मनीष सापकोटा, युवा ज्योतिषी तथा वास्तुशास्त्री

गृह निर्माण होस् वा अन्य कुनै निर्माण कार्य, वास्तुको प्रभाव प्रत्येक निर्माण कार्य, स्थान एवं वातावरणमा पर्छ । यो कुराको वैज्ञानिक तथ्य प्रमाणित भएर त्यसको अवलम्बन विश्वका विभिन्न स्थानमा भैरहेको छ । वास्तुशास्त्रका प्राकृतिक एवं वैज्ञानिक तथ्य ऋषि–महर्षिहरूको लामो खोज, अनुसन्धान, ध्यान एवं योगबलको परिणति हुन् । आधुनिक विज्ञानको कसीमा पनि यो तथ्यसम्मत रहेको पुष्टि भैसकेको छ ।

यो विज्ञानको अथाह महत्त्वलाई सम्पदा एवं विज्ञानका रूपमा शिरोधार्य गरे प्रत्येक व्यक्ति, परिवार, समाज एवं सम्प्रदायमा सुख, शान्ति, समृद्धि एवं वैभव प्राप्त हुन्छ । ‘वस्’ संस्कृत धातुमा (तुन्) प्रत्यय भएर हलन्त ‘न्’ को लोप भई वस्तु शब्द बन्छ ।

वस्तु शब्दमा ‘णिच्’ प्रत्यय लागेर आदि अच्को वृद्धि भएर ‘णिच्’ प्रत्यय लोप हुँदा वास्तु शब्द निर्माण हुन्छ । अत: वास्तु विज्ञान कुनै पनि वासस्थान एवं पर्यावरणमा प्रकृति, प्रकृतिको घटक पञ्चतत्त्व पृथ्वी, जल, तेज, वायु र आकाशबीच समन्वय मिलाउँदै प्राकृतिक घटकहरूको शक्ति सन्तुलन गर्ने विज्ञान हो ।

वास्तुको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्त्व, पृथ्वीको चुम्बकीय तरङ्ग एवं गुरुत्वाकर्षण शक्ति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जा शक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, अंश विश्लेषण, सौर्य ऊर्जा, पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने विशेषता आदि हुन् । कुनै पनि व्यक्तिले घर निर्माण गर्नु नेपाली समाजमा महत्त्वपूर्ण उपलब्धि मानिन्छ किनभने गृह निर्माण धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव हुन्छ । यदि त्यही कार्य नै गलत भए पश्चातापबाहेक अरू केही हुँदैन ।

त्यसैले वास्तुअनुरूप घर बनाउनु उपयुक्त हुन्छ । घरको जग खन्नेदेखि झ्याल, ढोका राख्ने एवं आन्तरिक सजावटसम्म वास्तुअनुसार गरिन्छ र घरमा काम गर्ने मिस्त्री एवं ज्यामीलाई समेत खुसी बनाएपछि मात्र वास्तु पूर्ण हुन्छ । वास्तुअनुसार शयन कक्ष, स्नान कक्ष, भान्सा, बैठक, अतिथि कक्ष, अन्न भण्डार एवं भर्‍याङ आदि उचित ठाउँमा निर्माण गरे जीवनका हरेक आयामलाई सकारात्मक बनाउन सकिन्छ । यस्ता कुराको सन्तुलन मिलाउन निम्न उपाय अपनाउन सकिन्छ ।

शयन कक्ष

घरमुलीको शयनकक्ष घरको दक्षिण–पश्चिममा हुनुपर्छ ।

सुत्दा सिरानी दक्षिण दिशा र पैताला उत्तर दिशामा पारेर सुत्नुपर्छ ।

विद्यार्थीहरूले पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ ।

विद्यार्थीको शयन कक्ष सफा हुनुपर्छ ।

शयन कक्षमा खानेकुरा खानु हुँदैन एवं जुठो गर्नु हुँदैन ।

शयन कक्षमा प्राकृतिक वातावरण झल्कने तस्बिर राख्न सकिन्छ भने हिंस्रक प्राणी एवं युद्ध आदिको तस्बिर राख्नु हुँदैन ।

मरेका मानिसको तस्बिर शयन कक्षमा राख्नुहँुदैन ।

शयन कक्षमा देवीदेवताका तस्बिर पनि राख्नु हुँदैन ।

स्नान कक्ष

स्नान कक्ष जहिले पनि पूर्व दिशामा बनाउनुपर्छ ।

स्नान कक्ष र शौचालय सँगै राख्नुहुँदैन ।

हिजोआज ठाउँको अभावले शौचालय तथा स्नान कक्ष पूर्व–उत्तरमा बनाइएको पाइन्छ जुन वास्तुअनुकूल मानिँदैन ।

