– रमेश लम्साल

काठमाडौँ, २९ फागुन । वामगठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ ।

संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको छ । संघीय संसद्का सदस्यको एक मतको भार ७९ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यमध्ये भण्डारीको पक्षमा २४५ मत परेको थियो । त्यो भनेको १९ हजार ३५५ मतभार हो । उहाँका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले संघीय संसद्का तर्फबाट ७८ मत प्राप्त गर्नुभयो । त्यो भनेको ६ हजार १६२ मतभार हो ।

यस्तै प्रदेशसभातर्फ भण्डारीको पक्षमा ४१५ मत परेको थियो । प्रदेशसभाको एक मतको भार ४८ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रपति भण्डारीले १९ हजार ९२० मतभार प्राप्त गर्नुभएको हो । संघीय संसद् र प्रदेशसभा सदस्यको कूल मतभार जोड्दा राष्ट्रपति पदका लागि भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभयो । उक्त मतभार प्रतिस्पर्धी राईको भन्दा २७ हजार ४४५ बढी हो ।

प्रदेशसभा सदस्यका तर्फबाट कुमारीलक्ष्मी राईले ११६ मत प्राप्त गर्नुभयो । त्यो भनेको पाँच हजार ५६८ मतभार हो । यस आधारमा हेर्दा राष्ट्रपतिका उम्मेदवार राईले ११ हजार ७३० मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति निर्वाचनका लागि कूल ५२ हजार ५०१ मतभार कायम गरिएको थियो । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का तीन मत बदर भएको थियो भने प्रदेशसभा सदस्य मध्ये पाँच मत बदर भएको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३२६ मत खसेको थियो भने प्रदेशसभा तर्फका ५३६ मत खसेको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सेन्ट्रल लग विधिका आधारमा मतभार कायम गरिएको हो ।

संघीय संसद्का पाँच अनुपस्थित

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँच सदस्य अनुपस्थित भएका थिए । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सदस्यमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो । कूल ३९५ मतभार अनुपस्थिती देखिएको हो ।

यस्तै प्रदेशसभा तर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसार्इं, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु अनुपस्थित हुनुहुन्थ्यो । कूल ६२४ मतभार बराबरको मत अनुपस्थिति रहेको हो ।

आज बिहान १० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलो पटक राष्ट्रपति पदका लागि मतदान गराएको हो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गर्ने व्यवस्था थियो ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको पहिलो पटक हो ।

जसले मतदान गर्न पाएनन्

राष्ट्रपति निर्वाचनमा मतदाता भएर पनि मतदान प्रक्रियामा संघीय संसद् र प्रदेशसभा सदस्य गरी कूल १८ जना अनुपस्थित हुँदा चार सदस्यले भने मतदान गर्न पाएनन् । राष्ट्रियसभाका सदस्यत्रय डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले मतदानमा भाग लिन नपाउनुभएको हो ।

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरी सकेका कारण उहाँहरु राष्ट्रियसभा सदस्य भएर पनि मतदान गर्नबाट वञ्चित हुनुभएको हो ।

यस्तै प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी प्रहरी हिरासतमै रही उपचाररत् रहनुभएको र संघीय संसद्का पद तथा गोपनीयताको शपथसमेत नलिनुभएका कारण पनि मतदान गर्न नपाउनुभएको हो ।

संघीय गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साल साउन ७ देखि २०७२ साल कात्तिक ११ गतेसम्म राष्ट्राध्यक्षका रुपमा कार्यरत रहनुभयो । यस्तै विद्यादेवी भण्डारी २०७२ साल कात्तिक ११ देखि राष्ट्रपतिका रुपमा कार्यरत हुनुहुन्छ । आजको निर्वाचनपछि उहाँ आगामी पाँच वर्षका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

यसअघि पनि उहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा उम्मेदवारको रुपमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने यस पटक पनि उहाँ सोही गठबन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचित हुनुभएको हो । रासस