काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः बस्दैछ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि रोकिएको कांग्रेस चुनावी समीक्षा बैठकमा बोल्न बाँकी रहेका नेताले आफ्ना धारणा राख्ने भएका छन् ।

यसअघि बसेको बैठकमा ४२ जनाले आ–आफ्ना धारणा राखेका थिए । तीन दिनभित्रै सम्पन्न हुने केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव गर्ने भएका छन् । पार्टी विधानमा पदाधिकारी मनोनयनको प्रस्ताव गर्ने अधिकार सभापतिलाई दिइएको छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै सभापतिको प्रस्ताव स्वीकृत हुनेछ ।

कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री तथा ६ जना केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छ । समय गुज्रँदै जाँदा कांग्रेसमा पदाधिकारीका आकांक्षी बढेका छन् । देउवा यतिखेर विमलेन्द्र निधि, डा.आरजु देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र डा.प्रकाशशरण महतको चंगुलमा फसेका छन् । कसलाई कुन पदमा मनोनीत गर्ने भन्ने निर्णय सम्बन्ध यिनै पाँचजनाले सभापति देउवालाई सल्लाह र सुझाव दिने गरेका छन् । निधि उपसभापति, खाँण महामन्त्री र महत सहमहामन्त्रीका आकांक्षी हुन् ।

उपसभापति र महामन्त्रीभन्दा पनि अहिले सहमहामन्त्रीको विषयले देउवा तनावमा परेका छन् । महत, मानबहादुर विश्वकर्मा, एनपी साउद, मिन विश्वकर्मा सबै सहमहामन्त्रीका आकांक्षी हुन् । सोही कारण धेरै आकांक्षी देखिएपछि देउवाले चालू बैठकमा सहमहामन्त्रीको मनोनयन गर्ने सम्भावना निकै कम रहेको बताइन्छ । स्रोतका अनुसार सहमहामन्त्रीमा नेता रामचन्द्र पौडेल समूहलाई दिने देउवाको तयारी छ ।

उपसभापतिमा भने निधि र गोपालमान श्रेष्ठबीच प्रतिस्पर्धा छ । विजयकुमार गच्छदार मनोनीत केन्द्रीय सदस्य भएकाले उनलाई उपसभापति बनाउन विधानले दिँदैन । सोही कारण निधि नै हुने प्रबल सम्भावना छ ।

यस्तै, महामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण दाबेदार छन् । देउवा खड्कालाई महामन्त्री बनाउने मनस्थितिमा छन् । यदि खड्कालाई नबनाई कार्की र खाँणमध्ये एकजनालाई बनाइएमा केन्द्रीय समिति बैठकमा देउवा अल्पमतमा पर्न सक्ने र उनको प्रस्ताव अनुमोदन हुन नसक्ने परिस्थिति सिर्जना भएको बताइएको छ ।