भुइँचालोको तीन वर्ष

भुइँचालोले दीर्घकालीन चोटका रुपमा हाम्रा पहाडी घरहरुको मौलिकता विनाश गरिदिएको छ।

प्रधानमन्त्रीले मुलुकलाई कृषिप्रधानमा फर्काउने प्रण गरिरहेका छन्। यही बेला गाउँ-गाउँमा दुईकोठे ‘आरसीसी’ घर ठडिँदै छन्। यिनै घरले अब यहाँ बस्नेलाई फेरि किसान बन्न नदिने विज्ञहरु बताउँछन्। सरकारी प्राविधिकहरुले हतारमा लगिदिएको ‘नौलो प्रविधि’ले हाम्रा पहाडी बस्तीका उपयोगीता र सुन्दरता अब सम्झनामा मात्र बाँच्ने भएका छन्।

हाम्रै थुप्रै पुराना गीतले भीर–पाखामा उभिएका सुन्दर नेपाली घरका वर्णन गर्छन्। चाहे ढुँगाको छानाको वर्णन गर्ने नारायणगोपाल हुन्, खरले छाएको घर सम्झने मुरलीधर हुन् वा घरबेटी नानीसँग वार्तालाप गर्ने गणेश ‘रसिक’।

रसिकको प्रसिद्ध गीत छ, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’।

गीतमा कुनै बटुवा तन्नेरीले घरबेटी नानीसँग अनुरोध गर्छन्। तर, त्यो आँगनी त भरे बा आएपछि धद्याङधुदुङ गर्ने ठाउँ हुन्छ। त्यसपछि पिँढीमा बास माग्छ। त्यो पनि भरे बहिनी आएपछि ढिकी जाँतो गर्ने ठाउँ हुन्छ। त्यसैगरी चोटामा आस गर्छ। त्यो पनि आमा आएपछि चुलो पोत्ने ठाउँ हुन्छ।

बटुवाले बास नपाउँदा नपाउँदै पनि त्यो गीतले हाम्रा घरहरुको विशेषता वर्णन गरिदिएको छ।

योजनाविद् एवम् पूर्व सचिव किशोर थापाकै भनाइमा पनि भुइँचालोपछि पुनःनिर्माण भएका हाम्रा घरहरु अब कृषक घर रहेनन्।

खेतीपाती याममा वाली सुकाउने र काम गर्ने आँगन, ढिकी जाँतो गर्ने पिँढी, चुल्होको अर्को छेउमा कुँडो पकाउने अँगेना, गरिब किसानले भेडा बाख्रा बाँध्ने छिँडी, परिवारका सदस्य बसेर योजना बनाउने मटानदेखि लिएर उब्जनी थन्क्याउने बुइँगलसम्म पहाडी कृषक घरमा अटाएका हुन्थे।

‘त्यो छिँडीमा बाँधेका बस्तुको तापले माथि कोठा न्यानो बनाउँछ भन्ने विज्ञानबाटै पुष्टि भइसकेको छ,’ थापा भन्छन्, ‘भीरपाखामै उपलब्ध ढुँगामाटोले बनेका गाउँले घरहरु हाम्रा पुर्खाको हजारौं वर्षको संघर्षपछि विकास भएका थिए।’

अघिल्ला भुइँचालाोमा पनि बाँच्दै आएका हाम्रा पहाडी घर यसपाला भने फेरिए। थापाका अनुसार जुन प्रकारका घर अहिले पहाडमा धमाधम बनिरहेका छन् त्यसमा ‘लिभिङ रुम’, ‘किचन’, ‘डाइनिङ रुम’ त निस्कन्छ तर, पिँढी चोटा र बुइँगल कल्पना पनि गर्न सकिँदैन।

‘अस्ति धादिङको कुमाल गाउँ पुग्दा चिटिक्कका पुराना घर भत्किएका ठाउँमा धमाधम ढलान गरेका घर ठडिँदै थिए,’ थापा भन्छन्, ‘गाउँलेले ऋण लिएर यस्ता घर बनाउन लागेको सुनेपछि कंगाल हुने भए भन्ने सोचेरै दिक्क लाग्यो।’

दोलखाको सुन्द्रावती गाउँस्थित थामी बस्तीमा यस्तै देखियो।

एउटा बन्दै गरेको घर छेउमा गिट्टी कुट्दाकुट्दै भेटिइन् ७० वर्षीया जुनीमाया थामी।

‘यो गिट्टी त देखेकै भर्खर हो,’ उनले भनिन्, ‘खेतीकिसानी बाहेक जिन्दगीमा अरु केही गरेकी थिइनँ।’

