएनजिओको दई–चार पैसामा दुई, चार वटा किताब निकाल्दैमा हामी समानतामा पुगिंदैन । अधिकार पाइन्न । भाषा, संस्कृति बचाउन सकिन्न । छुट्टै जात बनाउँदैमा समानतामा पुगिने, अधिकार पाइने भए त पचासौं वटा जात बनाए भैगो नि ।

हामीले हाम्रा भाषा, संस्कृति, इतिहास बचाउने हो भने समानता र अधिकार सम्पन्न हामी हुने हो भने राज्यको मेकानिजम् पो समान बनाउनु प¥यो । राज्यको विधि–विधान, नीति–कानुन समान बनाउनतिर पो हामी लाग्नु प¥यो त । त्यस्का निम्ति विभेदकारी नीति बदल्न पोल्टिकल्ली हामीले हिट गर्नै प¥यो । हिट गर्न बल चाहियो । बल त फेरि एकतामा हुन्छ । “भाइ फुटे गवार लुटे” जो हाम्रो तरिका छ, अनि कसरी अधिकार पाइन्छ ? राज्यको नीति विभेदकारी रहे सम्म भ्यागुता जत्ति उफ्रे पनि काँन्लै मुनि भने जस्तो हो हाम्रो हालत । भाषा, संस्कृति भन्दा–भन्दै हाम्रो जिन्दगी सिद्धिन्छ । तर काम कहिल्यै सकिन्न । हाम्रो कति पुस्ता यसरीनै बित्न सक्छ तर जहाँको तहीँ रहिरहन्छौं हामी ।

 

कुनै पनि जातिको भाषा, संस्कृति, धर्म, इतिहास बचाउने काम राज्यको हो । संरक्षण, संवद्र्धन, विकाश गर्ने काम राज्यको हो । राईलाई साकेला तोसी चाड आएको सूचना, प्रचार–प्रसार राज्यले गरिदिनु प¥यो । जस्तो दशैं आउन एक महिना अघि देखि राज्य सञ्चालित रेडियो, टि.भि. ले दशैंलाई दशैंमय बनाउँछ । मालश्री धुन बजाउँछ । दशैं भत्ता दिन्छ । मार्साखोम÷युङ्कुली राज्यले बनाइदिनु प¥यो । जस्तो नेपाली सेना र राज्यले हिन्दुहरुको मठ, मन्दिर बनाउँदै हिँड्छ । हाम्रो भाषामा शिक्षा दिने÷लिने व्यवस्था राज्यले गरिदिनु प¥यो ।

विद्यालय, विश्वविद्यालय खोलिदिनु प¥यो । जस्तो संस्कृत भाषामा राज्यले खरबौं लगानी गरिरहेको छ । यस्तो खाले समानतामा आधारित देश बनाए पछि मात्र हामी अधिकार सम्पन्न बन्छौं । हामी समानतामा पुग्छौं । हाम्रो भाषा, संस्कृति, इतिहास, पहिचान, अस्तित्व बचाउन सक्छौं । रादु÷राईलाई रादु÷राईले नै तथानाम गाली गरेर, खोइरो खनेर, सिध्याएर चैं खै कति सक्छौं ? अब जवाफ दिने पालो तिनीहरुको ।

आलास्यो !