-ज्योति देवकोटा

गत साता वासिङ्टन डिसीमा ३१ वर्षका एक नेपाली भाइसँग भेट भयो। अमेरिका पुगेको तीन महिना बितिसक्दा पनि उनी कसैसँग खुलेर कुरा गर्न सकेका छैनन्। १६ महिनासम्म थेगेको ‘तल्लो बाटो’ को डर उनको अनुहारबाट अहिले पनि हट्न सकेको छैन।

‘ट्रम्प प्रशासन’ ले अंगालेको ‘अवैधानिकहरुप्रतिको कडा नीति’ ले अहिले हरेक दिन भारत, बंगलादेश, पाकिस्तान, नेपाल, हाइटीलगायत ल्याटिन मुलुकबाट अमेरिका भित्रिने करिब १५ सयको अनुहार डरले काँपेको देखिन्छ। त्यो डरको वादलले यीनको अनुहार पनि ढपक्कै छोपेको छ। ‘ट्रम्प फोविया’ ले हैरान छन्। यही कारण उनी सजिलै कोही मान्छेसँग खुल्न चाहँदैनन्। ‘को मान्छे के हुन्, न बुझ्न सकिएको छ, न खुल्न सकिएको छ।’

कसरी, कुन बाटो भएर पुग्नु भयो अमेरिका? मेरो प्रश्नमा उनले भने,‘ दशा लागेर अमेरिका आइयो, दाइ,’ उनको अनुहारमा डर दोहोरियो।

दलालमार्फत आउनु भएको हो?

‘हो’

तपाईँ जस्तै अरूले दलालसँग फसेर दुःख नपाउनका लागि म लेख्छु। भन्नुस न, कसरी आउनु भयो?

‘नाम चाहिँ नलेखौं है दाइ, फेरि के हो कसो हो,’ लेख्ने भन्ने कुराले उनी अलि सजग भए।

नाम त लेख्दिनँ, मैले विश्वास दिलाएँ।

त्यसपछि उनी खुल्न तयार भए।

नेपाल र खाडी मुलुकमा आफ्नो ‘हव’ बनाएर बसेका एक दलाल सन् २०१५ तिर उनको सम्पर्कमा आए।

भूकम्पले थला परेको राजधानीको धुलो खाँदे ‘साला, नेपालमा बसेर केही गर्न नसकिने भयो’ भन्ने निराशाले घोचिरहेका बेला ती दलाल भेटिएका थिए।

उसै पनि नेपालमा अधिकांश युवाको पहिलो उद्धेश्य ‘विदेश उड्नु’ हो। ती दलालले ९ लाख खर्च गरे पोर्चुगल पुर्‍याउने बताए।

उनकै भाषामा ‘नरकको यात्रा’ सोहि दिनबाट सुरू भयो। ‘५ लाख पहिला, ४ लाख पुगिसकेपछि भनेको थियो मुर्दारले।’ मुख बिगारेर दलालसँगको त्यो वार्ता सम्झिए। ‘पोर्चगलमा १ वर्ष बसेर कार्ड बनाउनुहोस। त्यसपछि युरोपको राम्रो देशमा बसाइ सर्नुहोस्’, भन्यो।

यो धुलो चाटेर बस्नुभन्दा मैले पनि युरोपको सुविधा सम्पन्न बसाइ नै रोज्ने निर्णय गरेँ। एक जना सँगै पढेको साथी जर्मनीको लिपिङमा बस्न थालेको ४ वर्ष भयो। उसले पनि पोर्चुगलमा कार्ड बनाएर जर्मनी सरेको थियो।

‘आइज केटा, सँगै बसौंला’, उसले पनि भनिरह्न्थ्यो।

उनले अब जर्मनी गएर बस्ने सपना बुन्न थाले।

पहिलो पटक काठमाडौंको पुतलीसडकस्थित एक ‘एजुकेशन कन्सल्टेन्सी’को कार्यालयमा ती दलालसँग भेट भएको थियो। त्यसपछि फोनमा दोहोरो कुराकानी भइरह्यो।

पहिलो पटक भेट भएको करिब दुई महिना पछि ‘म अब बाहिर जान्छु एक चोटी फाइनल कुरा गरौ’ भन्यो। दरवारमार्गस्थित होटल अन्नपूर्णमा भेट गर्ने समय मिलाइयो। होटलमा ती दलालसँग भेट्नेको लाइनै लागेको थियो।

