प्रतिभा आफैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् ।

विशेष गरेर सामाजिक सञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’,‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरू उत्तिकै मिठासपूर्ण स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविष्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ ।

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविकोपार्जनका लागी पैसा सङ्कलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरूमा मात्रै सीमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूको पनि मन जित्न सफल भएको छ ।

२ कक्षा सम्म मात्रै अध्ययन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहाना रहेको उनले बताए । उनका बुबा आमा अरुको घरमा काम गर्ने गर्छन् । प्रतिभा भएर पनि गरीब भएकै कारण उनले आफ्नो प्रतिभाको सही सदुपयोग गर्न सकेका छैनन् ।