भारतले लगाएको नाकाबन्दी ताका म बसेको घरबेटीले अर्काे कोठामा बस्ने मेरो छिमेकीलाई स्टोभमा भात पकाउन दिएनन्। कारण, स्टोभको कालोले कोठामा लगाएको रंग विग्रने डर। पुसको ठण्डीमा बाहिर वा छतमा बसेर स्टोभमा भात पकाउन सजिलो कहाँ हुन्थ्यो र? त्यो आपतमा सारा नेपाली एकअर्कालाई सहयोग गर्दै थिए तर तीन तलामाथि बस्ने मेरो छिमेकी भने तल चोकमा ओर्लेर स्टोभ बालेर भात पकाउँदै थिइन्।

एक मन यस्तो छुच्चाको घरमा के भाडा तिरेर बसेको हुँला भनेर मैलाई पछुतो लाग्यो। कोठा पाउन तत्कालै सजिलो नहुने सम्झेर मैले सरिहाल्ने निर्णय लिन सकिन। पुुस–माघको ठण्डीमा काम्दै मेरो छिमेकीले तल चोकमा भात पकाएको मैले लगातार १५ दिन हेरेँ। पछि उनले ८ हजार तिरेर ब्ल्याकमा किनेको ग्याँसले कोठाभित्र भात पकाउन थालिन्।

उनले कोठामा भात पकाउन थालेपछि मलाई एक खालको सुकुन भयो। तर पथ्थर मन घरबेटी सम्झेर भने हृदयमा घृणाको आगो बल्यो। छिमेकीको दर्दका कारण घरबेटीप्रतिको सोचाई मेरो पुरै नराम्रो भयो। नकारात्मक हुनु पर्ने अरुपनि कारणहरु थिए। जो आपतको घडीमा काम लाग्दैनन्, तिनीहरुप्रति नकारात्मक हुनु स्वभाविक पनि हो।

अर्काे डेरामा सर्ने मेरो सोच पुरै सजिव भइसेको थियो। तर डेरा सर्नु अघि मैले केही प्रश्नको जवाफ पनि पाउनु थियो र केही घरबेटीको जवाफको उत्तर पनि दिनु थियो। यसअघि कोठामा कमै मानिसलाई बोलाउने मैले यस घट्नापछि मेरा एकजोडी साथीलाई कोठाको साँचो दिएँ। अरु कुनै व्यवसाय नगर्ने मेरा घरबेटी प्राय घरमै हुँन्थे। साँचो लिएका मेरो साथीहरुलाई घरबेटीले नदेख्ने कुरै भएन।

९८०३४५१९७० मोबाइल नम्बर भएका  कुमारजीलाई अर्काे कोठा खोज्ने जिम्मा दिइसकेको थिएँ। घरवेटीले लगाएको अनुशासनको पर्खाल नाघ्न खोज्ने म जतिबेला पनि कोठाबाट हटाइन सक्थेँ। तर कोठाबाट हट्नु अघि घरबेटीले पालना गर्नु पर्ने अनुशान के हो त्यो पनि सिकाउने वाला थिँए।

नयाँ कोठा खोजिसकेपछि मैले घरबेटीलाई प्रश्न गर्न गरेँ—तपार्इंको घरको बाथरुमा ५ वटा धारा छन् तर पानी एउटाबाट पनि आउन्न। मुख धुन जाँदा सधै लोटामा पानी बोक्नु पर्छ। मैले यो घरमा पानीको लागि होइन, धाराको टुटीको लागि पैसा तिरेको छु। पानी दिन नसक्नेले बाथरुममा ५ वटा धारा कुन सोख पुरा गर्न राखेको?’

मेरो अनुपस्थितिमा मेरो साथीहरु कोठामा आएको संकेत गर्दै  घरबेटीले मलाई जवाफ फर्काए ‘यो घर मेरो हो, तपाईलाई असुविधा भए जान सक्नु हुन्छ, मेरो घरको आफ्नै अनुशासन छ।’ कोठामा बसेदेखि घरबेटीलाई मेरो पहिलो प्रश्न नै त्यही थियो।  जसको जवाफ घरबेटीले डटेर दिए, मैले उनको घर छोड्नुपर्ने संकेत गर्दै।

घरबाट निकालिने डरले यसअघि मैले ५ वटा धारा भएको तर पानी एउटाबाट पनि नआउने प्रश्न जिब्रोमा ल्याएर पनि उच्चारण गर्न सकिन बरु तितो विषझैँ निलेकी थिँए। अर्काे डेरा  निश्चत भइसकेको थियो। चुप लागेर घरवेटीको ‘डायलग’ खानु पर्ने जरुरत अब मलाई थिएन। घरवेटीको अनुशासनको कुरालाई फेरि मैले जोडे र भने, ‘कस्तो अनुशासनको कुरो गर्दै हुनुन्छ तपाई? म तपाईको घरमा भाडामा बस्ने केटी हो, त्यो पनि पढे लेखेको। त्यति मात्र होइन म कामकाजी महिला पनि हो। यसर्थ  मेरो संगत धेरैसंग हुन्छ, मैले कस्को संगत गर्ने र नगर्ने भन्ने कुराको फैसला म आफै गर्छु। मेरो कोठामा को आउन हुने र को नआउने भन्ने निर्णय दिने तपाईको को हो?’

प्रश्नको तिर तेस्र्याउँदै फेरि मैले घरबेटी अङकललाई सोधे,‘आजसम्म त मेरो कोठामा मेरो  साथीहरु र आफन्तहरु आए। भोलि मेरो ब्वाइफ्रेण्ड आउन सक्छ, ब्याइफ्रेण्ड बनाउनु अघि के  मैले तपाईको अनुमति लिनु पर्ने हो? वा, कोठामा बस्ने म जस्ता केटीहरुले ब्याइफ्रेण्ड नै बनाउन नपाउने हो कि? अथवा बाउको घरमा पालना गर्नु नपरेको नियम भाडाको घरमा बस्दा पालना गर्नु पर्ने हो?’

