१४ वैशाख, काठमाडौं । वैशाख ९ गते पार्टी एकता टर्ने निश्चित भएपछि माओवादी केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले एमालेभित्रै कुरा निमलेकाले एकीकरण लम्बिएको ब्रिफिङ गरे ।

अझ अघि बढेर माओवादी नेताहरुले नाम उल्लेख नगर्न भन्दै माधव नेपालले माओवादीलाई ५० प्रतिशत कुनै हालतमा दिन नहुने भनेर ओलीलाई दबावमा पारेको समाचारसमेत मिडियाहरुबाट प्रवाह गराए ।

त्यसैदिन अर्थात वैशाख ९ गते नै ब्यानर विवादले राष्ट्रिय सभागृहको कार्यक्रम ढिला भएपछि शीर्ष नेताहरुको बैठकमा माधव नेपालको विमतिको कुरा उठ्यो । एमाले महासचिव ईश्वर पोखरेलले ‘तपाईले त हाम्रो माधव कमरेडले गर्दा मिलेन भनेर बैठकमा ब्रिफ गर्नुभएछ’ भनेपछि प्रचण्डले खण्डन गरे । त्यो कुरा प्रचण्डले लगत्तै आफ्नो भाषणा पनि सुनाएका थिए ।

त्यसको केही दिन अघिमात्रै माधव नेपाल प्रचण्डलाई भेट्न खुमलटारस्थित प्रचण्डनिवासमै पुगेका थिए । पछिल्लो समय एमाले- माओवादी एकीकरण प्रक्रियामा माधव नेपाल रिजिड बनेको आरोप माओवादी पक्षले लगाइरहँदा नेपाल भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काँध थापेर हिँडेका छन् ।

करिब चार वर्षदेखि ओलीसँग जुध्दै आएका नेपाल पार्टी एकतापछि हुने महाधिवशेनबाट अध्यक्षका दाबेदार हुन् भन्ने कुरा उनले अनलाइनखबरसँग लुकाएनन् ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा लामो कुराकानीका क्रममा नेपालले एकीकृत पार्टीको नेतृत्व गर्ने आफ्नो आकांक्षा लुकाउन सकेनन् । उनले भने- मलाई यसैपालि प्रचण्डजीले राष्ट्रपतिमा जानुस भनेर कर गर्नुभएको थियो ।

अघिल्लोपटक केपी कमरेडले पनि राष्ट्रपति बनाउन खोज्नुभएको हो । तर, मैले उमेर पुगेको छैन भनेर ठट्टा पनि गरेँ । खासमा म कार्यकारी भूमिकामा रहने मान्छे हो, उमेर पनि छ । सक्रियताले पनि त्यही भन्छ ।

एमाले नेता नेपालले प्रचण्डलाई महाधिवशेनपछिको कुरामा संशय नलिन त भने, तर महाधिवेशनपछि अध्यक्ष हुन पाइन्छ कि पाइन्न भनेर सोच्दा दशथरि रोगब्याधी लाग्ने भएकाले महाधिवेशनपछिको कुरा अहिले नसोच्न आग्रह गरे ।

महाधिवेशनपछिको अध्यक्ष ग्यारेन्टी गर्न नसकिने पनि नेता नेपालले प्रष्ट पारे । साथसाथै माओवादीलाई केन्द्रीय कमिटीमा बराबरी संख्या दिन नसकिने एमालेको लाइन पनि उनले सुनाए ।

अनि शुरु भयो एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग अनलाइनखबरको कुराकानी :

पार्टी एकीकरणको प्रक्रिया अघि बढिरहँदा तपाईका कतिपय अडानका कारण अध्यक्ष केपी ओलीलाई पनि अप्ठेरो पारेको हो ? जस्तो- माओवादी बैठकमा तपाई अलि बढी कठोर हुनुभयो भन्ने चर्चा चलेको सुनियो…

मेरा कुनै पनि विमतिहरु छैनन् । जुन-जुन विषयहरु मेरा सामु प्रस्तुत भएका छन्, ती विषयमा केही छैन । भित्रभित्र अरु कुरा भएका छन् भने त्यो मेरो सरोकारको कुरा रहेन । बाहिर पेपरमा आएका विषयमा म टिप्पणी गर्दिनँ ।

एकताको सन्दर्भमा हामीले दुईटा दस्तावेज पार्टी एकता संयोजन समितिमा पेश गरिसकेका छौं । राजनीतिक प्रतिवेदन मैले नै पेश गरेको छु । विधान पनि पेश भएको छ । अब केन्द्रीय कमिटीको एकीकरणको कुरा मिलाउन बाँकी छ । त्यो पनि अब हुन्छ ।

संसदको सिट बाँडफाँड सहज भयो, यसबीचमा दस्तावेज लेखन सकेर पनि एकीकरणको प्राविधिक काम किन रोकियो त ?

