बेइजिङ : एयर चाइनाको आइतवारको उडानमा एक यात्रुले कलमको सहयोगमा एयर होस्टेसलाई बन्धक बनाएका छन् । त्यसपछि कर्मचारीले मध्य चीनको झेङ्गझोऊ एयरपोर्टमा जहाजलाई आपतकालिन अवतरण गराउन बाध्य भएका छन् ।

एयर होस्टेसलाई बन्धक बनाइएपछि आपतकालिन अवतरण गराएर अवस्थालाई नियन्त्रणमा लिइएको छ । जहाजले हूनान प्रान्तकको चाङ्गशाबाट बेइजिङका लागि उडान भरेको थियो । चीनको नागरिक उड्ययन प्राधिकरणका अनुसार आरोपी यात्रुले चालक दलका सदस्यलाई धमक्याउन यसो गरेका हुन् । जाँच एजेन्सीले ती यात्रुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छन् ।

समाचार एजेन्सीका अनुसार एयर चाइनाको उडान नम्बर १३५० ले बिहान ८ बजेर ४० मिनेटमा चांगसाबाट उडान भरेको थियो । यो जहाजलाई ११ बजे बेइजिङ पुग्नु थियो । यसै क्रममा एक यात्रुले एयर होस्टेसलाई बन्धक बनाए ।

तर कर्मचारीहरुको सुझबुझका कारण जहाजलाई झेङ्गझोऊ एयरपोर्टमा अवतरण गराइयो । यस घटनापछि यहाँको सुरक्षाव्यवस्ता कडा बनाइएको छ। एजेन्सीहरुले आरोपी यात्रुलाई नियन्त्रणमा लिएर बन्धक संकट समाप्त गरे । जहाजका सबै यात्रु पनि सुरक्षित रहेका छन् ।

यस जहाजमा सवार एक यात्रुका अनुसार यो घटना बिजनेस क्लासमा भएको हो । यसलाई इकोनोमी क्लासबाट छुट्याउने ढोका बन्द थियो । यहीकारण कसैलाई भित्र के भइरहेको छ भन्ने कुरा थाहा नै हुन सकेन ।

जब यात्रुले झ्यालबाट बाहिर चिहाए तब एयरपोर्टमा हतियारसहितका सुरक्षाकर्मी तैनाथ थिए । उनीहरुसँगै अग्निनियण्त्रक साधन र एम्बुलेन्स पनि देखिएका थिए ।