कस्तो होला ऊ ! को होला ! कस्ता होलान् रुची ! त्यस दिनदेखि खुल्दुली बढ्यो जुन दिन आमाले घरबाट फोन गरेर भन्नुभयो, ‘छोरी तिमीलाई एउटा केटाको घरबाट कुरा आएको छ । केटो मास्टर्स सकेर जागिर गर्दै रहेछ । खानदानी परिवार नै हुन् रे । जम्मा २ दाजुभाई ।’

यससँगै आमाले मेरो पढाइ कस्तो चलिरहेछ भनेर चासो राख्नुभयो । पढाइमा असर नपर्ने भए कुरा अगाडि बढाउने आमाको मनशाय थियो । आमाको कुरासँगै कता–कता मन डराए झैँ भयो । आमाको कुरा सुन्दा अब विहे गर्ने उमेर पुग्यो की जस्तो लाग्यो ।

तर ‘विहे’ भन्ने चिज सम्झने बित्तिकै काहाली लाग्थ्यो । म आफ्नो पढाई सम्झिन्थे, आफ्ना ईच्छा आंकाक्षा सम्झन्थे । आफ्नो कमाइ बा–आमालाई खुवाउने मेरो सपना कतै अपुरै हुन्छ की लाग्थ्यो । चलिरहेको पढाइ बिचमै रोकिन्छ की झैँ लाग्थ्यो । प्रसिद्धी कमाउने मेरा चाहानाले यहीँ कतै बिश्राम मार्छन् की झैँ लाग्थ्यो । विहे आखिर बन्धन नै लाग्थ्यो । बन्धन नै भए पनि ‘बन्धन’ भनेर म कहिलेसम्म भागिरहने ?

घरकी जेठी छोरी र हजुरबाकी जेठी नातिनी । एउटा गतिलो केटो पाए हात थमाईदिने आमाको सोच केही समयअघि घर जाँदा नै सुनिसकेकी थिए । हजुरबालाई नातिनीको लगनगाँठो बाँधिदिने ठूलो रहर थियो ।

यसअघि पनि विहेका कुरा धेरै घरबाट आएका हुन् तर मलाई मन नभएपछि कुरा अगाडि बढेन । केटो हेर्ने कामै भएन । त्यसपछि पढ्नका लागि म काठमाडौँ आएँ । विहेको कुराबारे अत्तोपत्तो थिएन । ब्याचलर सकिन लाग्यो भनेपछि विहेको कुरालाई लिएर सक्रिय बन्न थाले आफन्त र परिवार । परिक्षा नजिकै आएकोले परिक्षा सकिएपछि केटो हेरौँला नी एकपटक भनेँ आमालाई ।

परिक्षा त सकियो तर विहेको लागि आएको कुरा सकिएन । केटो काठमाडौँ आउँदैछ भन्ने खबर एकाबिहानै बजेको फोनको घन्टी उठाउँदा आमाले दिनुभयो । एक मनले सोच्यो, ‘कति हतार भएको केटालाई !’ अर्काे मनले सोच्यो, ‘ठीकै भयो हुन्छ–हुन्न भन्ने कुरा भेटेपछि टुङ्गो लाईहाल्छ ।’

फोन गरेर सुन्धाराको एउटा क्याफेमा भेट्ने सल्लाह भयो । जिन्स पाईन्टमै गएँ । केही बेरको पर्खाइपछि उसको कल आयो, मैले देखेर हात उठाएँ । क्याफेको एउटा टेबलमा बसेर म कफी पिउँदै थिएँ । ऊ आयो र अपोजिट साइडको कुर्सीमा बस्यो । ‘काठमाडौँ नआएको धेरै भयो, परिवर्तन भइसकेछ ।’ उसले कुरा सुरु गर्याे । ‘उम्म्’ मात्र भनेँ मैले । उसले मेरो नाम सहित केही औपचारिक प्रश्न सोध्यो, सामान्य परिचय भयो ।