‘पैसा तयार गर्नुहोस्, म ४ महिनामा फर्कन्छु,’ हातमा तीन वटा फोनको सेट बोकेका ती दलालले उनलाई भारतको मोवाइल नम्बर टिपाए र भने, ‘केही आवश्यक कुरा गर्नु पर्‍यो भने सम्पर्क गर्नुहोला।’

होटल अन्नपूर्णमा भेट भएको एक महिना नपुग्दै उनको फोन आयो। ‘नेपाल आ’को छु। बत्तिसपुतलीमा भेटौं,’ भनेर एउटा निजी घरको ठेगान दिए।

सिंगो खाली घरमा बोलाएर उनले भने, ‘पोर्चुगल जान अझै समय लाग्ने भयो। २४ लाख खर्च गर्न सक्नुहुन्छ भने मैले अमेरिका पुर्‍याउने एउटा पार्टी भेटेको छु।’

विदेश जान खोज्नेका लागि अमेरिका पहिलो रोजाइ हो। पोर्चुगलबाट एकाएक अमेरिका लैजाने ‘अफर’लाई उनले हुन्न भन्न सकेनन्। ‘अर्को १२/१३ लाखले अमेरिकै पुगिन्छ भने किन हुन्न भन्ने लाग्यो।’ उनले २४ लाखको ‘अफर’ स्वीकारे।

सन् २०१५ ताका अमेरिकालाई यति डरलाग्दो बनाइएको थिइएन। एक जना चिनेको उनका बाग्लुङतिरका साथी २५/३० लाख खर्च गरेर केही वर्ष अगाडि अमेरिका गएका थिए। ‘फाट्ट फुट्ट फेसबुकमा कुरा हुँदा ‘मेरो त कागज १ वर्षमै बन्यो’ भन्थ्यो।

अमेरिका गएको केही वर्षमै वाग्लुङ बजारमा उनले बनाएको पक्कि घर हेर्दा पैसा पनि राम्रै कमाएको हल्ला चलेको थियो।

अमेरिकाको कुरा आएपछि बाग्लुङका यी साथीलाई सम्झिए। तर, अहिले ती साथीसँग कुनै सम्पर्क छैन। ‘यता आइपुगेपछि मेरो लागि चिनेको मान्छे जमानी बस्नुपर्ने भयो। आफूले चिनेको त्यै साथीले पनि जवानी बस्न मानेन त्यसपछि मैले सम्पर्कै गर्न छोडेँ।’

उनलाई १४ लाख ऋण जम्मा गर्न मलाई करिब १० महिना लाग्यो। बाँकी १० लाख घर भित्रै जोडजाम गरि २४ लाख तयार पारे। ‘दाइ जुन दिन मैले यसरी दलाललाई पैसा बुझाएर जान्न भन्न सकिनँ त्यही दिनबाट मेरो दशा सुरू भयो’, उनले दोहोर्‍याएर भने, ‘दाइ यो कुरा दोहोर्‍याएरै लेखिदिनु होला- दलालको विश्वासमा पैसा बुझाएर तल्लो बाटो अमेरिका कोही पनि नआउनु होला।’

पोर्चुगल जाने योजना बनाएको करिब ११ महिनापछि अमेरिकाको लागि भनेर उनी दिल्ली उडे। दलाललाई २४ लाख बुझाएर काठमाडौंबाट अमेरिकाका लागि भनेर एयर इण्डिया हुँदै दिल्ली उड्ने उनी मात्र एक्ला नेपाली थिएनन्। ‘दिल्ली पुगेपछि थाहाँ भयो, एउटै प्लेनमा हामी ६ जना रहेछौं,’ उनले भने।

सँगै एउटै प्लेबाट उडेका बाँकी ५ जना साथी अमेरिका पुगे या बाटोमै छन् उनलाई थाहा छैन।

काठमाडौंबाट दिल्ली पुगेपछि धुँवाको मुश्लो आउने गल्लीभित्रको पुरानो घरमा लगियो। ३ जना पञ्जावीसहित ९ जनालाई ५४ दिनसम्म ‘आज भोलि’ भन्दै एउटा साँघुँरो कोठामा थुनेर राखे। ७९ किलोको मान्छे २ महिनासम्म कोठाभित्र गलेर ५४ किलोमा झरेँ,’ उनी सम्झन्छन्’ ‘नर्क छिचोलेर आइयो। साला सम्झिनँ पनि मन लाग्दैन।’

