अशोक कोइराला –

काठमाडौ, २९ चैत्र । पशुपति परिसर छिर्नेबित्तिकै गेटमै सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र केही माग्नेहरु झगडा गरिरहेका थिए । माग्नेहरु भन्दै थिए, ‘हामीलाई मागेर खान पनि दिएनन् ।’ हामी आँखा देख्दैनौँ । हातमा सेतो छडी लिएर माग्न बसेका एक व्यक्तिले भने, ‘पशुपति विकास कोषले हाम्रो अधिकार खोसेको छ हामीलाई सहयोग गर्नुस् ।’

मैले त्यो भिडमा मोबाइल निकालेर केही फोटो खिचेँ । नजिकैबाट मलाई हेरिरहेका एक प्रहरीले हातको इशाराले मलाई बोलाए । उनले मेरो मोबाइल हेर्दै भने मेरो फोटो आएको भए तुरुन्तै डिलिट गर्नुहोस् । म अचम्ममा परेँ ।

मैले सोधेँ ‘किन ?’ म आफू पत्रकार भएको परिचय दिएँ । रुखो स्वरमा उनले भने, ‘तपाईँ जो भए पनि मलाई के मतलब ?’ उनले मेरो मोबाइल नै खोसेर फटाफट मेरो मोबाइलका तस्बिर हेर्दै गए र प्रहरी भएका सबै फोटो डिलिट गरिदिए र मलाई मोबाइल फिर्ता गरे ।

ती प्रहरी माग्नेसँग झगडा गर्नुभन्दा पहिले एक जना युवतीसँग गफ्फिँदै बसिरहेका थिए । सायद मैले युवतीसँग गफ गरिरहेको तस्बिर खिचेको ठानेर उनले मेरो मोबाइल मागेका थिए । प्रहरीसँग खासै फेस नगरेकाले मैले पनि एउटा आज्ञाकारी छात्राले शिक्षकको आदेश पालना गरेजस्तै लुरुलुरु मोबाइल सुम्पिदिएँ ।

आफू असुरक्षित हुने भन्दै उनले प्रहरीको फोटो नखिच्न आग्रह गरे । यो हर्कतपछि मैले ती प्रहरीसँग कुरा गर्न खोजेँ उनी मदेखि तर्किए र पशुपति परिसरबाटै बाहिरिए ।

पशुपति छिर्नेबित्तिकै धेरै माग्नेहरु लस्करै बसिरहेका हुन्थे । कसैले मादल बजाएर पैसा माग्थे त कसैले गीत बजाएर पैसा मागिरहेका हुन्थे । तर पशुपति विकास कोषले पशुपतिलाई माग्नेरहित बनाउन अभियान नै सञ्चालन गरेपछि अहिले केही समूहमात्रै विकास कोषसँग यसरी झगडा गरेर नै पैसा मागिरहेका थिए ।

केही प्रहरीले उनीहरुलाई हट्न पटक–पटक आग्रह गरिरहेका थिए । तर पनि उनीहरु हट्न मानेका थिएनन् । ‘यहाँभन्दा बाहिर हाम्रो खासै कमाई हुँदैन । यहाँ हामीलाई बस्नै दिँदैनन्’, ती माग्नेले भने ।

मैले उनको बारेमा विस्तृतमा बुझ्न खोजेँ तर पनि उनले मलाई आफ्नो बारेमा बताउन चाहेनन् । ‘यसरी मागेर बस्नु नराम्रो हो ।’ मैले उनलाई सम्झाउँदै भनँे ‘पशुपति विकास कोषले तपाईँहरुलाई पुनस्र्थापना गर्न लागिरहेको छ । तपाईँहरुको परिवारलाई समेत सजिलो हुन्छ । छोराछोरीलाई पनि पढाइदिन्छन् ।’

मेरो कुरा सुन्नेबित्तिकै उनले भने, ‘हामी हाम्रै कमाइले सन्तुष्ट छौँ । यहाँ जति राम्रो कमाई हामी जहाँ गए पनि हुँदैन ।’ उनी जति सम्झाए पनि मान्नेवालामा थिएनन् ।

पशुपति अन्य बेलामा भन्दा अहिले सफा देखिन थालेको छ । माग्नेहरुका स्पिकरबाट आउने दिक्कलाग्दा आवाज पशुपति जाने तीर्थालुले अब सुन्नुपर्दैन । व्यवस्थित रुपमा लाइन बसाएर तीर्थयात्रुहरुलाई मन्दिरमा छिर्न लगाइएको थियो ।

वरिपरिका पर्खालका भित्ताहरुमा रङ लगाउन लागिएको थियो । हराभरा र शान्त वातावरणमा पर्यटकलाई आकर्षित गर्न पशुपति विकास कोषले यसरी माग्नेहरुलाई पनि व्यवस्थित गर्न लागेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भन्नुभयो, ‘हामीले पटक–पटक आग्रह गर्दा पनि उनीहरु अझै यहाँबाट हट्न मानेका छैनन् ।’ उनीहरुलाई हटाउने प्रयासमा ढकाल बुधबार बिहान आफैँ मन्दिर परिसरमा खटिनुभएको थियो ।

पशुपतिको मूल ढोकामा बसेर नै दैनिक ३ हजार रुपैयाँसम्म कमाई हुने गरेको उनीहरुले नै बताए । यहाँबाहेक अन्य ठाउँमा बस्दा हाम्रो यति कमाई हुँदैन । हामी यहीँ बसेर मागेर खान्छौँ । उनीहरु हामीले सम्झाएर सम्झिनेवाला छैनन् ।

तर पशुपतिबाट फर्किएर अफिसमा आइपुग्दा पनि म ती प्रहरीको हर्कत देखेर अचम्ममा परेँ । मैले उनको बारेमा प्रहरीका माथिल्ला कर्मचारीसँग कुरा गर्ने प्रयास गरे पनि पशुपति परिसरमा भेटिएनन् ।

नेमप्लेट नभएकाले उनको नाम मैले थाहा पाइनँ, तर नाम थाहा नपाए पनि उनको बानी व्यहोरा भने मज्जाले थाहा पाएँ ।