काठमाडौं, २ बैशाख । संयोगले बाँच्ने, छनौटले प्रेम गर्ने र व्यावसायले गोली ठोक्नेहरू हुन् बन्दुकधारी योद्धा । अझ नेपाली परिप्रेक्षमा छनौटले प्रेम गर्ने अवसर कहाँ मिल्थ्यो र १० वर्षे जनयुद्धकालमा । त्यहाँमाथि १२ वर्षको बालक बन्दुकको कुन्दा पुछेर कालान्तरमा त्यहि बन्दुकको नाल अरूमाथि तेर्साएर परिवर्तनका लागि हिँड्दाको समयावधि कस्तो होला ?

धादिङको गल्छी गाउँपालिका–२ मा रहेको कल्याणी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै राजन मगर किताबको ठाउँमा बन्दुकको बाध्यता अँगालेका थिए । ०६० सालमा माओवादीको एउटा टोलीले उनलाई स्कुलबाटै उठायो र कलम छाडी बन्दुकको नाल समाउन बाध्य पारेको थियो ।

त्यसताका युद्धको डोभ बलियो भएका कारण आदीवासी जनजाती मुक्ति, गरिबको मुक्तिका लागि उनले बाध्य भएर बन्दुक समाए । उनलाई राजनीति वा मुक्तिको नाराबारे केही थाहा थिएन ।

‘मुक्तिका कुरा गाउँघरमा चलिरहेका थिए । अधिकारका लागि एकथरीको नारा पनि व्यापक थियो । स्कुल पढ्दापढ्दै म पनि एक दर्जन भन्दा बढिको संख्यामा आएका व्यक्तिसँग समाज परिवर्तनका नाममा कक्षा छाडेर हिँडे’, अहिले उनी सम्झन्छन्,‘त्यो उमेरमा हिँडेका कारणले पढ्न पाएको छैन, अहिले ।’

बन्दुक उनले देखेका थिएनन् । चलाउने कुरा त परै जाओस् । माओवादी भएपछि उनले घरेलु जीवन त्यागेर मुक्तिको आन्दोलनको फेरी समातेका थिए ।

सात महिनासम्म बन्दुक चलाउने तालिमका लागि उनलाई पश्चिम नेपालको पाल्पामा पुराइएको थियो । ‘तानसेनमा ७ महिनासम्म निरन्तर तालिम लिएपछि मैले बन्दुक बोक्न र ठोक्न जान्ने भएँ’, उनी स्मरण गर्छन्,‘त्यसपछि मुक्तिको खोजीमा मैदानमा लागियो ।’

उनको कमाण्ड ‘भिडन्त’ उपनामका एक जनाले गरेका थिए । असली नाम उनीहरूलाई थाहा हुन्नथ्यो । असली नाममा जानिनु हुन्न भनेर उनको पनि भूमीगत नाम राखियो । ‘त्यसबेला संगठनले न्वारन गरेर मेरो नाम ‘सुवास’ राखिदिए । र, संगठनमा त्यहि नाममा मेरो नयाँ परिचय बन्यो ।’

राजनीतिक युद्ध चल्दैगर्दा १२ बुँदे समझादरी भएपछि जनआन्दोलन भयो । जनआन्दोलनमा पनि उनको सहभागीता रहेको थियो । राजनीतिले कोल्टे फेर्दै जाँदा सेना समायोजनको विषय अगाडी आएपछि उनी पनि नेपाली सेनामा सहभागी हुने कुराले मख्ख थिए । त्यसबेला उनको सेनामा समायोजन हुने उमेर पुगिसकेको थियो ।

०६६ सालमा उनी १८ वर्षका लक्का जवानमात्र भएनन्, बन्दुक किन चलाइयो भन्ने विषयका राजनीतिक जानकार पनि भइसकेका थिए । भन्छन्,‘हामी खुसी भयौं अबचाहीँ युद्ध लडेको उपलव्धि र परिवर्तनमा हाम्रो सहभागीता हुनेछ भन्नेमा ।’

तर, उनको सपना त्यतिबेला तुह्यो जब उनलाई अयोग्य लडाकु ठहर गरी बहिर्गमनमा पारियो । ‘त्यसबेला युद्ध लडेको औचित्य र ज्यान बाजी थापेको विगतलाई सम्झिएँ ।’, उनी भन्छन्, ‘हामी किन अयोग्य भयौं ? हामीले बोकेको बन्दुक योग्य, लडेका युद्ध योग्य, पाएको राजनीतिक विरासत योग्य तर हामी अयोग्य ? किन ? यो प्रश्न मनमा खड्कीरह्यो ।’

एकजना मात्र थिएनन् करिब ४ हजार ८ जना अयोग्य ठहर भए । त्यसपछि त्यसैलाई संगठन बनाएर माओवादीका नेता, सेना समायोजनका लागि बनेका विभिन्न आधिकारीक सरकारी निकाय र उच्च निकायलाई उनीहरूले प्रश्न गरे,‘के कारणले हामी अयोग्य ?’

बन्दुकको कमाण्ड गरेका यमबहादुर अधिकारी कर्णेल भए, सेनाका कमाण्ड गरेका नन्दबहादुर पुनः उपराष्ट्रपति भए, त्यो पनि दुई पटक । संगठनको कमाण्ड गरेक नेताहरू मन्त्री र प्रधानमन्त्री भए ।

‘यी सबै पदमा बस्नका लागि हामीले उठाएको बन्दुक योग्य भयो तर हामी किन अयोग्य ? भन्ने प्रश्न गरिरहेका छौं, अझै ।’ उनी विगत सम्झेर निराश पनि छन् ।

‘त्यसबेला परिवर्तनका लागि लडियो ज्यानको बाजी थापेर हिँडियो । तर, बीचमा अलपत्र पार्ने काम भएपछि निराश बन्न पुगें ।’, उनी भन्छन्,‘बुर्जुवा शिक्षाको विरोधमा हिँड्दा आफ्नो शिक्षाको अवस्था कमजोर भयो तर शिक्षा प्रणाली परिवर्तन हुन सकेन ।’

बहिर्गमित लडाकुको संगठनको केन्द्रीय महासचिव समेत बनेका मगर भन्छन्,‘हामी किन अयोग्य भनेर बारम्बार नेताहरूसँग कुरा ग¥यौं । त्यसको जवाफ अहिलेसम्म पाउन सकेनौं ।’

बुर्जुवा शिक्षाको विरोधमा आफ्नो भविष्यलाई अन्धकारमा पारेका उनलाई स्कुल छाडेर अहिले निरक्षर बस्नुपर्ने बाध्यताको विगतसँग पनि टिठ लागेर आउँछ । ‘आफ्नै शिक्षा विगारेर नेताका छोराछोरीको विदेशयात्रा तय गरिएछ, कस्तो आन्दोलनमा लागियो भन्ने सोच आउँछ’, उनी भन्छन् ।

अहिले आफ्नै क्षेत्रको विकासका लागि अलग राजनीतिक धारबाट उदाउने प्रयास पनि गरेका छन् उनले । प्रतिनिधि सभाको गत निर्वाचनमा उम्मेदवारी दिएका उनी थप्छन्,‘गाउँको समृद्धिका लागि नै लड्नु परेको छ । त्यसका लागि संघर्षरत छु ।’