• तेज बान्तावा राई

दशैं नेपाली हिन्दुहरुको महान पर्व हो । “किन यो नितान्त नेपाली हिन्दु पर्व नै हो ?” भनेर दावी गर्न सकिन्छ किन भने खुद् हिन्दुहरुको देश हिन्दुस्तानमा समेत दशैं मनाइन्दैन बरु दुर्गा पूजा भनेर 9 दिन सम्म मनाइन्छ तर यहाँ जस्तो दशमीको दिन रातो टीका लगाउने प्रचलन अन्त छैन र त्यहाँ पनि नवरात्रको नाममा भव्य पूजा-आरती गरिए पनि त्यसलाई “दुर्गा पूजा” भनिने तर “दशैं” भनिँदैन, जव की खस् नेपाली र हिन्दी भाषा 80% भन्दा बढी मिल्छ । नेपाली भाषाको माउ भाषा र हिन्दी भाषाको माउ भाषा एउटै अर्थात “संस्कृत” हो र दुवै भाषा भारोपेली (Indo-Europian) परिवार भित्रका भाषाहरु हुन् ।

लेखक

हिँजो-अस्ती सम्म नेपाल “हिन्दु अधिराज्य” थियो । यदा-कदा त्यसको अवसेष र धङ्धङी अझै बाँकी नै छ तथापी अहिले नेपाल”धर्म निरपेक्ष राष्ट्र” हो । पृथ्नी नारायण शाहले नै “नेपाल 4 वर्ण 36 जातको फूलवारी” भनी गएका भए पनि पञ्चायत कालमा वा त्यो भन्दा अगाडी राणा शासन कालमा सबै फूलहरुलाई एउटै रंग भर्ने (हिन्दुकरण गर्ने) सक्दो जोड-बल गरिएकै हो । त्यो वेला धार्मिक वा सांस्कृतिक स्वतन्त्रता त छँदै थिएन नै अझ कडा धार्मिक दमन नै थियो भन्ने त्यति खेरका घटनाहरु सुन्दा वा पढ्दा अनुमान गर्न सकिन्छ । दशैंमा घरमा मार हानेर त्यसको रगतमा टेकेर मुल दैलो (मुल ढोका) को दायाँ-बायाँ छाप नलगाएको आरोपमा धनकुटामा रिदामा र रामाली हाङ राईहरुलाई “मृत्यूदण्ड” भएको इतिहास छ ।

मेरो बाजे तत्कालिन “श्री 3 सरकारको सिपाही”, भोजपुर अड्डामा कार्यरत । “किरातीहरुको घरमा पसेर गोरुको टाउको निकालेर फ्याँक्ने र गोरु काट्नेलाई पक्रेर थुन्ने” वडा हाकिमको आदेश पालना गर्न नसकेर तत्कालीन मुक्ति कमान्डर क्या. राम प्रसाद राईको समुहमा “मुक्ति सेना” बन्नु परेको अरे । किरातीहरु मुख्य पित्री राखेको ठाउँ (माङ्छामा) मा अन्य पाछा वा जातले प्रवेश गरेमा ठूलो अनिष्ठ हुने सांस्कृतिक मान्यताको कारण उहाँलाई जागीरबाट हात धुनु परेको थियो । जागीर छाडेर घरै बस्दा पनि राणा सरकारको आदेश पालना नगरेको आरोपमा दु:ख दिन थालिए पछि बिद्रोही बन्नु भएछ र लड्दै जित्दै 2007 साल फाल्गुण 7 गते धुलिखेल आई पुग्दा राणा शासन समाप्त भएछ ।

अहिले “दशैं किराती पर्व नै हो र यो हामीले मान्नु पर्छ” भन्ने र “दशैं लादिएको पर्व हो हो यसलाई बहिस्कार गर्नु पर्छ” भन्ने दुई पक्ष वीच प्रत्यक्ष विवाद देखिएको छ । यही विवादका विच केही किरातीहरुले सेतो टीका लगाएर मनाए भने केही किरातीहरुले मनाएनन् वा बहिस्कार बहिस्कार गरे ।