अब एउटा त जसरी समय दिएर छलफल गर्नुपर्ने हो, त्यो भइरहेको छैन । जसरी खुलेर छलफल गर्नुपर्ने हो, त्यो पनि भइरहेको छैन । छिनोफानो हुने गरी कुरा भएको छैन । जुन हिसाबले प्राथमिकता पाउनुपर्ने हो, यो विषयले पाइरहेको छैन ।

दुईटा पार्टी त समान नै हुन् नि । नेपाल र भारत समान होइनन् ? समानतामा आधारित भनेको राजनीतिकरुपमा भनेको हो, सांगठनिक रुपमा चाहिँ होइन ।

वैशाख ९ गते एकता नहुने भएपछि मैले नै भनेको थिएँ, हामी खाली निजीगत कुरा नगरौं । गर्न सक्छौं भने गरौं, होइन भने नबोलौं भनेको हो । सातदिनको तयारीले एकीकरण हुँदैन भनेकै हो । आखिर मैले भनेकै जस्तो भयो । त्यसैले समय दिनुपर्‍यो । ‘टु दी प्वाइन्ट’मा कुरा गर्नुपर्छ ।

त्योचाहिँ अब के कुरामा अड्कियो त ?

पहिले त केन्द्रीय कमिटी चाहियो । विनाकेन्द्रीय कमिटी पार्टी एकता हुँदैन । केन्द्रीय कमिटीका सदस्यहरुले हस्ताक्षर गरेर निर्वाचन आयोगलाई पठाउनुपर्छ । त्यसो नगरी त एकीकरण हुँदैन ।

केन्द्रीय कमिटीमा को बस्ने भन्ने टुंगो नलागी सही गर्ने कसले ? त्यसपछि पोलिटव्यूरो, स्थायी कमिटी पनि बनाउनुपर्छ । बैठक कसले बस्ने भन्ने पनि त टुंगो लगाउनुपर्छ नि । यस्ता विषय टुंगो नलगाई नेताहरु जिल्ला घुमेर पनि ढिला भइरहेको छ ।

मूल जिम्मा पाएका व्यक्तिले धेरै जिल्ला घुम्ने होइन, आफ्नो मुख्य काममा केन्दि्रत हुनुपर्छ । घुम्ने काम त हामीजस्तालाई दिए भइगो नि ।

तपाईको मतलब केपी ओली र प्रचण्डलेमात्रै सबै कुरा केन्द्रित गर्दा अप्ठेरो भयो भन्ने हो ?

दुईजनाले मात्र पनि हुँदैन । तीन/चार जनाको सानो टिम बनाउँ भनेको हो । तपाईहरु दुईजनाले क-कसलाई बोलाउने हो, तय गर्नुस् भनेको हो । उहाँहरु दुईजनाले अरु एक/दुई जनालाई थपेर वर्कआउट गर्नुपर्छ ।

केन्द्रीय कमिटीमा को को रहने भन्ने सन्र्दमा व्यक्तिको योग्यता, क्षमता, इतिहास, योगदान हेर्नुपर्छ । दुवै पार्टीमा विभिन्न समूहबाट आएका व्यक्तिहरु छन् । यी सबैलाई कसरी समेट्ने भन्ने कुरा पनि मिहीन ढंगले छलफल गर्नुपर्छ ।

प्रदेश कमिटी, जिल्ला, स्थानीय तह, भातृ संगठनलाई कसरी एकीकरण गर्ने ? यस्ता एकभारी काम बाँकी छन् । एउटा सानो छरितो टिम बनाएर जिम्मा दिइयो भने जम्मै तथ्य तथ्यांकहरु ल्याएर छलफल गर्न सकिन्छ भनेको हो मैले ।

यसबीचमा माओवादीले पार्टी एकीकरणमा आफ्नो पोजिसन प्रष्ट पारेको छ । उसले भनेको छ कि सम्मानजनक, समानतामा आधारित र न्यायोचित एकता हुनुपर्छ । यसमा एमालेको पोजिसनचाहिँ के हो ?

