– अयोध्या प्रसाद श्रीवास्तव/साझापेज

वैद्य ले सब भन्दा पहिले रोगीको नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ । रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ।

रोग मुक्तिमा योग्य वैद्य र सचेत रोगी दुवैले इमान्दारी संग आफ्नो भूमिकाको निर्वाह गरेको हुनु पर्दछ। राज्य को शासन व्यवस्था को छ्नौट र संचालन कुशल वैद्यको नाडी छाम्ने विवेक र कला जस्तै हो। छिमेक कै उदाहरण लिने हो भने गान्धी ले भारतीय स्वतन्त्रता संग्राम मा हात हाल्नु भन्दा पहिले त्यस बेला को सम्पूर्ण ब्रिटिश इन्डिया आजको भारत, पाकिस्तान र बांग्लादेश को भूगोल, जनसंसकृति , मान्यता ,नैतिक मूल्य , मानसिकत्ता ,जनता को आधारभूत आवश्यकता र यसको परिपूर्तिका साधन को स्वदेशी उपलव्धता, देशको क्षमता र आर्थिक जीवन आदि धेरै कुराहरुको हजारौं मील को वर्षौं सम्म अध्ययन भ्रमण गरेर देशवासी को जीवन स्तर भेष भूषा,सन्तुलित र कम आहार लिने अभ्यास गरि आफुलाई तपाई सके पछि मात्र स्वतन्त्रता को आधार र शासन को स्वरुप निर्धारित भएको कुराको इतिहास साक्षी छ।

देश को नाडी छामेर माटो सुहाउने व्यवस्था, विधि र प्रक्रिया को सहि निर्धारण गर्नु पर्दछ । सहि निर्धारण नभैकन देश हाक्नु भनेको राजनीतिक पद्धति को विशेषता न बुझनु हो। नेपाल को राजनीतिक इतिहासमा अहिले सम्म भएका उथल पुथल हरुमा शक्ति प्राप्ति मुख्य कारण देखिएता पनि वास्तविक कारण चाहि व्यवस्थाको परिवर्तन र आज सम्म शासन व्यवस्था को सुनिश्चिततामा एकमतता, सहमति, सहकार्य र सहिष्णुता को वातावरण बन्न नसक्नु नेपाली राजनीति को सब भन्दा दुखद पक्ष हो । लार्ड एपटन ले लेखेका छन् – “शासन को रुप को लागि मूर्खहरूले झगडा गर्दछन जुन शासन सर्वाधिक राम्ररी संचालन भै रहेको छ , शासन को त्यही रुप राम्रो हुन्छ ।” अर्थात राम्रो त्यो हो जो सजिलै टिकेको छ , र सजिलै त्यो टिक्छ जो जनमुखी अर्थात माटो सुहाउदो हुन्छ । अर्का को देखासेखी गरेर हुबहु नक्कल गरि ल्याएको व्यवस्था लोक कल्याणकारी नै हुने भन्ने कुरा को कसैले प्रत्याभूति दिन सक्दैन ।

फ्रान्समा बीसौं शताब्दी को उत्तरार्धमा छिटो छिटो पांच पटक संविधान फेर्नु पर्र्यो तर अमेरिका ले बनाएको संविधान १३६ वर्ष देखि र ब्रिटेन को अलिखित संविधान एक हजार वर्ष देखि चलिरहेको छ । नेपालको भौगोलिक अवस्थिति र यसै आधार मा पृथ्वी नारायण शाह ले यसलाई दुइ ढुंगा बीचको तरुल समेत भनेको त्यसलाई समेत मनन गरि राजा महेन्द्रले दक्षिण विशाल भारतमा उदारवादी बहुदलीय लोकतन्त्र र उत्तर विशाल चीन मा एकदलीय निरङ्कुश कम्युनिष्ट अर्थात नितान्त दुइ भिन्न व्यवस्था को बीचमा यो सानो देशमा यदि कुनै एक देश को राजनीतिक व्यवस्था संग मिल्ने राजनीतिक व्यवस्था रहने हो भने अर्को देश को निशाना मा पर्न सकिने र फार्मोसा, तिव्वत, ताइवान, कश्मीर, सिक्किम, भुटान जस्तो कुनै नीयति व्यहोर्नु पर्ने अवस्था को सम्भावना नै न आओस भन्न को लागि दुवै शासन को सार र अन्य केहि राज्यका गुणहरु लिएर पंचायत व्यवस्था को सूत्रपात गरे का थिए। त्यसको गुण दोष संग विज्ञहरु परिचित नै छन्। त्यसको अवसान पछि जे जस्तो प्रयोग भयो सबै प्रयोग असफल र निरर्थक नै शिद्ध भएका छन। यस लाई नाङ्गो शव्द मा भन्दा विदेशी षड्यन्त्रकारी हरुको चाल बलवती हुदै गएको देखिन्छ।