‘अनि के गर्दै आजकल ?’ उसले सोध्यो । ‘भर्खर परिक्षा सकियो । खाने, बस्ने, डुल्ने’ मैले उत्तर दिएँ । काठमाडौँ आउने काम भएकाले त्यही मेसोमा मलाई भेट्न खोजेको उसले भन्यो । सरकारी हाईस्कुलको मास्टर रहेछ ऊ ।

मलाई मेरो ‘प्लान’ बारे सोध्यो । आफ्नो योजना हत्तपत्त अरुलाई सुनाउन मन लाग्दैन । कामको बारेमा भन्न उचित ठानिनँ । भनिदिएँ, ‘बाबा आमा बिहे गर भन्छन् आफ्नो त यसरी नै डुलेर बाँच्ने योजना छ ।’

मेरो अनौठो जवाफ सुनेपछि उसको ओठबाट हाँसो फुस्कियो । हाँस्दा उसका सेता दाँत टल्किए । ‘खाना पकाउन आउँछ ?’ उसले सोध्यो । ‘पहिला त आउँथ्यो, ३ वर्ष भो होस्टल बस्या बिर्सिएँ, आजकल त पकाउने बानी हरायो ।’ मैले भनेँ । ‘अनि कपडा धुन नी ?’ ‘घरमा हुँदा आमाले धोईदिनुहुन्थ्यो, होस्टलमा धुनै पर्दैन ।’ मैले जवाफ दिएँ । मैले प्रतिप्रश्न गरेँ ,‘आफ्नी श्रीमतिले तपाईँका कपडा धोइदियोस् भन्ने अपेक्षा राख्नुहुन्छ हो ?’ ‘म डेरामा एक्लै बस्छु । ट्यूसन पनि पढाउँछु, त्यसैले फुर्सद हुँदैन । खाना पकाउने, लुगा धुने समय नै हुँदैन ।’ उसले भन्यो ।

‘नोक्कर हुन जान लाग्या हो र ?’ भन्न मन थियो, तर थामिएँ म । बाबा आमाकी एक्ली छोरी, सुखमै हुर्किएँ कुनै दिन केही कुराको अभाव भएन । कुनै दिन आमाले केही काममा लगाउनु भएन । छोरी हुँदैमा घरका सबै कामकाज जान्नैपर्छ र ? मनमनै प्रश्न गरेँ ।

विहे गरेपछि भोगेका दुखका राम कहानी सुनाउँथिन् आमा । कतै म पनि दुःख भोग्ने बाटो रोज्दै त छैन ? होस्टलमा बसेर अर्काले पकाएको खान, मन लागेको ठाउँमा हिँड्न र साथी भाईसँग घुम्न नै रमाईलो छ जीवन ।

एकछिन सोचमा हराएछु । ‘के ल्याउँ तपाईँहरुलाई ?’ वेयटरले मछेउ आएर सोधेपछि झसङ्ग भएँ । उसलाई सोधेँ र २ कफ कफी अर्डर गरेँ । नारीले विहे गरेको भोलिपल्टदेखि बिहानै उठेर घर सफा गर्ने, बेलुकी खाना खाएको भाँडा माझ्नुपर्ने ! सम्झँदा पनि दिक्क लागेर आउँछ । यही काम पुरुषले गर्ने भए कस्तो हुँदो हो ? पुरुषले कल्पना गर्न सक्लान् त यस्तो ?

