नयाँ दिल्ली (एजेन्सी) – एसियाका सर्वाधिक धनी भारतका मुकेश अम्बानी राजसी ठाँट र व्यवसायका कारण सधैं चर्चामा रहन्छन्। उनकी पत्नी नीता अम्बानी पनि आइपिएल क्रिकेट र सामाजिक कामका कारण छाइरहन्छिन्।

तर, उनीहरुका सन्तान चर्चाको दुनियाँदेखि टाढै छन्। उनीहरु मिडियामा कमै देखिन्छन्।

सार्वजनिक रुपमा उनीहरु कमै देखिए पनि उनीहरुको बालापनबारे एउटा सत्य बाहिर आएको छ। मुकेश अम्बानीका सन्तान (अनन्त, आकाश र इशा) ले स्कुलमा पढ्ने बेला कति पकेट खर्च पाउँथे भनेर सार्वजनिक भएको हो। यसबारे नीता अम्बानीले नै खुलाएकी छिन्।

‘बच्चाहरुले पाउँथे ५ रुपैयाँ’

एक अनलाइनलाई दिएको अन्तर्वार्तामा मुकेश अम्बानीकी पत्नी नीताले छोराछोरीको विषयमा एक किस्सा सुनाएकी थिइन्।

छोराछोरी स्कुल जाँदा उनी क्यान्टिनमा खाजा खान उनीहरुलाई हरेक शुक्रबार ५ रुपैयाँ दिन्थिन्। तर त्यो ५ रुपैयाँबाट स्कुलमा छोराको खिल्ली उडाएको एउटा प्रसंग उनको दिमागमा ताजै रहेछ।

उनले सुनाएकी छिन्, ‘एक समयको कुरा हो, मेरो छोरा अनन्त दौडिँदै आएर १० रुपैयाँ माग्यो। मैले सोधेपछि उसले भन्यो- स्कुलमा साथीहरु मेरो खिल्ली उडाउँछन्। उनीहरु भन्छन्, ५ रुपैयाँ मात्र बोकेर आउँछस्, तँ अम्बानी होस् कि भिखारी?’

छोराबाट त्यस्तो सुनेर पनि आफूलाई नराम्रो भने नलागेको नीताले बताइन्। उनले अगाडि भनेकी छिन्, ‘मलाई नराम्रो लागेन, किनकि मुकेश अम्बानीले पैसा जोगाउने कला आफ्नो पिताबाट सिकेका थिए। जसबाट उनी सफल पनि भए र उनी त्यो कला आफ्नो बच्चाले पनि सिकून् भन्ने चाहन्छन्।’

नीताले अगाडि भनेकी छिन्, ‘म आफ्ना छोराछोरीलाई आम बच्चाहरु जस्तै हुर्काउन चाहन्थेँ। यसैले मैले उनीहरुलाई धनी हुने महसुस कहिल्यै गराइनँ।’