बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेको भनिएको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिनुभएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो ।

उहाँले भन्नुभयो– आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल होस् र आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुन सकोस् ।

राष्ट्रपति चिनफिङले सो धारणा चीन पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग मङ्गलबार राख्नुभएको हो । दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ सोमबार चीन पुग्नुभएको छ ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका चुङ दक्षिण कोरियाली विशेषदूतका रुपमा गएको बिहीबार अमेरिका पुग्नुभएको प्राप्त समाचारमा जनाइएको थियो ।- न्युज२४नेपालबाट