काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकमध्ये एक हुन्, रवीन्द्र मिश्र । मिश्र तिनै व्यक्ति हुन्, जो काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये अहिले सबैभन्दा बढी चर्चाको विषय नै क्षेत्र नम्बर १ बनेको छ, जहाँ राष्ट्र र जनताका नाममा केही गरौं भन्ने अपेक्षाका साथ मिश्रको उम्मेदवारी परेको छ । उनकै उम्मेदवारीका कारण मुलुक नै तराजुमय भएको छ । यो स्थितिमा परम्परागत र ठूला दल, तिनका नेताहरु विवेकशील साझा पार्टी र विशेषगरी रवीन्द्र मिश्रमाथि खनिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पनि उनीविरुद्ध खनिएका छन् ।

हुनत काठमाडौंबाटै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गगन थापा, प्रकाशमान सिंह, ईश्वर पोखरेललगायतले पनि उम्मेदवारी दिएका छन्, तर चर्चा बढी पहिलोपटक चुनावमा लडेका मिश्रकै छ । राजनीतिमा अहिले उनले छुट्टै तरंग ल्याएका छन्, जसबाट पुराना दल र तिनका शीर्ष नेताहरु पनि डगमगाएको अवस्था छ । उनको उम्मेदवारीसँगै युवा पुस्ता पनि राजनीतिमा होमिएको देखिन्छ । राजनीतिप्रति वितृष्णा जागेको युवा पुस्तालाई राजनीतिमा तान्न उनी पूर्णतः सफल देखिएका छन् । उनको मीठो बोली, वाकपटुता, तर्कसंगत कुरा र व्यवहारका कारण पनि युवा पुस्ताले उनीसँग बढी नै अपेक्षा गरेको देखिन्छ ।

उम्मेदवार रवीन्द्र मिश्र आफ्नो चुनावी प्रचारमा व्यस्त छन् । व्यस्तताका बाबजुद उनी मिडिया र सामाजिक सञ्जालका लागि समय निकाल्छन् । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका मिश्रको राजनीतिक भाग्य परीक्षा जनताले केही दिनमै गर्दैछन् । निर्वाचनको व्यस्त समयमा उनले नेपाल आजसँग केही विषयमा महत्वपूर्ण कुराकानी गरेका छन् । प्रस्तुत छ मिश्रका विचारहरु उनकै लयमा :

निर्वाचनमा सबैले नै दबाब महसुस गर्छन् । हामीले पनि अरुको भन्दा पृथक दबाब महसुस गरेका छौं । नेपाली समाजलाई परम्परागत राजनीतिक रङले जसरी रंग्याइएको छ, त्यसलाई पखाल्न जरुरी छ । हामी त्यसलाई पखाल्न लागिपरेका छौं । बाँकी दबाब भनेको धेरै छैन । यति हुँदा हुँदै पनि हामीले छोटो अवधिमा देशभर तराजुमय वातावरण बनाएका छौं । मैले बिबिसी छाडेको सात–आठ महिना भयो । विवेकशील साझा पार्टी निर्वाचन आयोगमा दर्ता भएको तीन महिनामात्रै भयो । विवेकशील साझा मिलेको चार–पाँच महिनामात्रै भयो । यस अर्थमा हामी राजनीतिका कान्छा सदस्य हौं । तर छोटो अवधिमा हामीले राम्रैसँग तराजुको तरंग ल्याएका छौं ।

मानिसहरु भन्छन् कि पुराना पार्टीहरु चुनावमा भोजभतेर गर्छन्, धाँधली गर्छन् अनि जित्छन् । तपाईंहरु केही गर्नु हुन्न, कसरी जित्नु हुन्छ ? यसमा मेरो जवाफ के हो भने हामीले पनि उहाँहरुको जस्तै भ्रष्ट आचरण देखाउने हो भने हामी र परम्परागत शक्तिमा फरक के रह्यो त ? दोस्रो कुरा उहाँहरुले धाँधली नगरेको भए आज मैले राजनीतिमा आउनु पर्ने थिएन । उहाँहरुको अपराधबाट बाध्य भएर हामी राजनीतिमा आएका हौं । हामी इमानका साथ स्वच्छ प्रतिस्पर्धाबाट जित्छौं । शंका तपाईंहरुलाई लाग्न सक्छ होला । तर मलाई लाग्दैन । यसकारण हामी जित्छौं ।

अवकाशको जीवन राजनीतिमा खर्चन आएँ भन्नेहरुलाई पनि मेरो जवाफ छ । म बिबिसीमा ६५ वर्षसम्म जागिर खान पाउँथे । मैले ५१ वर्षको हुँदा त्यो जागिर छाडेँ । बिबिसीमा मेरो राम्रो रेकर्ड पनि थियो । मेरो कामलाई बिबिसीले राम्रो मूल्यांकन पनि गरेको थियो । म पुरस्कृत पनि भएको थिएँ । अब भन्नुस म कसरी ‘रिटायर्ड ’ जीवन बिताउन आएको हुँ ?

