काठमाडौं– आइसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि जित निकालेको छ।

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्ध ५ विकेटले विजयी भएको हो। नागरिक न्युजले खबर छापेको छ ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनायो। १५४ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गरेको नेपालले ४०.४ ओभरमा १५५ रन बनाउँदै पुरा गर्यो।

नेपालको सुरुवात खराब रहेपछि रोहित पौडेल र सोमपाल कामीले अन्तिमसम्म टिकेर खेले। पौडेलले ८७ बलमा ५ चौकासहित सर्वाधिक ४८ रनमा अविजित रहे। त्यस्तै, ४० बल खेलेका सोमपाल ५ चौकासहित ३७ रनमा अविजित रहे।

दिपेन्द्र ऐरी १२ रन, पारस खड्का ११ रनमा, ज्ञानेन्द्र मल्ल १२, अनिल शाह २६ रनमा समेटिँदा आरिफ शेख २ रनमा आउट भए।

एैजाज खान र इशान खानले नेपालको समान २–२ विकेट लिए। तनवीर अफजलले १ विकेट लिए।

यसअघि टस जितेर व्याटिङ सुरु गरेको हङकङका लागि निजाकत खानले ४७ रन बनाए। ८४ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका उनलाई ललित राजवंशीको बलमा पारस खड्काले क्याच आउट गरे। इसान खान २१, बाबर हयात २०, इसान नवाज १३, तनवीर अफल १०, क्रिस्टोफर कार्टरले ९ रन बनाए।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए। करण केसी र बसन्त रेग्मीले समान २ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए। खेलमा रोहितकुमार पौडेल म्यान अफ द म्याच भए।

नेपालले जितेपनि सुपर सिक्समा पुग्ने सम्भावना भने अन्त्य भएको छ। अब नेपालले एकदिवसीय मान्यताका लागि संघर्ष गर्नेछ।