दोलखाको भिमेश्वर हुँदै घुमेको मोटरबाटो माथिल्लो तामाकोशीसम्म पुग्नेगरी भर्खर बनेको रहेछ। त्यही बाटो निर्माणसँगै जुनीमायाले भर्खर गिट्टी देखेकी थिइन्।

‘भाग्यमा कस्तो लेखेको रहेछ भने,’ उनले थपिन्, ‘भुइँचालो आएपछि भत्केको घर बनाउन गिट्टी कुट्ने भइयो।’

जुन ठाउँमा जुनीमायाले नाति-नातिना च्यापेर परिश्रम गरिरहेकी थिइन्, त्यही पाखोमा भुइँचालोअघि उनको तीनतले ढुँगामाटोको घर रहेछ। त्यो घर गर्ल्याम-गुर्लुम्मै ढल्यो। यतिबेला त्यहीँनिर दुईवटा घर बनिरहेका छन्।

एउटा लगभग तयार भइसकेको जुनीमाया र उनको कान्छा छोराको घर। अर्को यो बन्दै गरेको जेठो छोराको घर।

इञ्जिनियर लगाएरै डिपिसी गरेर बनाइएको जुनीमायाको ढुँगे घर पाँच लाख रुपैयाँमै तयार भएको रहेछ। यता पिलर हालेर बनाइँदै गरेको जेठो छोराको घरमा चाहिँ तेह्र लाख रुपैयाँ लगानी भइसकेको छ। माथि अर्को तल्ला थप्दासम्म थप बाह्र लाख पर्ने उनीहरुले सुनाए।

‘आमाले ढुँगाकै घर भए हुन्छ भन्नुभयो र सस्तैमा बन्यो,’ छेउमै उभिएका जेठा छोरा रामबहादुर थामी भनिरहेका थिए, ‘मैले चाहिँ गाउँका सहकारीबाट १८ प्रतिशतसम्म ब्याजमा ऋण लिएर यो पक्की घर बनाइरहेको छु।’

ऋण लिन उनले त्यही बन्दै गरेको घरजग्गा धितो राखेका छन्।

रामबहादुरका अनुसार उनीहरुको दुईदेखि तीन पाथी अन्न हुने खेत र एक पाथी उब्जनी हुने बारी छ। त्यसबाहेक ज्यालादारीमा मजदुरी उनको आम्दानीको एकमात्र श्रोत हो।

यो सुन्द्रावती समेत जोडेर पछिल्लो समय कालिञ्चोक गाउँपालिका बनाइएको छ। अब यो वडा नम्बर ९ बनेको छ। चार हजार जनसंख्या रहेको यो वडामा ६० प्रतिशत थामीहरुको बसोबास छ। भर्खरै जितेका वडाध्यक्ष हुन् रामप्रसाद मैनाली।

‘माथिल्लो तामाकोशी जाने बाटो आएपछि बाटोले नै यहाँ विकास ल्याएको हो,’ उनले भने, ‘ट्रक र टिपर किनेका यतैका साहुहरुले भुइँचालोपछि इँटा, सिमेन्ट, गिट्टी र बालुवा सहजै उपलब्ध गराइदिएका छन्।’ त्यस्ता साहुहरुले उधारैमा किस्ताबन्दी तिर्नेगरी निर्माण सामग्री गाउँलेलाई दिने गरेको उनले बताए।

दोलखा जिल्ला भने स्लेट र ढुँगाका खानीका लागि प्रसिद्ध छ।

‘दोलखा प्रसिद्ध भएकै यहाँको स्लेट र ढुँगाका खानीले गर्दा हो,’ पुनर्निर्माण प्राधिकरणका जिल्लास्थित प्रमुख सागर आचार्य पनि स्वीकार्छन्, ‘तर, यसै जिल्लामा यतिधेरै घर बनाउँदा हामीले यहीँका सामग्री प्राथमिकतामा राख्न सकेनौं।’

किन?

‘किनकि हामीसँग स्थानीय तवरमै उपलब्ध साधनबाटै कसरी बलियो घर बनाउने भनेर योजनासहित अघि बढ्ने समय नै भएन,’ आचार्यले भने, ‘हतारमा काम अघि बढाउन चारैतिरबाट दबाब आयो। हाम्रा इञ्जिनियरहरुले जे जानेका छन् त्यही गरे।’

यसरी धमाधम घर उभ्याउँदा पहिलेका पहाडी बस्तीको स्वरुप नै फेरिँदै गएको महशुस भइरहेको आचार्यले बताए।

‘यसको ठूलो मूल्य हामीले चुकाउनुपर्छ भन्ने थाहा छ,’ आचार्यले भने, ‘तर, अब के गर्न सकिन्छ?’

