-ज्वाला संग्रौला

“एक्कासी बदलियो ज्योति मगरको पहिरन” शीर्षकको समाचार पढेपछि केहिकुरा नलेखि बस्न सकिएन ।

हिजोको दिनमा मिनिस्कर्टमा ज्योतिलाई देखेर बुरुक बुरुक जवानीको जोस् उफार्नेहरु अब उनी सारीले सबथोक छोपेर स्टेजमा आएसी के गर्छन् होला ? के उनी हिजो जत्तिकै संगितको बजारमा बिक्लिन् त? बिकिन् भने त राम्रै हो तर नबिकेमा त उनको कला होईन जवानी मात्र बिक्री भएको प्रमाणित हुने भो नि त ! ‘आचि’निस्कने गरि भीडमा च्यापिएर तँछाडमँछाड गर्दै उनको जवानी खरीद गर्ने चैं को??ज्योतिको साँगितिक बजार खस्कियो भने यस्को पहिलो दोष ग्राहकलाई जान्छ है..! हेर्न नि मन पराउने अनि पर्दा पछाडी ऋषिमुनी बनेर गालीगलौजको खरानी घस्ने कलियुगका महापुरुष महापुरुषनीहरु त्यसै नौटंकी गर्छन् बरै..! बडो ढोंगी छ यो ज़माना ..!

हेर ज्योति तिम्रो पनि क्रियाकलाप नियालेर हेर्दा तिमी अलि उत्तेजक र कामुक नै लाग्छौ ।स्कर्ट लगाऊ तर कट्टु नदेखाऊ ।हुनत यो नेपाल हो ,तर यहाँ बलिवुड र हलिवुडका कट्टुहरुले मात्र खुलेआम सम्मान पाउँछन्। तसर्थ गोरो छाला र भित्र पसेका गाला भएका अंग्रेज़ी चपाउने भड्किला बिदेशी मोडलहरुको सिको सिकेर बेकार बिबादमा नअाऊ न यार । लाउनै परे तलमाथी नि बिचार पुर्याऊ! हेर त बजारमा तिम्रो मात्र आलोचना र चर्चा कत्रो छ? तिमीलाई छुन नपाएपनि आँखाले हेरेरै भएपनि प्रयोगमा ल्याएर जवानीको भोक मेटाउनेहरु नै आज तिम्रो बदनाम गर्नमा माहिर छन्। तिमी भनेको तिमीमात्र नभएर हामी सबै नेपाली महिलाहरु पनि हो! त्यसैले “सिभिलाइजेसन र “मोर्डनाइजेसन” को नाममा भद्दा तरिकाले नाँगिनु पनि राम्रो होइन।नाँगिदैमा लोकप्रिय हुने होइन नि । तिमीले नेपाली चलचित्र “झोला” कि गरिमा पन्तको कपडा हेर। न कुनै तडकभडक , न कुनै ग्ल्यामर लुक । तरपनि त्यहि चलचित्रबाट राष्ट्रीय सम्मान र उत्कृष्ट अभिनेत्री को ताज पाईन् । तिमीले पनि गरिमा भन्दा कम मेहनत गरेकी छैनौ आफ्नो क्षत्रमा तर खोई तिम्रो सम्मान? उल्टै अश्लील शब्द र गालीगलैजको बोरा बोकाउँछन् तिमीलाई यहाँ ! त्यसैले मिलाएर शरिरसुहाउँदो पहिरन लगाऊ,स्कर्ट लगाऊ।हामीपनि छोटा लुगा र स्कर्ट लगाउँछौ! तर लाएर पनि सम्हाल्न सक्नुपर्छ।हावाले स्कर्ट उडाएर नाइटोसम्म पुर्याउँछ कि अलि बिचार गरेर लाउनु पर्छ! फिलिमका पर्दामा पो ‘कथाले माग्यो’ भन्दै निर्देशकहरुले पात्रलाई नाङगेझार पार्छन् त! वास्तविकताको पर्दामा त आफैं निर्देशक, आफैं पात्र ! त्यसैले कति माग्ने कति दिने आफ्नै हातमा छ ।

तिमी राम्री छौ, प्रतिभाशाली पनि छौ ! तिम्रो अन्तरवार्ता हेरेदेखि तिम्रो स्पष्ट बोल्ने तरिका र पत्रकारले जति तिमीलाई होच्याएर प्रश्न सोधेपनि हाँसी हाँसी कतिपनि नरिसाई जबाफ दिने तिम्रो टेक्निक देखेर तिमी मलाई निक्कै मन परेको छ! तिर्सना बुढाथोकी र अर्चना पनेरु जस्ताहरुलाई सम्झाउन जरुरी छैन। किनकी जुन बिरुवाबाट फल या फूलको आशा हुँदैन,त्यस्ता बिरुवामा पानी हालेर गोडमेल गर्नुको कुनै तुक छैन।तर तिमीलाई जस्ले जसरी ब्याख्या गरेपनि मतलब नराखी आफूभित्रको क्षमतालाई अझ तिखारेर आऊ र तिम्रो जवानीको राप र तापमा रन्किएर मात्ने र कुरा काट्ने डाँगाडाँगीहरुको मुखमा बुजो लाइदेऊ…! जसरी बिर्को बिनाको भाँडोमा फोहोर सजिलै पस्छ, त्यसैगरी यो समाजमा पनि बुजो नलागेका थुतुनाहरुमै बढि खकार बिकार र फोहोरले बास गर्छ । यिनीहरुलाई टाल्न तिमीले थोरै आफ्नो पहिरनमा शालीनताको क्रान्ती चैं ल्याउनै पर्छ क्या कान्छी..!

हुनत हाम्रो समाजले छोरीमान्छेले अलिकति छोटा कपडा लगायो भने , केटा साथीहरुसँग खुलेर बोल्यो भने , रक्सीचुरोट पियो भने यो त “बेश्या भालु “हो भन्छ।महिला पुरुष बराबर हुन् भनेर गफ हाँक्ने यो समाजलाई “भालु” शब्दको अर्थ के हो भनेर हामी सबैले प्रश्न गर्ने बेला भएको छ। मेरो भनाईको तात्पर्य केटीहरुले छोटा लुगा लगाउनु पर्छ, रक्सीचुरोट खानुपर्छ भन्ने हुँदै होइन। यहाँ कुरा असमानता ,अपमान र हेपाहा प्रबृतिको छ, जस्को बारे गहिराईमा पुगेर बहस गर्ने हो भने “भालु” शब्दको पनि लिंग छुट्याएर”भालु” र “भालुनी” बनाइनु पर्छ र समाजमा कस्को यी शब्दहरुप्रति बढि योगदान छ, सर्वेक्षण गरिनु जरुरी छ। किनकी केटी एक्लै ख़राब कदापि हुनै सक्दिन।यदि मेरो बिचारप्रति कसैलाई आपत्ति छ भने एकदुई जना टाउके त के यो सिँगो समाजका सम्पूर्ण ढोंगी महाराज महारानी हरुलाईसमेत मसँग ओपन डिबेटका लागि मैदानमा आउन सिधा च्यालेन्ज दिन्छु!


#We_all_are_created_equal#👫