यो तीन शब्द माओवादीले ल्याएको होइन । योचाहिँ कमरेड केपी ओलीले भन्नुभएको हो, मेरै साम्नेमा । स्वभाविक हो, सम्मानजनक हुन्छ, अपमानजनक हुँदैन । समानतामा आधारित पनि हुन्छ । दुईटा पार्टी त समान नै हुन् नि । नेपाल र भारत समान होइनन् ? समानतामा आधारित भनेको राजनीतिकरुपमा भनेको हो, संागठनिक रुपमा चाहिँ होइन ।

तेस्रो कुरा, न्यायोचित भनेको पनि कमरेड केपी ओलीले नै भनेको हो । कुनै व्यक्तिलाई ल्याउँदा अर्को व्यक्तिमाथि अन्याय नहोस भन्ने हो । त्यसकारण सिद्धान्तमा समस्या रहेन, व्यवहारमा मिलाउन बाँकी रहेको छ ।

अब केन्द्रीय कमिटी एकीकरण गर्ने भनेपछि व्यक्तिको ठ्याक्क नाम ल्याउनुपर्‍यो । त्यो व्यक्तिको योग्यता क्षमता र आवश्यकता हेरिन्छ अनि निर्णय हुन्छ ।

मानौं, २९९ सदस्यीय केन्द्रीय कमिटी भन्नुभएको छ, त्यसमा एमालेका कति माओवादीका कति ?

मोटामोटी कति कति भन्ने कुरा दिमागमा त हुन्छ । तर, हामीले अहिले प्रतिशत नतोकौं भनेको हो । दुवै पार्टीको महाधिवेशनमा कति मान्छे थिए ? बीचमा आएका कति छन् ? त्यो पनि हेर्नुपर्छ । उता (माओवादीमा) त्यतिकै ४ हजार केन्द्रीय सदस्य बनाइएको छ ।

चार हजार नै त केन्द्रीय कमिटीमा पर्दैनन् । हेटौंडा महाधिवेशनबाट कति आएका थिए ? बिराटनगर सम्मेलनमा कति भनेको थियो ? ती डकुमेन्टहरु पनि आउलान् अनि कुरा हुन्छ ।

त्यसमाथि पनि मैले सुनेको किरण वैद्यजीहरुले बढ्ता माके-माके भनेर गिज्याउने गर्नुहुँदो रहेछ उहाँहरुलाई । माके राखेको पनि उहाँहरुको चित्त दुःखाइ भएछ ।

हेटौंडाबाट त माओवादीले ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो, अहिले तपाईहरुले त्यही संख्या मिलाउन खोजेको हो कि ?

त्यही त मैले भनेँ नि । हाम्रो एमालेको महाधिवेशनबाट निर्वाचित २ सयजना सदस्य छन् । उहाँहरुका कति हो, हेरौं ।

माओवादीले भनेजस्तो ५०/५० चाहिँ तपाईले ठाडैं अश्वीकार गर्नुभएको हो ?

पचास/पचास त हाम्रो केन्द्रीय कमिटीले र पार्टी अध्यक्षले प्रष्ट भनिसक्नुभएको छ, त्यो हुँदैन । उहाँहरुले पनि पचास/पचास नै मागेको जस्तै लाग्दैन । त्यसरी भन्नुभएको छैन ।

केन्द्रीय कमिटीमा पनि हामीले सबै पक्ष हेर्नुपर्छ । मेरो जोड के छ भने मान्छे हेरौं । सबैजना नेकपाको मान्छे भएपछि सबैभन्दा योग्य, समक्ष मान्छे हेरेर केन्द्रीय कमिटी बनाउनुपर्छ । को एमाले, को माओवादी भन्ने नै रहँदैन नि एकीकरणपछि त ।

माओवादीको चासो त्यसोभए के मा रहेछ त ?

त्यस्तो उहाँहरुको प्रष्ट केही थाहा भएको छैन ।

एमालेमै मिलेको छैन भन्ने प्रचण्डको ब्रिफिङ रहेछ नि ?