लेखक

राजनीतिक मूल्य को आधारमा हेर्ने हो भने नेपाल मा चार वटा विशेषता देखिन्छन:

(१) नेपालको उत्पत्तिकाल देखि नै यहाँ राजतन्त्र रहेको, गणतन्त्र को इतिहास नभएको।

(२) आदिकाल देखि नै स्वतन्त्र र सर्वभौम सत्ता सम्पन्न रहेको।

(३) यहाँ का राजा रजौटाहरू जे जस्तो अवस्था मा बसे पनि संघ राज्य कहिल्यै बनाएनन, कुनै चक्रवर्ती सम्राट को इतिहास भेटिदैन ( यद्दपि मुस्तांग, प्युठान,र बझाङ्ग का राजाहरुलाई २०१६ साल को कानूनले उपाधि र मान मर्यादा दिए पनि एकिकृत सार्वभौम नेपालमा वहाँहरुको राज्य को अस्तित्व स्वतन्त्र नरहेकोले नेपाल लाई संघ राज्य मानिदैन )

(४) जनमानस ले यो देश लाई धार्मिक राज्य को मान्यता मा राखे पनि सिद्धांत अनुसारको धार्मिक राज्य र व्यवहारमा हिन्दूमात्रको राज्य थिएन । यहाँ प्रतेक समुदाय आफनो धर्म को अभ्यास मा पूर्ण स्वतन्त्र रहने अभिलाषा राखदछ। बरु धर्म निरपेक्ष घोषित राज्यहरुमा एक धर्मावलम्बीले अर्को लाई थिचो मिचो गर्ने , अनादर र घृणा तथा काट मार सम्म गर्ने प्रवृत्ति देखा पर्दछ तर नेपालमा राजदरबार कै मुखै नजीक मुश्लिम्हरु को विशाल मस्जिदको अवस्थिति र राजाहरुमा सबै धर्म को सम्मान र सद्भाव तथा जनता मा धार्मिक सहिष्णुता को अनुपम उदाहरण संसारमा अन्यत्र भेटाउन कठिन नै होला।

नेपाली धर्तीका यी चार वटा सामाजिक राजनीतिक प्राण तत्व हुन् । नेपाल मा यद्दपि यी तत्व अनुसार को शासन व्यवस्था अब रहेन । त्यसलाई चाणक्य जस्ता कूटनीतिज्ञ र राजनीति शास्त्री ले देश काल परिस्थिति अनुकूल राजनीतिक व्यवस्था हुनु पर्दछ भन्ने दिनु भएको सुझावलाई आत्मसन्तुष्टि का लागि सतही रूपमा लिएर नेपाल को हकमा चित्त बुझाउनै नसकिने भने होइन।

परिवर्तन प्रकृति को शास्वत नियम हो । पृथ्वी मा राज्य को उत्पत्ति काल देखि यसका कैयो स्वरूप देखा पर्दछन । ससाना मातृसत्तात्मक, पितृसत्तात्मक, पारिवारिक राज्य, कबायाली राज्य, निरङ्कुश लठैत राज्य, ससाना नगर राज्य र विशाल साम्राज्य हुदै आज हामि रास्ट्रीय राज्य मा छौं र भोलिका दिनमा यी राज्य हरुले विशाल संघ राज्य बनाउलान, साम्राज्य बन्लान , या फेरी टुक्रा टाकरी होलान ? कुन स्वरूप मा जाने हुन् यद्दपि भन्न कठिन छ तर एउटा कुरा के सुनिश्चित छ भने आज का राज्य को स्वरूप र शासन प्रणाली अनन्त काल सम्म रही रहने छैनन् । नेपाली भूमिमा वर्तमान गणतन्त्र जे जसरी आएता पनि र यसको औचित्य, जबर्जस्तिपन,या विदेशी षडयन्त्र भए नभए पनि देश निरन्तर परिवर्तन को पीडा भोग्न बाध्य हुने गरेको छ ।