अघिसम्म कोठाबाट निस्कन संकेत गरेको मेरा घरवेटी निक्कै आक्रोशित भइसेका थिए। अब त उनले कोठाबाट निस्कन निर्देशन नै दिए। वादविवाद लभगभ झगडामै टुङिगयो। उनको घर अब मैले खाली गुर्न पर्ने भयो। कोठा सर्ने निधो गरेको मैले आजैबाट उनको घरमा नबस्ने जवाफ फर्काएँ र एडभान्समा दिएको पैसा फिर्ता मागेँ।

म अहिले अन्यत्र कोठा सरि सकेँ। जुन कोठामा सर्नु अघि मैले आफ्नो अवस्था विस्तारमा बताएको छु। संगै घरवेटीलाई मेरो जिन्दगीमा फैसला गर्ने हक नभएको र मेरोमा आउने–जाने प्रति चियोचर्चाे नगर्न चेतावन्दी पनि दिएको छु। यो लेखि रहँदा मेरा आँखा आजका मुख्य समाचारमा पनि छन् कि काठमाडांै विश्व कै तेस्रो फोहोर शहर हो। म सोचीपनि रहेछु, यो काठमाडौं शहर कति अब्यवस्थित छ? यो शहरमा फोहोरको निकास छैन, पानीको सुविधा छैन, अनि फेरि भूकम्प गए भागेर ज्यान जोगाउन खुल्ला ठाउँ छैन। जुन शहरमा २० औँ लाख मानिस घरभाडामा बस्छन्, त्यही शहरमा घरभाडा सम्बन्धी कुनै ठोस नीति र नियम छैन।

घरवेटी बादशाह जस्तो अनि भाडा तिरेर बस्ने चाँहि  रैती जस्ता।  घरबेटीको नियम हिटलरको जस्तो एकदमै कडा। मैले जानको र बुझेको यत्ति हो,‘व्यक्ति विकसित हुन उ स्वतन्त्र हुनुपर्छ।’ जबसम्म कोसंग कस्ले चिया खायो, कोसंग भात खायो वा कस्ले कोसंग रात वितायो भन्ने सवालमा हामी चियोचर्चाे गरि रहन्छौँ, निश्चय नै हामी त्यतिखेरसम्म पछौटे युगमै हुन्छाैं। अझ घरबेटीको सवालमा भाडामा बस्ने माथि कुनै प्रकारको हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो धारणा हो।

घर भाडामा लाउने सामथ्र्य राख्नुको मतलब यो होइन कि उसले अरुको जिन्दगीलाई निर्देशन गर्ने क्षमता राखोस्।  केही अपवादलाई छाडेर काठमाडाैंका अधिकांश घरधनीहरु घरभाडामा लाउने व्यवसाय गर्छन् तर अव्यवसायिक ढंगले। कोही घरबेटी एकदमै असल पनि होलान् तर घरवेटी असल वा दयावानसंग हामी भाडामा बस्नेलाई के सरोकार! हामीलाई असल, दयावान, दानवान वा चरित्रवान घरधनी होइन व्यवसायिक घरधनीको आवश्यकता छ।

घरधनीले कस्तो कोठाको लागि कति पैसा लिने र पैसा लिएपछि सुविधा कस्तो हुने भन्ने नियम त चाहिन्थ्यो। तेलमा मिसावट हुँदा उपभोक्ता अधिकार हनन् भयो भन्ने आवाज उठाउने उपभोक्ता अधिकारकर्मी, पैसा तिरेर बस्ने डेरावालकोमा कहिले आइपुग्लान थाहा छैन।उनीहरुलाई पनि पनि मेरो प्रश्न—घरधनीले ट्वाइलेटमा पानी नदिएको, कत्ति पाहुना ल्याएको भनेर दिनरात किचकिच गरेको वा महिलाको कोठामा पुरुष वा पुरुषको कोठामा महिला पस्ने वित्तिक्कै कर्के नजरले हेरेर नाता प्रमाणित गर्नु पर्ने संकेत गर्दा उपभोक्ता अधिकार हनन् हुन्छ कि हुँदैन?

काठमाडाैंका डेरावालहरु! मैले लेख्न नसकेको वा मैले भोग्न नपरेको अनेकन समस्या भोग्दै हुनुहुन्छ। तपाई पैसा तिरेरै भाडामा बस्नुहुहन्छ। आधारभुत सुविधा पाउन सम्झौता नगर्नुहोस। आफुलाई घरधनीले अनावश्यक रुपले सताएको लागेमा प्रहरीलाई खवर गर्नुहोस्। वा प्रश्न गर्ने हिम्मत राख्नुहोस्, मेरो जिन्दगीमा चियो चर्चाे नगर भनेर। पैसा अनुसारको सुविधा चाहिँयो भनेर।

बोल्नुपर्नेलाई बासको चिन्ताले डर लाग्ने, बोल्नुपर्नेले वास्ता नगरिदिने अनि घरबेटीले मनपरी गर्ने? सरकार घरबेटीको हिटलर शासन कहिलेसम्म हो? भाडामा देशको कानुन र घराबेटीको कानुन समेत मान्नुपर्ने उनीहरुलाई कानुन नलाग्ने? जनतालाई दिनदिनै चाहिंएको कानुनै नबनाउने यो कस्तो लोकतन्त्र हो हाम्रो? – सेतोपाटीबाट