पाल्पा : विदेशबाट कमाएर परिवारलाई खुसीका साथ पाल्ने सपना सझाएर स्याङ्जाको कलिगण्डकी–४ का दलबहादुर विक गत पुसमा ओमन गए। तर, ओमन पुगेको एक महिना पनि टिक्न पाएन उनको सपना। साहुबाट लिएर ऋण तिर्ने सपना बोकेर ओमन गएका ३० वर्षीय विक पैसा कमाउन पुगेको एक महिनामा नेपाल पर्कनु पर्‍यो।

खसीको सपना बोकेर ओमन पुगेका विक बिराम बोकेर स्वदेश फर्कनु पर्‍यो। उनको अहिले दुवै मृगौलाले काम गर्दैन। एक वर्षअघि सामान्य खुट्टा सुनिएको थियो। त्यो बेला घरमै भएका विकले चिसोले होला भनेर घरायसी र स्थानीय डाक्टरले दिएको औषधी सेवा गरे। त्यसबेला तत्कालका लागि उनी सन्चो पनि भए। त्यसपछि उनी ऋण खोजेर वैदेशिक रोजगारका लागि ओमान पुगेको थिए।

ओमन पुगेको केही समयमा फेरी खुट्टा सुनिन थालेको र शरीर गले जस्तै हुन थालेपछि डाक्रलाई देखाएको उनी बताउँछन्। पछि डाक्टरले उनको दुवै मृगौलाले काम नगर्ने बताए पछि उनी नेपाल फर्किएका थिए। उनी अहिले ललितपुरको निदान अस्पतालमा उपचार गरिरहेका छन्। हप्तामा तीनपटक डायोलोसिस् गरिरहनु परेको उनका बुबा चुरामणि विकले जानकारी दिए।

छोराको बिरामी परेकाले सबै सपनाहरु चकनाचुर बनेको उनी बताउँछन्। भन्छन, ‘जाँदापनि ऋण खोजेर गएको हो। आउँदा पनि ऋणनै खोजेर आएको छ। घरमा पहिलेका ऋण कारोबार अलपत्रै छ। यही बेलामा छोराको हालत यस्तो भयो अब कसरी उपचार गर्ने हो।’ पीडित दलबहादुरलाई उनकी श्रीमति २७ वर्षीया तारा विकले एउटा मृगौला दिने भएकी छन्।

‘जिन्दगी खुसी र सुखी बनाउने भनेकै श्रीमान हुँनुहुँदो रहेछ’ , ताराले भनिन्,‘उहाँ बाँचे मेरो लागि त्यही नै खुसी हुन्थ्यो त्यसैले मृगौला दिन लागेकी छु। मसँग भएको मृगौला त दिने भएँ। तर, पैसा भएन।’

दलबहादुरलाई विभिन्न अस्पतालमा उपचार गराउँदा अहिलेसम्म तीन लाखभन्दा बढी खर्च भइसकेको छ। बुबा चुरामणिका अनुसार छोराको उपचार गर्न अझै पाँच लाखभन्दा वढी खर्च लाग्ने छ। उनको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन्। उनका बुबा चुरामणिले छोराको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरे। थाहा खबर