बिबिसी वर्लड नेपाललाई भारतको सुरक्षा छातामा राख्दा कसो हुन्छ ? भनेर अभियान चलाउँदाको विषयलाई मसँग जोडेर दुष्प्रचार गर्ने गरिन्छ । मूलतः त्यो बेला म बिबिसी नेपालको प्रमुख थिइनँ । ‘त्यो आरोप गलत थियो, मैले त्यसो भनेकै होइन’ भनेर डा. सुरेन्द्र केसीले भन्नुभएछ । त्यसमा म डा. केसीमाथि आभारी छु । उहाँले बोलेको कुरा अहिले पनि यु ट्युबमा सुरक्षित छ । उहाँले त्यो विषयमा मलाई जोडेर आरोप लगाउनु भएकै हो । कहिलेकाहीँ यस्ता गलत आरोपहरु जिम्मेवार भनिएका व्यक्तिहरुले लगाइदिँदा समाजमा फैलिन्छ । मानिसहरुले त्यसैलाई उद्धृत गर्छन् । यसबारे लामो समयसम्म स्पष्टीकरण दिइरहनु पर्छ । डा. केसीले त्यसबारे मैले भनेको होइन भन्नु भएको छ । थपेर मैले रवीन्द्र मिश्रलाई नै भोट दिने हो पनि भन्नु भएछ, त्यसका लागि पनि धेरै धेरै धन्यवाद ।

अहिले धेरै किसिमको हल्ला फैलाइएको छ । लोकतान्त्रिक गठबन्धनवालाहरुले भनिरहेका छन् कि ‘वामपन्थीहरुले जिते भने यो देशमा साम्यवाद ल्याउँछन् । वामपन्थीहरुले भनेका छन् कि हामीले नजिते यो देशमा स्थिरता आउँदैन ।’

उहाँहरु वामपन्थी र लोकतन्त्रवादी हो । हामी चाहिँ जनगठबन्धन र आमजनतावादी हौं । वाम र कांग भन्दा हामी नै बढी हुन्छौं । यो पटकको चुनावबाट हामी राष्ट्रिय पार्टी बन्ने छौं र राजनीति के हो भन्ने कुरा जोडतोडका साथ उठाउने छौं । किनभने संसदीय राजनीति यति धेरै फोहोरी भयो कि अब हामी सफा बनाउँछौं । चार पटक पाँच पटक प्रधानमन्त्री हुँदा बनाउन नसकेको देश, अब फेरि उहाँले नै बनाउँछौं भनिरहनु भएको छ । के हामी यस्तो कुरा विश्वास गरौं ?

म आफ्नो निर्वाचन क्षेत्रमा घुम्दा मानिसहरुको समर्थन र मप्रतिको विश्वास देखेर मलाई डर लाग्न थालेको छ । कतै यो विश्वास मैले कायम राख्न नसक्ने पो हो कि ? तर म के भन्न चाहन्छु भने म जस्तो अवस्था आए पनि इमान छाड्दिनँ । जनताप्रति बेइमानी गर्दिनँ । मान्छु हुँ गल्ती गर्न सक्छु तर जानेर गल्ती कहिले गर्ने छैन । यो देशलाई घात हुने काम गर्ने छैन ।

हामी अहिलेकै संविधानको दायरामा बसेर देश विकास गर्न सकिन्छ भन्ने हाम्रो मत हो । तर हामी शासकीय स्वरूपको विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छौं । तर यो विषयलाई उचालेर हामी सबै विकास त्यसैले रोक्यो भन्ने पक्षमा छैनौं । कुनै बेला यही विषयमा मतदान गर्नु प¥यो भने हाम्रो ‘स्ट्याण्ड’ यो हो भन्ने मात्रै कुरा हो ।

नेपालमा वाम भनेको कम्युनिस्ट भन्ने बुझिन्छ । मेरो आग्रह छ कि नेपालका मूलधारका कम्युनिस्ट भनिने पार्टीहरुले आफ्नो नाम परिवर्तन गरिदिउँन् । कम्युनिस्टको व्यवहार र चरित्रमा जे जस्तो गुण हुनु पर्ने हो, यी नेपालका कम्युनिस्टहरुको आचरणमा त्यसको रत्तिभर अंश छैन । यसकारण यिनीहरु कम्युनिस्ट होइनन् । उनीहरु केन्द्रबाट बायाँतिर छन् । यसकारण उनीहरु वाम हुन्, कम्युनिष्ट होइनन् ।

यही संविधानको दायरामा बस्ने दलहरुले अधिनायकवाद ल्याउला भन्ने लाग्दैन । हाम्रा सामाजिक मूल्य मान्यता, रीतिरिवाज, परम्परा संरक्षण गर्ने मामिलामा हामी मध्यबाट दाहिनेतिर छौं । तर राज्यले लोककल्याणकारी भूमिका अवलम्वन गर्नु पर्ने मामिलामा अलिकति देब्रेतिर छौं । अहिले संसारका राजनीतिक दलहरु जसले आफूलाई ‘लेफ्ट’ भने जसले ‘राइट’ भने, सबै साँघुरिँदै साँघुरिदै मध्यतिर नै आइपुगेका छन् । तर मध्यतिर आउँदा पनि केही मान्यताहरु मध्यबाट दाहिनेतिर, केही देब्रेतिर हुन्छन् । हामी त्यही स्थितिमा छौं ।