– कृष्ण खनाल
राजनीतिक विश्लेषक

लामो समयदेखि अस्थिरता र संक्रमण भोगेको देशमा यतिवेला स्थिरताको आस देखिएको छ । सरकारसँग जनअपेक्षा चुलिनुको मुख्य स्रोत स्थिरताको आस हो ।

वाम मतदाता बहुसंख्यक भएको देश भएकाले वाम गठबन्धनको सरकार बन्दा थप उत्साह देखिएको छ, एउटा माहोल देखिएको छ । मिडिया आदिमा वामपन्थीको बलियो नेटवर्क छ, यसैले माहोल बनाउन नियोजित प्रयत्न पनि भएको हुन सक्छ । म आफैँ पनि सरकारको अहिलेसम्मको कार्यसम्पादनलाई वाहियात भन्न सक्तिनँ ।

केपी ओलीको विगत हेर्दा आशावादी हुन सक्तिनँ । परीक्षण भइसकेका नेता हुन्, उनको विगतबाट आस जगाउन सकिन्न । तर, अहिलेका ओलीलाई हेर्दा रहस्यमयी लाग्छन् । उनी विगतभन्दा उल्टो, स्वार्थभन्दा माथि उठ्न खोजेका देखिन्छन् । उमेर, स्वास्थ्य आदिको कारणले मरिलानु के छ र, केही कीर्ति छाडेर जानुपर्छ भन्ने चेत आएको उनको अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ ।

मृत्युचेतना सबैभन्दा ठूलो चेतना हो, यो चेतले मान्छेलाई निष्क्रिय इमानदार बनाउँछ । यसैले उनी बृहत्तर हितमा अघि जान खोजेको हो कि भन्ने देखिन्छ । उनको नयाँ व्यक्तित्व विनिर्माण भएको छ ।

परीक्षण भइसकेका नेता भएकाले उनको क्षमताको भर गर्दिनँ । तर, निष्क्रिय इमानदारिता मात्र देखाए पनि धेरै सकारात्मक परिवर्तन हुन सक्छ । सबैभन्दा असन्तुष्ट मधेस, प्रणालीमा आउनु अर्को आसलाग्दो कुरा हो । विप्लव र सिके राउतले हल्लाउन खोजेर केही हल्लिनेवाला छैन ।

– नयाँ पत्रिका दैनिकबाट साभार