काठमाडौं, ३ बैसाख । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् । नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्णसिंहले जानकारी दिएका छन् ।

रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीन वटा ‘स्टेन’ राखिएको छ । संयोजक ठाकुरसँगै दिल्लीमा रहेका कृष्णसिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएको थियो । एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको उनको भनाई छ ।

चैत ३० भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको बताइएको छ । केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् ।

मधेस आन्दोलन, पार्टी एकीकरण तथा चुनावलगायतका विषयमा व्यस्त भएको कारण दिल्ली जान सकेका थिएनन् । डाक्टरसँग पटक–पटक समय लिए पनि उनी व्यस्तताका कारण उपचारका लागि गएका थिएनन् ।