राजतन्त्रात्मक या परम्परागत शैलीमा चलेका देशहरूमा पहिले देखि प्रचलित मूल्य र मान्यताहरुलाई व्यवस्था परिवर्तन हुनासाथ् पूर्णतया तिरोहित गरि दिनु पर्ने कुनै नियम छैन र तत्कालीन सोवियत संघमा यस्तो प्रयोग गरिएको कारण बाट कालान्तरमा देश १३ टुक्रामा विभाजित भयो, भोका जनताले एक पाउरोटी को ८० रुपिया सम्म मूल्य तिर्नु पर्यो, जनताले लेनिन का मूर्ति भत्काए फाले । त्यस्ता उदाहरण इतिहासमा अरु थुप्रै छन। एउटा अर्को उदाहरण हेरौं । लोकतन्त्र को आदर्श मानिने ब्रिटेन मा गणतन्त्र का लगभग सबै सूत्रहरू प्रयोगमा ल्याइएका छन तर राजतन्त्रलाई जीवित राखिएको छ र अझै पनि अंग्रेजहरुले संसारमा सबै राजतन्त्र सकिए पनि पांच वटा राजा ( तास का चार र ब्रिटेन को एक ) कहिले नसकिने भनि गर्वोक्ति गर्दछन । धर्म निरपेक्ष भनिएका भारत र अमेरिकन गणतंत्र मा क्रमसः भगवत्गीता र बाइबल को शपथ दिलाइन्छ ।

अमेरिका जस्ता राज्यहरुमा आइतवारका दिनमा चर्च जाने अवसर र सुविधा का लागि विदा हुने गर्दछ र आइतवार विहान चर्च जान लाइ नशा को अधिक्ताले बाधा नपरोस भन्न को लागि शनिवार सांझ एउटा निश्चित समय पछि रकशी को बिक्री बन्द हुने गर्दछ र आइतवार शहर को प्रतेक सडक मा निशुल्क पार्किंग खुला गरिन्छ। अंग्रेजहरु यति परम्परावादी र रूढिवादी छन् कि तिनको देश मा पानी को प्रचुरता भएपनि र विभिन्न उपकरण र प्रविधि को विकास गरि सके को भएता पनि सौच मा पानी प्रयोग नगर्ने फोहरी परम्परा लाई आज पनि कायमै राखेका छन् । सामाजिक, धार्मिक मूल्य, मान्यता, इतिहास र ऐतिहासिक धरोहरहरू को रक्षा गर्नु रास्ट्रीय कर्तव्य मानिन्छ । यस्तो रूढिवादी भए पनि आदर्श प्रजातन्त्र र गणतन्त्र तिनीहरु संग छ, दुनिया माथि शासन तिनले गरेका छन् , चन्द्रमा मा तिनी पुगेका छन्, सभ्य, सुशिक्षत र सुसंस्कृत तिनी कहलाउछन तर नेपालमा गणतन्त्र को नाममा नेपाली माटोलाई एकै चोटी रेगिस्तान बनाइएको छ। नेपाली जनता को एकता, सहिशुणता , समानता र सदभावमा ठूलो धक्का पुगेको छ। कसैले आफैलाइ पनि ढाटेर विदेशी ले रचेको जति मिठो गीत गाए पनि गीत को सार तीतो नै छ। देश कम्जोर र पराश्रित भएको छ ।

देश को राज्य व्यवस्था स्वचालित र प्राणवान हुनु पर्दछ । जसलाई विधि को शासन द्वारा व्यवस्थित गरिन्छ। तर हामि कहाँ अहिले के धूर्त्यायीं देखाइने गरिन्छ कि जुन काम गर्नु छैन त्यहि काम गर्ने बेसरी हल्ला गरिन्छ र जुन काम गर्नु छ त्यसै को ब्यापक विरोध गरिन्छ । ठिक यहि कुरा कानूनी राज्य को मूर्तता मा पनि लागू हुन्छ। विधि को शाशन को धुजा धुजा पार्न सबै शक्ति परिचालित छन् । अदालतलाई राजनीतिक भर्ति केन्द्रको रूपमा विकसित गरिने उपक्रम भै रहेको छ। राजनीति सबै अंगमा सर्वोपरी छ। राजनीति नै साध्य भएको छ। देशका सबै अंग र प्रशासन तन्त्र पूर्णरूपमा भनसुन, सोर्स सिफारिस र भ्रष्टाचार मा डुबेको छ। नियन्त्रण र नियमनकारी कुनै सक्षम सत्ता नरहेकोले बलियाले र राजनीतिमा रहेकाले जे गरेपनि हुने भएको छ । देश प्रणाली( सिस्टम) विहीन छ।

