काठमाडौं, २० मंसिर । दोस्रो चरणको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले काठमाडौँबाट ७ महिने गर्भवतीसहित ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ ।

ललितपुरको बाडेगाउँस्थित आफ्नै कोठाबाट खाना खाएर सुतिएरहेकी सामना जनसास्कृतिक परिवारमा कार्यरत ७ महिने गर्भवती प्रमिला तामाङलाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनका परिवारका सदस्यले न्युनतम मानवाधिकारको समेत ख्याल नगरी प्रहरीले लछारपछार गर्दै प्रमिलालाई गिरफ्तार गरेको खबर इमान्दार मिडियामा छ।

त्यस्तै बुधबार मध्यराती नै लाजिम्पाटस्थित आफ्नै निवासमा बसिरहेका सामना परिवारकै अन्य ७ जना कलाकारहरुलाई पनि गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका उनीहरुको अबस्था अज्ञात राखिएकोले प्रहरीले बेपत्ता पार्नसक्ने भन्दै उनीहरुका आफन्तले अबस्थाबारे खोजबिन गरिदिन मानव अधिकारकर्मी र सञ्चार जगतलाई आग्रह गरेका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन वरिपरी पत्रकार र जनकलाकारमाथि ब्यापक धरपकड गरेको छ । निर्वाचन नजिकिदै जाँदा नेकपालाई समर्थन गरेकै कारण प्रहरीले आम नागरिकलाई समेत दुख दिन थालेको छ ।

देशभर भइरहेका बम बिस्फोटका घटनामा प्रत्यक्षरुपमा संग्लनहरुलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसके पनि समाचार लेख्ने पत्रकार, कलाकार, सर्वसाधारण जनताहरुलाई भने भकाभक गिरफ्तार गर्दै आएको छ ।

प्रहरीले निर्वाचन खारेज अभियानमा लागेकाे भन्दै देशभरबाट नेकपाका ९ सय बढी नेता कार्यकर्ता, र्जनाैं कलाकार र सयाैं सर्वसाधारणहरूलार्इ गिरफ्तार गरेकाे छ । त्यस्तै समाचार लेखेकै कारण ८ जना पत्रकारहरू अहिले पनि प्रहरी हिरासतमा छन् ।