एजेन्सी। चर्चित पर्यटकीय स्थल जहाँ देश विदेशबाट लाखौं पर्यटक घुम्न आउँछन् । त्यही ठाउँमा लगातार हत्या हुनु हाम्रो देशमा आश्चर्यलाग्दो हुन्छ । तर उत्तर अमेरिकी देश मेक्सिकोमा यो सामान्य हो । यहाँको सबैभन्दा चर्चित पर्यटकीय स्थलमा हालै ३६ घण्टाभित्रै १४ जनाको हत्या भयो । २०१८ को सुरुवातदेखि अहिलेसम्म यहाँ १ सय १३ जनाको हत्या भइसकेको छ ।


मेक्सिकोका लागि यो कुनै आश्चर्यलाग्दो घटना होइन । मेक्सिको पूरै संसारका ड्रग्स र हत्याको लागि बदनाम छ । अहिले यहाँ ड्रग्सको विषयमा विवाद र झडप सामान्य भइसकेको छ । यहाँका ड्रग माफिया यतिसम्म निडर छन् कि सरकारलाई पटक्कै टेर्दैनन् । अमेरिकाको पब्लिक ब्रोडकास्टिङ सर्भिसको रिपोर्टअनुसार सरकारले लाख कोसिस गर्दा पनि यहाँको ड्रग्सको कारोबार नियन्त्रण गर्न सकेको छैन । उल्टै यो अहिले झनै तीव्र गतिमा बढिरहेको छ ।

ड्रग्सको लतमा फसेकाहरुका कारण यहाँ कैयौं माफिया सक्रिय छन् । यिनीहरु सुरुङ वा अन्य माध्यमबाट अमेरिकामा ठूलो मात्रामा ड्रग्स पुर्याउँछन् । यहाँ कैयौं खुंखार ग्याङहरु सक्रिय छन् र यी ग्याङहरुबीच ग्याङफाइट भइरहन्छ । माफियाहरुको ग्याङफाइट र ड्रग्सको ओभरडोजका कारण यहाँ विगत १० वर्षमा १ लाख ६० हजारको ज्यान गइसकेको छ । यहाँका अधिकांश युवा कुनै न कुनै ग्याङका सदस्य छन् । महिलाको ठूलो जनसंख्या पनि नशाको शिकार भइसकेको छ ।

मेक्सिकोमा केन्टुकी ग्रुप नामक सामाजिक संस्थाले गरेको अध्ययनअनुसार यहाँको नोगेल्स सिटीको ७० प्रतिशत जनसंख्या ड्रग्सको नशाको शिकार भइसकेका छन् । नोगेल्स सिटीको जनसंख्या ६० हजारको आसपास छ । यीमध्ये हजारौं जनता गम्भीर रोगको शिकार भएर तड्पी तड्पी ज्यान गुमाइसकेका छन् । यसको खराब असर बालबालिकामाथि पनि परेको छ । आर्थिक अभावका कारण बालबालिका स्कुल जान सकेका छैनन् ।


यद्यपि सरकार र कैयौं सामाजिक संस्था यी जनताको जीवन सही बाटोमा ल्याउन सक्रिय छन् । यति हुँदाहुँदै पनि यी जनता ड्रग्समा यतिसम्म लिप्त भइसकेका छन् कि उनीहरु सहर छोड्नै चाहँदैनन् । यही कारण केन्टुकी ग्रुपले कैयौं बालबालिकालाई ड्रग्सको एण्टीडोटको इन्जेक्सन लगाउन पनि सिकाएको छ ताकि उनीहरुले आफ्ना अभिभावकको जीवन सुधार्न सकुन् । अहिलेसम्म सयौं बालबालिकाहरुलाई सहरबाट टाढा सामाजिक संस्थाको संरक्षकत्वमा पठाइसकिएको छ । जहाँ उनीहरुलाई पढाइसहित अन्य सुविधा उपलब्ध गराइएको छ ।

यहाँका स्थानीय जनता र ड्रग माफिया भने बालबालिकाहरुलाई यसरी लैजान दिँदैनन् । किनकि उनीहरुले बालबालिकालाई मजदूरी गराउँछन् । ड्रग्स किन्न र घरखर्च चलाउनको लागि ठूलो संख्यामा महिलाहरु यौनधन्दामा लागेका छन् । कम उमेरका किशोरीहरु पनि पैसा कमाउनको लागि यसलाई पेशा बनाइरहेका छन् । आसपासका सहरबाट मानिसहरु दैनिक यहाँ ड्रग्स र सेक्सका लागि आउने गर्छन् । मिडिया रिपोर्टका अनुसार यहाँ एड्स पीडितको संख्या पनि निरन्तर बढिरहेको छ ।