५५ औं दिनको बेलुका चिनी बोक्ने ट्रकमा हालेर हिँडाइयो। कहिले जंगल, कहिले पानी र कहिले मरूभूमिको बाटो। कहिले भेडाको बगालभित्र। कहिले तेलको ट्याङ्कर भित्र। दिल्ली छोडेको ३ महिनापछि स्तानबुलमा पुगे।

त्यो बेला तल्लो बाटो गरेर यसरी अमेरिका आउने नेपाली मात्र उनको समूहमा ११ जना पुगिसकेका थिए। स्तानबुल पुगेपछि फरक फरक समूह बनाइयो। उनी भारतीयको समूहमा परे।

‘मान्छेलाई गाई बाख्राको बगाल जस्तो गरी लैजादा रहेछन्। भारत र बंगलादेशका मान्छेले ५० लाख आइसीसम्म दलाललाई बुझाएका पनि भेटिए। आज भेट भएका मान्छे भोलि भेट नहुने। मरे बाँचेको पत्तो नहुने र’छ,’ उनले भने।

स्तानबुलबाट निकारागुवा पुग्न ४ महिना लाग्यो। पानी जहाँजभित्र पसाउने योजना ३ चोटीसम्म फेल भयो। चौथो पटक बल्ल राखे। पस्ने बेला जस्तो निस्कले बेला उस्तै सकस। ‘कुकुरलाई जस्तो बक्सामा बन्द गरेर बाहिर निकालियो। बक्सा गाडीमा हालियो। मासु बेच्ने पसलमा बेलुका फेरि बक्सा खोलियो र हामीलाई बाहिर निकालियो।’ उनले यसअघि निकारागुवा भन्ने सुनेका पनि थिएनन्।

‘स्तानबुलबाट हामीलाई निकाल्ने दलालले निकारागुवाको ग्रान्डामा अर्को दलालको हातमा सुम्पियो,’ उनले अगाडि भने।

निश्चित ठाउँबाट अर्को निश्चित ठाउँसम्म लग्ने फरक फरक मान्छे हुँदा रहेछन्। निकारागुवा पुगेपछि ‘अब हाउ डेज?’ भनेर उनले सोधेका थिए। ‘हेर्दै ‘दलाल’ जस्तै मान्छेले खल्तीमा बोकेको पेस्तोल देखायो।’ त्यस यता कुनै पनि दलालसँग दोहोरो कुराकानी भएन। ‘दोहोरो कुराकानी नहुने कारण अर्को पनि थियो। दिल्ली छोडेपछि भेटिएका कुनै पनि दलालसँग भाषा मिल्दैन थियो।’

काठमाडौंमा हुँदा उनलाई यही एउटै दलालले सिधै अमेरिका पुर्‍याउने भन्ने लागेको थियो। पछि थाहाँ भयो मान्छे ओसार पसार गर्ने दलालको सञ्जाल नेपालबाट अमेरिकासम्मै जोडिएको ‘सिक्री’जस्तो रहेछ।

‘एउटा निश्चित ठाउँमा पुर्‍याएपछि एउटाले अर्कोलाई जिम्मा लगाउँथ्यो। बुझ्नेले हामीलाई ल्याएर आउने दलालसँग पैसा बुझ्ने गर्थ्यो। कति ठाउँमा त मोलमोलाइमा कुरा मिल्दैन थियो र अर्को दलालसँग सम्पर्क गर्ने अर्को महिना कुर्नु पर्थ्यो। हामी त बेच्न राखिएका भेडा बाख्रा जस्ता। मोल मिल्यो लगेर गए। मोल मिलेन छाडेर गए।’

उनको समूहमा ३ जना पञ्जावी थिए। निकारागुवाको ग्राण्डमा पुगेपछि उनीहरूकै माध्यमबाट भारतीय रेष्टुरेष्टमा काम गर्ने ब्यक्तिले भात दाल र नान ल्याइदिए। ‘नेपाल छाडेको ६ महिना पछि हामीले खाना खायौं,’ उनले भने।