स्नान कक्ष र शौचालय उचित स्थानमा भए शान्ति र ऊर्जा प्रवाह अनुकूल हुनुका साथै रोग–व्याधीको खतरा हुँदैन ।

पूर्व–उत्तरमा स्नान कक्षको निकास पाइप राखिनुपर्छ ।

शौचालय पश्चिम दिशामा अथवा उत्तर–पश्चिममा हुनुपर्छ ।

साबर तथा धाराहरू उत्तरी भित्तामा राख्नुपर्छ र ऐना पनि उत्तरी भित्तामा हुनुपर्छ ।

गिजर पूर्व–दक्षिण दिशामा राख्नुपर्छ ।

बाथ टब पश्चिममा राख्नुपर्छ भने मुख धुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ ।

झ्याल वा भेन्टिलेटर पूर्व वा उत्तरमा हुनुपर्छ ।

ओभरहेड ट्यांकी दक्षिण–पश्चिममा राख्नुपर्छ ।

भान्सा घर

भान्सा कोठा दक्षिण–पूर्वमा बनाउनुपर्छ ।

पूजाकोठाभन्दा माथि–तल, शौचालयभन्दा माथि–तल तथा सुत्ने कोठाको माथि–तल भान्सा बनाउनु हुँदैन ।

ग्यास, स्टोभ, चुल्हो दक्षिण–पूर्व कुनामा बनाउनुपर्छ ।

भान्सामा प्रयोग हुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ ।

भान्सामा राखिने बट्टा एवं भाँडाकुँडा जसमा गेडागुडी आदि राखिन्छ त्यसलाई दक्षिण वा पश्चिम दिशामा राख्नुपर्छ ।

भान्सा कोठाको ढोका कुनामा हुनुहुँदैन । भान्सा कोठाको ढोका पूर्व, पश्चिम र उत्तरमा शुभ हुन्छ ।

ग्यास, चुल्हो, आगो बाल्ने ठाउँ भान्सा कोठाको ढोकाको ठीकअगाडि हुनु हुँदैन ।

भान्सा कोठाको पूर्व दिशामा झ्याल राख्नु लाभप्रद मानिन्छ ।

भान्सा कोठाको डाइनिङ टेबल उत्तर–पश्चिम वा पश्चिम दिशामा रहनुपर्छ ।

भान्सामा प्रयोग गरिने हलुका खालका सामग्री पूर्व–उत्तर दिशामा राख्नुपर्छ ।

खाना पूर्व फर्केर पकाउनु उपयुक्त हुन्छ ।

भान्सा कोठाको रंग पहेंलो, सुन्तला, रातो, चकलेटी वा रातो हुनुपर्छ । त्यसका साथै भान्सा कोठाको भुइँ एवं सिलिङको रंग कालो हुनुहुँदैन ।

यदि फ्रिज राख्ने हो भने दक्षिण पूर्व, दक्षिण, पश्चिम वा उत्तरमा राख्न सकिन्छ तर उत्तर पूर्व र दक्षिण–पश्चिममा सकेसम्म राख्नु हुँदैन ।

यदि भान्सा कोठा उत्तर–पूर्वमा भए मानसिक तनाव, आर्थिक क्षति, रोग वृद्धि एवं शत्रु भय आदिले सताउन सक्छ ।

भान्सा कोठा दक्षिण–पश्चिम दिशामा भए घरमा आन्तरिक कलह सिर्जना हुन्छ ।

अतिथि कक्ष

वेदमा बताइएको छ–‘अतिथि देवो भव’ अर्थात् पाहुना देवता समान हुन्छन् । अत: उनीहरूको सम्मान र सत्कार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अतिथि कक्ष सन्तुलित भए देवता पनि खुसी हुन्छन् र अतिथिसँगको सम्बन्ध सुमधुर रहन्छ । त्यसैले अतिथि कक्ष उत्तर–पश्चिममा रहनु शुभ मानिन्छ ।

सामान्यतया यस्ता आधारभूत कुरालाई मिलाउँदा पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ र सन्तुलन मिलाउन पनि सकिन्छ ।

