नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द गर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाम जोडेर भएको प्रचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखेर फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट पोष्ट गरेको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिमाथि कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा अनुरोध समेत गरिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गलत ,भ्रामक सूचनामा विश्वास नगर्न र आआफ्नो सामाजिक सञ्जालबाट त्यस्ता गलत सूचनाहरु पोष्ट गरेको भए हटाउन समेत सबैमा आग्रह गरेको छ ।