देश हाँक्ने को चरित्र र प्रणाली देश को लागि नितान्त महत्वपूर्ण कुरा हुन्छ। यसको महत्व दर्शाउने दुइटा अति महत्वपूर्ण पुस्तक को सन्दर्भ दिनु उपयुक्त हुनेछ। एक करोड पचास लाख भन्दा बढी संख्या मा प्रकाशित Stephen R.Covey को प्रशिद्ध पुस्तक The 7 habits of highly effective people मा ” So often the problem is in the system, not in the people . If you put good people in bad system , you get bad results. You have to water the flowers you want to grow,” लेखिएको छ। तर विश्व प्रशिद्ध चाणक्य नीति मा गुणैरुत्तमताम याति नोच्चैरासन संस्थिता । प्रासाद शिखरर्स्थॉपि काकह किम गरुडायते।। १६। ६  आफ्नो गुण ले गर्दा नै मानिसले उच्च स्थान प्राप्त गर्दछ।

अग्लो ठाउँमा बस्न पुगदैमा मात्र कोइ उच्च हुदैन। कुनै भवनको गजूरमा बस्न पुग्दै मा काग गरुड बन्न सक्दैन। A man creates his image due to his good works and qualities,. A crow perched on a steeple of a royal place de not become honorable bird Garun . यी दुइटा वाक्य ले नै नेपाल मा लोकतन्त्र / गणतन्त्रलाई प्राणवान र उर्जावान बन्न मा नेताहरुको दुर्गन्धित स्वरूप र बिना प्रणाली को विधि व्यवस्था प्रमुख बाधक रहेको कुरा छर्लंग भै रहेको छ।
देश संचालन का लागि देश सुहाउँदो व्यवस्था, उत्तम विधि, र सुस्थापित स्वचालित प्रशासनिक प्रणाली का साथ् साथ् उत्तम र त्यागी चरित्र का आदर्श र उदाहरणीय नेता हुनु पर्दछ।

मैकियावेली ले द प्रिन्स मा चतुराई, धूर्तता र निरंकुशता लाई राजा को गुण बताएका छन् नेपाली नेताले आफुलाई राजा ठानेर यी दुर्गुणहरुलाई आफ्नो विशेषता बनाएका छन्। हामि कहाँ कुनै पार्टी को नीति र कार्यक्रम स्थायी छैनन् । कहिले वाम वाम एक ठाम , कहिले प्रजातान्त्रिक शक्ति को एकता को कुरा, कुनै बेला कार्यगत एकता त कुनै बेला कसैको नैतिक समर्थन जस्ता तमाम काम कुरा हरुको प्रयोग भै रहेको छ । नेताहरुले आफुलाई देशको रक्षक मान्दैनन । देश को अंग दुखाई मा इनको मुटुमा पीडा हुदैन । नागरिक को मरण लाइ आँप झरेको भन्छन । इनका अनुयायी मात्र इनका जनता हुन् बाँकी गैर हुन्। त्यसले गर्दा संरक्षक बिना को देश र बिना मियो को दाईं ले गर्दा रोजई सरकार बन्ने र ढल्ने राजनीतिक अस्थिरता मा विदेशी लगानी कर्ता र सहयोगी हातहरु टाढिएका छन् र घनिष्ट साथीहरुले समेत नेताहरुको प्रवृत्ति थाह पाई इन्लाई आज्ञाकारी बालक झैँ बनाई सकेका छन।

महम्मद रेजा पहल्वी को समयको स्वस्थ अफगानिस्तान नेताहरुको फूट र जुन प्रवृत्ति तथा दुर्भाव ले गर्दा आज ध्वस्त भै रहेको छ त्यस्तै प्रवृत्ति र व्यवहार नेपालि नेताहरुको भएकोले अब नेपाली जनता ले नेपाल लाई सुरक्षित राखन अगाडी बढ्नु पर्ने आवश्यकता देखिन्छ।