दलालले राखिएको ठाउँभन्दा बाहिर निस्किन अनुमति दिँदैनन्। जहाँ दलालले राखेर जाने हो त्यो घरको ढोकासमेत बाहिरबाट बन्द गरेको हुन्छ। बिच बाटोमा पुगेको बेला त ‘न समाउने हाँगो हुने, न टेक्ने जमिन नै।’

निकारागुवाबाट एलसाल्भाडोर, ग्वाटेमालाहुँदै मेक्सिको पुग्न अर्को ४ महिना लाग्यो।

सबैभन्दा बढी शारीरिक र मानसिक तनाव भएको समय यही हो। बोलेको भाषा नबुझिने। रात बेरात डर लाग्दो बाटो हिँड्नुपर्ने। आँखा अगाडि गोली हानेर मान्छे मारेको दृश्य देखेपछि अब आफ्नो पालो कहिले आउने हो भन्ने त्रासको शरीर गलेर आउने भएको उनले सुनाए।

मेक्सीकोको तल्लोकुनाबाट माथिल्लोकुना पुग्न फेरि अर्को २ महिना लाग्यो। मेक्सीको भित्र मात्र ३ जना दलाल परिवर्तन भए। उनको समूहमा मेक्सिको भित्रबाट अमेरिका जानेको संख्या ५० जनाको हाराहारीमा थियो।

केटाकेटी, महिलाहरु पनि समूहमा थपिए। रातबिरात हिँड्नु पर्थ्यो। हिँड्न नसक्ने महिलालाई लात हानेर घिसारेर लग्थ्ये। ‘मरूभूमिको यो बाटोमा मरेका मान्छेहरुको लास र हड्डी त कति भेटीए कति।’

अर्को एक महिनाको सकसपूर्ण मरूभूमि यात्रा पछि अमेरिका पसियो। दिउँसो तालु पोल्ने मरूभूमिका क्याक्टस झाडिमा लुक्नुपर्ने। मध्येरात दलालले टर्च ‘पिलपिल’ पारेपछि हिँड्न पर्ने अवस्था थियो।

मेक्सिकोबाट एरिजोनाको मरूभूमि हुँदै ज्यूदो लासलाई ‘ट्रम्प ल्याण्ड’ सम्म पुर्‍याउँदाका कति दैनिकीहरू उनि सम्झिनै चाहँदैनन्।

मरूभूमिमा मरेका मान्छेका हड्डी कति देखिए कति? सन् २००१ यता मात्रै मेक्सीकोहुँदै एरिजोना मरूभूमिबाट अमेरिका छिर्ने खोज्ने २१ सय भन्दा बढीको मृत्यु भएको छ। ‘पैसा बुझाएर पनि यति सकससाथ अमेरिका आउनुजस्तो ठूलो गलत निर्णय अरू के होला र दाइ?’, उनले लामो स्वास फेरे।

‘अमेरिका पुगिसक्यौ अब सहज भइहाल्छ नि’ साथीहरुले ढाडस दिन थालेका थिए, ‘असाइलम अप्लाइ गर्ने, कागज बनिहाल्छ तनाव खत्तम।’ उनको अनुहार अलिकति उजेलीन मात्र के थालेको थियो, गएको जनवरी २९ मा युएसिसआइएसले नयाँ सूचना निकाल्यो। ‘अब यो पनि नहुने भन्ने कुरो आयो। बरबाद भयो।’

युएसिसआइएस नयाँ ब्यवस्था अनुसार ‘अब असाइलम दिनेहरुको लागि २१ दिनमा छिनोफानो लगाउने।’ भन्ने छ। अब असाइलमको निवेदन दिएको २१ दिनभित्रै निर्णय हुने छ। स्वीकृत नभएमा आफ्नो देश फिर्ता पठाउने कामलाई कार्यान्वयन गराउने।

२४ लाख तिरेर मृत्यु छिचोल्दै अमेरिका पुगेका यी भाइका अगाडि अहिले अर्को पहाड आएर ठोकिएको छ। ‘अब असाइलम हालौं, भएन भने देश फर्काइदिन्छ भन्छन्। नहालौं कहिलेसम्म लुकेर हड्डी घोटेर बस्ने?’-सेतोपाटिको सहयोगमा !