आचार्यसँग कुरा गरेलगत्तै हामी दोलखाकै तामाकोशी गाउँपालिकामा पर्ने विकट ओखरबोटे गाउँ पुगेका थियौं।

त्यहीँ छोराकै घरका निम्ति गिट्टी कुटिरहेकै अवस्थामा भेटिइन् अर्की आमा, ६० वर्षीया मेनुका खत्री।

भुइँचालोअघि यहीँ उनीहरुको तीनतले ढुँगामाटोको घर थियो। ध्वस्तै भएर लड्यो।

‘बाह्र वर्षअघि हामी परिवारैले पल्लो डिल पर्तिरबाट ढुँगा फुटाएर ओसार्दै घर बनाएका थियौं,’ उनले सम्झिइन्, ‘गैह्रीमुदीबाट ओसारेको ढुँगाले छानो लगाएका थियौं।’

अहिले भने गाउँ परिवेश फेरिएको छ। बर्खा लागेपछि बाँकीको संसारसँग अलग हुने यस्तो विकट गाउँमा समेत यतिबेला धमाधम इँटा र सिमेन्टका घर बनिरहेका छन्।

‘तल मधेसको बर्दिबासतिरबाट छोराले ट्रकमा राखेर ल्याएको पाँच हजार इँटाकै एक लाख पचास हजार परेको छ,’ उनले भनिन्, ‘गाउँमा सबैले इँटाको घर बनाएपछि अपमानित नहुनकै निम्ति पनि धेरैले इँटाकै सहारा लिएका छौं।’

मेनुकाको घर निर्माणस्थलकै एकाछेउमा भत्केका घरका ढुँगा भने अलपत्र छन्। दुईमध्ये एउटा छोराले भने नयाँ बन्ने घरको गारोका लागि त्यही ढुँगा प्रयोग गर्न तयार भइदिएकाले यिनको निर्माण लागत केही कम हुने भएको छ।

‘तीनतले घर र छानोका सबै गरेर यत्राविधि ढुँगा यत्तिकै थुप्रिएको छ,’ मेनुकाले भनिन्, ‘अब त्यसको कामै के हुने भयो र?’

ढुँगाभन्दा इँटा बलियो हो त आमै?

मेनुका एकछिन् हाँसिन्।

‘त्यो पकाएको माटोभन्दा ढुँगा त कति बलियो–बलियो नि बाबु। तर, गाउँमा एउटाले गरेपछि अरुलाई पनि त्यसै गरौं हुँदोरहेछ,’ उनले थपिन्, ‘यो ओखरबोटे भन्दा पनि उताको छौंडेतिर त झन् प्रत्येक घर इँटाले नै बनिरहेका छन्।’

देखासिकी र अरुभन्दा आफू कम नहोऔं भन्ने भावनाले नै गाउँमा सबैतिर इँटाकै घर बनिरहेको उनले प्रष्ट पारिन्।

यसरी अनकन्टार गाउँमा बनिरहेका महँगा घरले गाउँलेलाई ऋणमा पनि डुबाउँदै लगिरहेको छ। मेनुकाका पनि दुवै छोरा कहिले गाउँमै त कहिले काठमाडौंसम्म पुगेर मजदुरी गर्छन्।

गाउँ-गाउँमा पुगेका इञ्जिनियरलाई स्थानीयस्तरमै उपलब्ध ढुँगाको महत्व बुझाउन नसक्दा यो अवस्था उत्पन्न भएको योजनाविद् थापा सुनाउँछन्।

‘मलाई त अझ चिन्ता के छ भने यी भीरमा उभिएका गाउँमा पानी हुँदैनन्,’ थापा भन्छन्, ‘जबकि आरसीसी भनेकै प्रचुर पानी चाहिने प्रविधि हो जसको अभावमा घर बलियो हुनुको साटो उल्टै असाध्यै कमजोर हुन्छ।’

बास्तवमै तामाकोशीभन्दा सयौं मिटर माथिको ओखरबोटेमा पानीको श्रोत ठ्याम्मै देखिँदैन।

‘हाम्रा सुख्खा भीर पहरामा पर्याप्त पानी चाहिने आरसीसी प्रणाली लैजाने नै होइन,’ थापा भन्छन्, ‘बरु ढुँगामाटोको घर बलियो मात्र होइन भत्किएपछि पनि पुनप्रयोग गर्न हुन्थ्यो।’