म आफ्नो श्रीमानलाई महिलाले गर्ने काम गरिदेओस् भन्ने अपेक्षा राख्दिन । तर कम्तिमा उसले महिलाले गर्ने काम भन्दै भागबन्डा नगरोस् । आफू ठालू बनेर पुरुष हुनुको घमण्ड नदेखाओस् । बस् । हाम्रो समाजमा कति पुरुषले बिहान उठेर श्रीमतीको गोडाको पानी खान्छन् ? मानसपटलमा प्रश्न नाच्न थाल्यो । यो प्रश्न केही समय अघिदेखि नै मस्तिष्कमा घुमिरहेको थियो, रोहोटेपीङ जस्तै ।

आमाले बिहे हुनासाथ बाबाको खुट्टाको जल नखाई मुखमा पानी पनि हाल्नु हुदैनथ्यो रे । पछि बाबा विदेश जानुभयो, आजकल ब्रत हुँदा मात्र खुट्टाको जल खानुहुन्छ । बाबाको खुट्टाको जल खाएर आमा कति पवित्र हुनुभयो होला ? अनि बाबाहरु चाहीँ पवित्र हुनुपर्दैन ?

कफीको चुस्कीसँगै प्रश्न गरेँ, ‘तपाईँको रुची कस्ता छन् ?’ ‘अध्यन, अध्यापन, गुमफिर यस्तै’ उसले भन्यो । ‘मेरो एउटा सर्त छ,’ मैले भनेँ, ‘भन न, के हो त्यस्तो !’ धेरै दिनदेखि मानस्पटलमा दौडिरहेको एउटै कुरा सोधेँ, ‘बिहान उठेर तपाईँ मेरो खुट्टाको जल खानुहुन्छ ? मैले तपाईँको घरको सम्पूर्ण काम गर्नुपर्छ भने के तपाईँ मेरा लागि यती काम गर्न सक्नुहुन्न ?’

नवपुरुष दंग पर्यो । हतास देखियो । उसको अनुहारको भाव पूरै बदलियो । केहीबेर निशब्द बन्यो र सोध्यो, ‘आजसम्म कुनै पुरुषले आफ्नी श्रीमतीको खुट्टाको जल खाएको सुनेकी छौ ?’ मैले हाँसेरै फेरि भनेँ, ‘नसुने के भो ! तपाईँ पहिलो पुरुष बनिदिनुस् न ।’

आजकल त यस्तो छैन । पहिले हजुरआमाले हजुरबाको खुट्टाको जल खानुहुन्थ्यो । अब हामी शिक्षित वर्गले त्यही परम्परालाई छुटै प्रकारले अँगालौँ न त । ठीक उल्टोगरी । उसको मनले के सोच्यो पत्ता लगाउने वैज्ञानिक उपकरण मसँग थिएन । तर पनि ऊ शब्दविहीन भयो ।

‘केटी कति उत्ताउली रहिछे’ सोच्यो होला ! चाहिने– नचाहिने सर्त राख्छे सोच्यो होला । पुरुषले केटी हेर्न जाँदा सर्तहरु राख्छन् भने नारीले राख्न किन नहुने ? सबै नारीले विहेअघि आफ्ना सर्तहरु राख्नैपर्छ भन्छु म ।

एकछिन सन्नाटा छायो । अब जानुपर्छ मेरो काम बाँकी नै छ उसले भन्यो । हुन्छ भनेर कफीको बिल मैले आफैँ तिरेँ । ‘शर्त मन्जुर भए फेरि भेटौँला’ भन्दै बिदाइका हात हल्लाएँ मैले । उसको अनुहारमा रुन्चे हाँसो मात्रै देखियो ।

बेलुकी आमाको फोन आयो, हेल्लो भन्न नपाउँदै ‘किन उत्ताउली बनेकी’ भन्दै कराउनुभयो आमा । ‘कहाँ, कहिले ?’ ‘केटोले त केटी उत्ताउली रहिछे भन्यो रे ।’ आमालाई मेरो शर्त सुनाईदिएँ । उहाँ पनि हाँस्नुभयो । एक लहरको हाँसो फुट्यो । मेरो नजिकका साथीहरुले पनि मेरो यो शर्त थाहा पाइसकेका थिए । उनीहरु पनि यस्तो सुनेर हाँस्छन् । तर साहस गर्न सक्दैनन् ।

  • सविता सापकोटा अनुभुति/नेपालीपत्रबाट