मैकियावेली का अनुसार यद्दपि जुन सुकै शासन तन्त्र मा देशले नेतृत्व दिने नेता को दृढ मनोबल, अदम्य उत्साह, निस्वार्थी र उत्कृष्ट चरित्र को आकांक्षा राख्दछ । गणतन्त्रमा त यस्तो गुणवत्ता ले मात्र शासक लाई जनता को सहयोग समर्थन र प्रेम प्राप्त हुन् सक्दछ। गणतन्त्र को नेताको छवि किञ्चित मात्र पनि तुइलियो भने गणतन्त्र न त प्राणवान हुन्छ र न त टिकाउ नै हुन्छ । तर नेपालमा गणतन्त्रका संवाहक नेताहरु चाहे प्रजातन्त्र वादी भनौदा या तथाकथित कम्युनिष्ट होउन , चोर, हिसक, हत्यारा, देशको सम्पत्ति विध्वंसक आदि आरोप् देखि मुक्त छैनन् । देशलाई लुट्ने उद्देश्यले जनता लाई भ्रमित पारिराख्न को लागि तमाम गफ, नारा र फटाही कुरा गर्ने गरेका छन ।

राजनीतिक सहमति भन्ने शब्द लूट को लागि आविष्कार गरेका हुन् । दूधले नुहाएको कोई देखा परेको छैन । सबै पार्टी मा गुट उपगुट र खाने र पाउने कुरामा तछाड मछाड छ। सानोले ठुलो नेतालाई , बेइमान ले इमान्दार लाई र भ्रष्ट ले सन्त लाई पन्छाउने र पार्टीबाट धपाउने सम्म का काम भएका छन् ,आफ़्न्नो स्वार्थ र अहंकार मा शक्तिको दुरुपयोग गरि दोषी लाई निर्दोष र निर्दोष लाई भ्रष्टाचारी प्रमाणित गराएका छन् । अनि जनता ले कुन नेता माथि कति विश्वास गर्ने ?
यो कुव्यवस्था निवारण का केही उपाय हरु छन्। सर्व प्रथम त नेतृत्व को चरित्र कै कुरा आउँछ। सुकरात ले मानिस ले पटक पटक ऐना मा आफ्नो अनुहार हेरिरहनु पर्दछ भन्थे ।

यस बाट सुन्दर अनुहार को मानिस ले खराब र स्वार्थी काम गर्नु हुदैन अन्यथा यसको अनुहार त जती सुन्दर छ , मन त्यतिकै कालो छ भन्ने भनाइ आउँछ र कुरुपले यस कारण खराब काम गर्नु हुदैन कि अरुले यसको अनुहार त कालो छ नै, मन पनि धेरै कालो रहेछ भन्ने आलोचना आउने हुनाले प्रतेक व्यक्तिलाई आइना ले सचेत बनाई रहन्छ। तात्पर्य के भने व्यक्ति जस्तै कुरुप र दागी किन नहोस उसले निरन्तर राम्रो काम गरेमा रत्नाकर डाँका पनि बाल्मीकी भएर पूजनीय हुन् सक्दछ। हाम्रा दागी नेताहरुका लागि आफ्नो छवि सुधार्ने र आफुलाई तिखार्ने सुअवसर प्राप्त छ।

उनीहरु सौभाग्यवश शक्तिकेन्द्र मा बस्न पाएकाले देश हितका अनगिन्ती असल काम गर्न सक्दछन। दोश्रो कुरा व्यवस्था को हो । के हामी ले उत्तम राजनीतिक व्यवस्था को चयन गरि सके का छौ ? हो भने त उही पुरानो झगडा किन ? प्रजातन्त्र को नाम दिएर तीन पार्टी को तानाशाही किन ?अशान्ति किन ? जनता जनता कै बीच मा यति वैमनुश्यता किन ? असन्तुष्टि किन ? कोइ कुर्सि मा त् कोइ जंगल मा र कोई विदेशी को दैलो मा किन ? तेश्रो कुरा विधि को शासन र त्यसै संग सम्बन्धित स्वतन्त्र र स्वचालित प्रशासनिक प्रणाली संग खेलवाड किन ? नेताहरु यति निर्लज्ज र पतित भएको किन ? व्यक्ति हित र पार्टी हित सर्वोपरी किन ? रास्ट्र हित विलीन भयो किन ? देशले यसको उत्तर खोजेको छ ।

(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक र अधिवक्ता हुनुहुन्छ)