थापाका अनुसार ढुँगामाटाका घर आवश्यक पर्दा फेरि पनि सार्न सकिन्छ जुन आरसीसीमा सम्भव छैन। त्यसैगरी पुराना घरका माटो खेतमै प्रयोग गर्दा पनि उब्जाउ हुन्थ्यो।

‘भूकम्पलगत्तै योजना आयोगमा बैठक बस्दा हामीले भत्केका घरकै सामग्री पुनः प्रयोग गर्नेगरी केवल दुई लाख रुपैयाँ सरकारले दिने निधो गरेका थियौं,’ उनले भने, ‘त्यो पैसाले नै बढीमा ४० प्रतिशत थप सामग्री किनेर बलियो घर उभ्याउन पुग्ने हिसाब लगाएका थियौं।’

व्यवहारमा भने पुरानो घरको संरचनाबाट पुनःप्रयोग गर्ने र स्थानीय श्रोतसाधन अधिकतम उपयोग गर्नेतर्फ ध्यानै दिइएन।

‘नेपालको इञ्जिनियरिङ शिक्षा नै आरसीसीमा आधारित छ जसले गर्दा गाउँ पुगेका इञ्जिनियरलाई ढुँगामाटोको महत्व नै थाहा थिएन,’ थापा भन्छन्, ‘त्यसमाथि गाउँ जानुअघि तिनलाई जाइका (जापानी सहयोग नियोग)ले दिएको तालिम पनि आरसीसीमै केन्द्रित रहेको सुनेको छु। यसकारण परिणाम यस्तो भएको हुनुपर्छ।’

पुनर्निर्माण क्रममा जारी गरिएको १७ वटा नक्सा पनि विकल्पका निम्ति मात्र दिइएको थियो। यसैलाई ‘नियम’ जस्तो गरेर बुझाउने प्रयास गरिएको थापाले आरोप लगाए।

त्यसबाहेक हाम्रा गाउँघरमा पनि रेमिट्यान्सले पैसा मात्र नभइ ‘पिलर सिस्टमको फेसन’ पनि भित्र्याइरहेको थापा बताउँछन्।

‘अर्कातिर सरकारले नै ती गाउँमा ठूलो लगानीले स्कुल र स्वास्थ्यचौकी बनाउँदा स्थानीय सामग्री महत्व नदिएर मधेसदेखि इँटा ओसार्ने गरेका छौं,’ थापा भन्छन्, ‘त्यसले गाउँलेमा यो पो रहेछ सही तरिका भन्ने भ्रम राज्यले नै पारिदिइरहेको छ।’

हाम्रा पहाडमा भर्खर भित्रिएको यो प्रविधि गाउँलेले जान्दै नजानेको र यसले मौलिकता र वास्तुकला मात्र नभइ ती गाउँलेको आत्मसम्मानमा समेत प्रहार गर्ने थापाको भनाइ छ। उनका अनुसार यसले पर्यटनमा पनि मार हान्छ।

‘नेपालमा भूकम्प गएपछि सिमेन्ट र छड उद्योगीहरु उत्पातै सक्रिय भएर असाध्यै प्रचारप्रसारमा लागे,’ थापाले अगाडि भने, ‘कतिसम्म भने उनीहरुले नै घर निर्माणसम्बन्धि तालिम सञ्चालन गरे।’

यस्तो अवस्थामा घर निर्माण सामग्री उत्पादन गर्नेले नीतिनिर्माण तहमा दबाब दिन ‘लबिइङ’ गरेको पनि हुनसक्ने पूर्वसचिव थापा अड्कल काट्छन्।

‘यो मामिलामा म संलग्न नभएकोले ठ्याक्कै के भयो भन्न सक्दिनँ,’ उनले भने, ‘भूकम्प लगत्तै विदेशका थुप्रै एजेन्टले प्रि-फ्याब निम्ति लबिइङ गरेकामा त्यसलाई निस्तेज पार्दाको अनुभव चाहिँ मसँगै छ।’

हतारमा पुनर्निर्माणको काम सक्नु परेकाले यस किसिमका कमीकमजोरी देखिन गएको पुनर्निर्माण प्राधिकरण प्रमुख युवराज भुषाल स्वीकार्छन्।

‘नुवाकोटको किसमाङ गाउँपालिका माथि उति विकट मनकामना भन्ने टुप्पोमा समेत इँटा ओसारेर घर बनाइरहेको देखेँ,’ भुषाल भन्छन्, ‘अझ काम गर्ने मानिस पनि बर्दियादेखि पुगेका। अब हाम्रा पहाडी गाउँमा त्यस्ता घर बनाउने मान्छे पनि नरहेको देखियो।’