घरको मूलढोका र कोठाहरू प्रशस्त प्रकाश छिर्ने गरी निर्माण गर्नुपर्छ ।

शयन कक्षमा विद्युतीय उपकरणहरू राख्नुहुँदैन ।

कोठाको दक्षिण दिशामा चम्किलो सूर्यको तस्बिर राख्नु शुभ हुन्छ ।

भान्सा कोठा घरको अगाडि वा घरको अघिल्लो ढोकामा नहुँदा नै फलिफाप हुन्छ ।

भान्सा कोठामा ऐना प्रयोग गर्नुहुँदैन ।

घर नजिकै ठूला बोट–बिरुवा, क्याक्टस आदि रोप्नुहुँदैन ।

उत्तर–पूर्व र दक्षिण–पश्चिम दिशा छाडेर भर्‍याङ बनाउनुपर्छ । भर्‍याङ उत्तर वा पश्चिम घुमेर वा टेकेर जाँदा धन नाश हुन्छ ।

माछा पाल्ने ठाउँ दक्षिण–पूर्वमा राख्दा शुभ हुन्छ ।

घरमा मार्बल छापिएको छ भने मार्बललाई सुत्ने कोठा, नुहाउने कोठा तथा शौचालयमा प्रयोग गर्नु हुँदैन किनभने मार्बललाई हिन्दू धर्मशास्त्रअनुसार अत्यन्त पवित्र पत्थर मानिन्छ ।

विद्युतीय उपकरण दक्षिण–पूर्व दिशामा राख्नुपर्छ ।

घरमा टुटेफुटेका ऐना तथा बन्द भएका वा बिग्रिएका घडी राख्नुहुँदैन ।

ऐना, मुख धुने धारो उत्तर वा पूर्वको भित्तामा राख्नु उपयुक्त हुन्छ ।

सेफ दक्षिण र पश्चिममा राख्नुपर्छ । सेफ उत्तर र पूर्वमा खोलिनुपर्छ ।

शौचालयको प्यान वा कमोड उत्तर वा दक्षिण फर्किएको हुनुपर्छ । सेफ्टी ट्यांकी भने घरको उत्तर–पश्चिम वा दक्षिण–पूर्वमा राख्नुपर्छ ।

कुनै पनि घरको मूलढोका अर्को घरको मूलढोकाको सामुन्ने अगाडि हुनुहुँदैन ।

घरका झ्याल–ढोकाको संख्या ग्राउन्ड फ्लोरमा बढी भए शुभ हुन्छ ।

घरको मूल ढोकामा महालक्ष्मीको तस्बिर हुनु अत्यन्त शुभ मानिन्छ ।

घरको पूर्व–उत्तर दिशाको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

विद्यार्थीले पूर्व–उत्तर फर्केर पढ्नु उपयुक्त हुन्छ ।

बिमको ठीक तल बस्नु एवं सुत्नुहुँदैन ।

युद्ध, अपराध तथा हत्या–हिंसाका तस्बिर टाँस्नु हुँदैन ।

घरको मूलद्वार यसरी निर्माण गर्नुपर्छ कि त्यहाँ कतैबाट कसैको छाया नपरोस् ।

घरको अगाडि तुलसीको बोट लगाउनु शुभ हुन्छ ।

वर्षाको पानी, ढल आदि पूर्व–उत्तर दिशामा बगाउँदा शुभ हुन्छ ।

घर निर्माण सामग्री गुणस्तरीय हुनुपर्छ ।

दक्षिण–पश्चिम दिशा घरका ज्येष्ठ सदस्यका लागि लाभप्रद हुन्छ ।

घरको उचाइ दक्षिण–पश्चिमबाट घटाएर पूर्व–उत्तरमा कम हुनुपर्छ ।

घरको भित्ता दक्षिण–पश्चिममा बढी बाक्लो हुनु तथा उत्तर–पूर्वको भित्ता सानो वा पातलो हुनु राम्रो हो ।

भूमिको पूजा घर बनाउनुअघि नै गर्नुपर्छ ।

भर्‍याङमुनि पूजा कोठा तथा शौचालय बनाउनुहुँदैन ।

घर वा जग्गाको बीच भागमा रहेका इनार–कुवा आदि अशुभ मानिन्छन् ।

घर बनाउने ठेकेदार तथा कामदारलाई पनि खुसी तुल्याउनुपर्छ तब मात्र सम्पूर्ण रूपले वास्तु पूर्ण हुन्छ ।

– दैनिकपत्रबाट