काठमाडौं,२१ मङ्सिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । नेपालले दिएको २२२ रनको लक्ष्यसहित युएईले केही बेरमा जवाफी ब्याटिङ्ग थाल्नेछ ।

युएईमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २२१ रन बनाउन सक्यो । क्रिजमा टिकेर खेलेका शरद भेषवाकरले अविजित रहँदै ८१ रन बनाए । शरदले ९५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे । त्यस्तै नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौकासहित ५४ रन बनाए । त्यसबाहेक नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले समान २०–२० रन बनाउँदा ओपनर दिलिप नाथ १६ रन बनाएर पेभेलियन फर्किए ।

शरदले नेपालको लागि सबैभन्दा धेरै स्कोर गरेपछि शरद पत्नी नायिका तथा निर्मात्री निशा अधिकारीले शरदको गेम हेर्नको लागि एकदमै मज्जा आएको बताईन् । फेसबुकमा एक स्टाटास अपडेट गर्दै निशाले शरदलाई एकदमै राम्रो काम गरेको लेखेकी छिन् । ‘एकदममै राम्रो काम शरद भेषवाकर । तपाईलाई हेर्दा एकदमै धेरै खुसी लागिरहेको थियो । तपाईको फिनिसिङ एकदमै उत्कृष्ट थियो । सुन्दर, राम्रो काम ।’ पोस्टसँगै निशाले अहिले भईरहेको गेमको स्कोर कार्डको फोटो पनि राखेकी छिन् ।