यस्तो अवस्थामा पुनर्निर्माण प्रक्रिया सहजीकरण गर्न गाउँका जेजति निकाय थिए ती सबै निस्प्रभावी भएकाले गाउँघरको स्वरुपै बिथोलिएको भुषालले जानकारी दिए।

‘प्राधिकरणले पनि के मात्रै गर्ने?’ भुषालले प्रश्न गरे, ‘इञ्जिनियर भएन भने, हामीले पठायौं, गिट्टीबालुवा समस्या भयो भने, हामीले स्थानीय मान्छेलाई नै वर्कशपमा सहभागी गराएर प्रतिबद्धता जाहेर गरायौं, नक्साको समस्या थियो सुल्झायौं, निर्माणकर्मी भएन भनियो त्यो पनि तालिम दियौं…।’

काम गर्ने समग्र प्रणाली नै खराब भएकाले यो मात्र नभइ यस्ता धेरै विकृति देखिएको भुषाल बताउँछन्।

‘कसैले नेपाली शैलीका घर बनाउन आफ्नै प्रयासबाट तालिम दिलाउँछु भनेर दर्ता गर्न खोज्यो भने पनि त्यसभित्र धेरै लफडा छ,’ उनले भने, ‘हत्तपत्त सिटिइभिटीबाट सम्बन्धन नै पाइँदैन।’

दक्षता अभिवृद्धिका हाम्रा तमाम सिकाइहरु मौलिक आवश्यकताभन्दा पनि कसरी हुन्छ बाहिर विदेश पठाएर काममा लगाउनेतर्फ उन्मुख भएको उनले सुनाए।

‘बिल्डिङ एण्ड आर्किटेक्ट समूहमा नेपालमा बिइ पढ्ने इञ्जिनियरलाई नेपालको ‘विल्डिङ कोड’ पढ्नुपर्ने भनेरै राखिएको छैन,’ भुषालले प्रश्न गरे, ‘त्यस्तो पनि पाठ्यक्रम हुन्छ?’

उनका अनुसार यसरी तयार भएका इञ्जिनियरले केवल छड, सिमेन्ट र इँटा मात्र बुझेका छन्।

‘गाउँमा हिलो मुछेर गारो लगाइन्छ भन्ने कुरा हाम्रा इञ्जिनियरलाई थाहै भएन,’ भुषाल भन्छन्, ‘यस्तो अवस्थामा गाउँगाउँ खटाइएका इञ्जिनियरले जे जानेका छन् त्यही गर्ने त हो।’

कतिपय हाम्रा उच्च भेगमा त माटो पनि पाइँदैन। मुस्ताङका घरजस्तै ढुँगैढुँगाको बाक्लो ‘ड्राइ वाल’ लगाउनुपर्ने हुन्छ। यो सीप पनि सिकाउन नसकिरहेको भुषाल सुनाउँछन्।

यसरी प्राविधिक सहयोग नहुँदा गाउँमा मान्छे अलमल परेको उनले सुनाए। यही बेला पुनर्निर्माण प्राधिकरणले समयमा काम अघि बढाउन नसकेको भनेर अत्यधिक दबाब झेल्नुपरेको उनको अनुभव छ।

‘पहिलो किस्ता दिने बेला त हामीले धमाधम सम्झौताकै आधारमा पचास हजार दिएर पठायौं,’ उनी भन्छन्, ‘त्यसपछि चाहिँ जग हाल्न पनि गाइड गरिदिने मान्छे नभएर काम रोकिएको थियो। त्यही बेला चौतर्फी चर्को दबाब भयो। हामीले धमाधम वडा-वडामा इञ्जिनियर खटायौं जसले यस्ता घर उभ्याइदिए।’

यो क्रम जारी छ।

समाचार टुंग्याउनु अघि मैले यो प्रसंग उनै गीतकार तथा गायक गणेश ‘रसिक’ समक्ष राख्न चाहेँ।

‘यो मुलुकमा मैले हेर्दाहेर्दै धेरै कुरा इतिहास बने,’ यतिबेला नेपाल संगीत नाट्य एकेडेमीका सदस्य–सचिवसमेत रहेका रसिक भन्छन्, ‘अहिले राजनीतिमा मात्र पहिचानको चर्को कुरा सुन्दा हाँसो उठ्छ।’

सबै तिरबाट हाम्रा मूल्य-मान्यतामाथि प्रहार भइरहेका बेला फेरि त्यस्ता गीत बन्न अब गाह्रो हुने उनको ठम्याइ छ।

‘अब घरबेटी नानीसँग लिभिङ रुममा बास माग्ने समय आएको छ,’ रसिक हाँसे। -साभार सेतोपाटीबाट