“पृथ्वी नारायण शाह र तिनका सन्तानले किरातीहरुलाई काटेर रगतमा चामल मोलेर टीका लगाई दिएर सुरु गरिएको कारण दशैं बहिष्कृत हुनु पर्छ” भन्ने तर्क बहिष्कार गर्नेहरुको छ भने, “बाजेले गरि ल्याएको परम्परा” को रुपमा दशैं मनाउनेहरु पनि उत्तिकै छन् । अझै केहीले त दशैंलाई “कालो दिन” मान्दै कालो टीका लगाएको पनि देखियो यै फेसबुकमा ।

मेरो विचारमा दशैं “बहिष्कार” गरिनु हुँदैन । ईतिहासमा जस्तो घटना भएको भएता पनि दशैं एउटा समुदाय (नेपाली हिन्दु) ले आफ्नो संस्कृति बनाई सकेको हुनाले कसैको संस्कृति माथि बहिष्कार हुनु राम्रो होइन । “अतीवादले अतीवाद जन्माउने” भएकोले पनि धार्मिक सहिष्णुता कायम राखेकै राम्रो ।

तथापी
पृथ्वी नारायण शाह र उनका सन्तानबाट नेपाल एकिकरणको नाममा र राणा शासन वा पञ्चायत कालमा जुन सांस्कृतिक अतिक्रमण भयो र हाम्रा पुर्खाले दमन सहे, त्यो यत्तिकै पानीमा बगाई दिने कुरा होइन । त्यसैले आजको युगमा “दशैं हाम्रै चाड हो” भन्दै टीका ढल्काउँदा उनै पुर्खाको उपहास भैरहे जस्तो देखिएको छ । त्यसैले किरातीहरुबाट दशैं “परित्याग” हुनु पर्छ । यसबाट कसैको (नेपाली हिन्दुहरुको) संस्कारमा ठेस पनि पुग्दैन र किराती संस्कारका अन्य चाड-बाडहरुमा पनि सांस्कृतिक सहिष्णुता बढ्नेछ ।

किन परित्याग गर्ने त दशैं ?

– किरातीहरु प्रकृति पूजक हुन । किरातीहरुको मुन्धुममा कहीँ कतै दशैं वा दुर्गा वा सुम्भ-असुम्भको प्रसंग आउँदैन र राम र रावणको कथा पनि जोडिँदैन । त्यसर्थ “दशैं” किराती चाड हुँदै होइन ।
– इतिहास पढ्दा पृथ्वी नारायण शाहले आफ्नो सत्रुहरुको क्षय दशैं कै अवसर पारेर गर्ने गरेको थुप्रै प्रसंगहरुबाट पनि “सत्रुको रगतमा चामल मुछेर टीका लगाएको” भन्ने आरोपमा केही सत्यता छ भन्ने बुझिन्छ ।
– “दशैं नेपाली चाड” भनिएता पनि यस सँग जोडिने प्रसंगहरु उनै हिन्दु धर्म कै आराध्य देवी “दुर्गा भवानीको पूजा” रहेको हुनाले गैर हिन्दुहरुले हिन्दु चाड मनाउनु पर्ने प्रश्नै उठ्दैन ।
– अर्काको संस्कार-संस्कृति हामीले अंगाल्दा त्यसको पूर्ण मान्यता दिन हामी असमर्थ हुन्छौं, जस्तो की; चण्डी-पाठ, मालश्री, नव रात्र पूजा आदी (जो दशैं मान्ने किरातीहरुले गरेको देखिँदैन) । यदि यसको आध्यात्मिक पक्षको बेवास्ता गरिए दशैं खाली बिना काम जाँड-रक्सी खाने, तास खेल्ने र आफन्त भेला पारेर रमाइलो गर्दै सम्पत्ति उडाउने बाहेक केही बाँकी रहँदैन ।

जहाँ सम्म दशैंको बाहनामा लामो छुट्टी, आफन्त भेटघाट, खान-पान, रमाइलोको कुरा छ, यो हामी किरातीहरुले साकेला उभौली र उधौलीमा गर्नु पर्छ । किरातीहरुले साकेला मै लामो छुट्टी लिनु पर्छ र आफन्तहरु विच भेट-घाट गर्ने, रमाइलो गर्ने, घुम-घाम गर्ने आदि गर्नु पर्दछ । यसले हाम्रो आफ्नै संस्कार-संस्कृतिको प्रवर्द्धन पनि हुनेछ भने अर्को तिर नेपाल साँच्चै नै साझा सांस्कृतिक फूलवारी पनि बन्नेछ । की कसो ?
(मेरो नितान्त व्यक्तिगत विचार ….)