-गोमा सिटौला

जनयुद्धमा मेरा आमाबुवा मारिंदा त्यतिखेर म सात बर्षकी थिएँ। मामाघरमा हजुरआमाको साथ माइजूहरूको आँखाको तारो बनेर हुर्किएँ।मामाको छोरालाई खाना खुवाउँदा म टुप्लुक्क त्यतै पुगेँ। “डङ्किनीको `चोखा´ लागेर मेरो छोरो बिमारी हुने भो ´´-म माथि ठाडो हात लगाउँदै माइजूले सराप्नु भयो।फेरि बरन्डामा निस्केर “अलच्छिनी,बोक्सीले आमाबुवालाई त टोकी टोकी मेरो छोरो समेत बाँकी नराख्ने भई´´- गाउँ नै हल्लिने गरी कराउँदा एक कान दुई कान मैदान भनेझैं छिमेकीहरूले पनि मलाई बोक्सीकै नजरले हेर्न थाले।

मैले बोक्सी मन्त्रले बाण हानेर कसैको गाई बस्तु मरेको कसैको बच्चा बिरामी भएको आरोपमा पल्लाघरको मामाले मध्यरातमा जमात जुटाउनु भयो। मलाई नाङ्गेझार बनाई, बकाउन धामीले ढ्याङ्ग्रो ठटाएर कुटपिट गर्न थाल्यो।माइजूले मलमुत्र मुखमा कोचाउन थालिन् र गाँउलेले तातो पन्युँले शरीर डामेर मलाई क्षतबिक्षत बनाए।

हजुरआमालाई मेरो पीडाले सहिनसक्नु भयो। उहाँले भित्रभित्रै मलाई कसैको घरमा काम गर्ने बन्दोबस्त मिलाइदिनु भयो।

मैले काम गर्ने घरको मालिक,मालिक्नी दुबै राजनीति गर्थे। ठूलाठूला देश हाँक्ने गफ गरेको सुन्दा गतिलो संरक्षक पाएको अनुभूति भयो।

एकदिन मालिकको छोरा लडेको थियो तर उहाँहरू जस्तो शिक्षितले समेत मैले रगत चुसेर छोराको शरीरमा निलो डाम बसेको भन्दै बोक्सीको आरोप लगाएर त्यताबाट पनि निकालिदिनु भयो।

नेपाल गयो कपालसँगै ,बर्मा गयो कर्मसँगै भनेझैं बेसाहरा नारीको लागि साँच्चै रुप र जवानी पनि घाँडो हुँदोरहेछ । गिद्धको मुखबाट आफ्नो कौमार्य जोगाउँन हम्मेहम्मे थियो। ज्यामी काम पनि बल्ल तल्ल पाएकी थिएँ। घरको ढलान सकिएको भोज खान ठेकदारले दिउँसो होटेल लगेको थियो । खाजा खाँदै थिएँ भित्तामा झुन्डाएको टिभीको समाचारले म झस्कीएँ। हिजो मलाई बोक्सी भन्दै निकाल्ने तिनै मालिक्नी आज संस्कृतिमन्त्री पो बनिछन्।-साघुसाप्ताहिकबाट