एमालेमा सबै कुरा मिलेको छ । एमालेमा समस्या छैन । एमालेमा द्वीविधा पनि छैन । मैले त्यसैले मुख खोल्नुपर्ने समयनै आएको छैन । अहिले एमालेमा समस्या नै छैन । अध्यक्षले भनेको कुरा अनुसार नै मैले बुझिरहेको छु ।

त्यसोभए प्रचण्डको व्यवस्थापनले एकता रोकिएको भनेर बुझ्दा सही हुने भयो होइन ?

होइन । सबै नेताहरु हामीजस्ता पार्टी हाँकेर आएका नेताहरुको व्यवस्थापन हुने बारेमा अवश्य छलफल गर्नुपर्छ । कसैको पनि भविष्य असुुरक्षित गर्ने भन्ने हुँदैन । व्यक्ति कुनै एक जनाको कुरा होइन, व्यवस्थापन सबैको हुनुपर्छ ।

महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष निश्चित गर्ने र अहिले कार्यकारी भूमिका चाहिँ उहाँलाई नै दिनुपर्ने शर्त पनि आएको हो माओवादीबाट ?

हामीसमक्ष औपचारिक रुपमा त्यस्तो कुरा आएको छैन । निश्चित गर्नुपर्ने कुरा उहाँसँग (ओली) भनेको हो भने थाहा छैन । क-कसको पदको एस्योर गर्नुपर्ने हो, गरौं । तर, महाधिवेशनले अध्यक्ष बनाउने कुरा अहिले एस्योर गर्न सकिन्न ।

महाधिवेशनका बारेमा केही पनि भन्न सकिन्न । कोही पनि व्यक्ति उठ्न पाउँदैन भनेर कसले भन्ने ? जुन-जुन नेताबीच त्यस्तो आकांक्षा छ, सबै नेताहरुको व्यवस्थापनको बारेमा टुंगो लगाउनुपर्छ ।

क-कसको एस्योर गर्न बाँकी छ, त्यो मलाई थाहा छैन । एकजनाको मात्र एस्योर गरेर हुन्छ ? अरुको कुरा उठ्यो भने के गर्ने ? अरु नेताचाहिँ द्वारपाले हुन् ? यो कुरा त उठ्छ नि । महाधिवेशनमा उठ्ने कुरा अहिले कसरी एस्योर होला र ?

आउँदो महाधिवेशन त सहमतिकै आधारमा गर्ने भनिसक्नु भयो नि होइन र ?

महाधिवेशन त प्रतिस्पर्धा गरे पनि सहमतिबाट हो, नगरे पनि सहमतिबाट हुन्छ ।

वैशाख ९ गतेको ब्यानरकाण्डले चाहिँ तपाईहरुबीच मन मिलेकै रहेनछ भन्ने देखायो होइन ?

त्योचाहिँ कामको तरिकामा रहेको त्रुटी हो । गर्ने भनेपछि पार्टी एकता संयोजन कमिटीको बैठक बसेर गर्नुपथ्र्यो । दुईजनाले तय गर्नुभयो, कसरी गर्ने भन्ने भएन । काम गर्ने भनेर हुँदैन, त्यसको तरिका पनि तय गर्नुपर्छ । कसरी गर्ने भन्ने कुरामा त्यहाँ छलफल भएको देखिएन ।

दुई पक्षले कार्यक्रम गर्ने भनेपछि एउटा-एउटा मान्छे राखिदिएको भए कसले बोल्ने, कस्तो ब्यानर राख्ने भन्ने टुंगो लाग्थ्यो । त्यसमा धेरै विवाद गर्नुपर्ने जरुरी थिएन होला ।

अर्को कुराचाहिँ माओवादी केन्द्रको नामको एबि्रबिएसन राखेकोमा पनि उहाँहरुको चित्त दुखेको रहेछ । एमालेको नाम पपुलर छ, उहाँहरुको नाम माओवादी पपुलर छ, त्यो राखेको भए हुनेथियो । तर, त्यसमा नेकपा (माके) राखिए ।

त्यसमाथि पनि मैले सुनेको किरण वैद्यजीहरुले बढ्ता माके-माके भनेर गिज्याउने गर्नुहुँदो रहेछ उहाँहरुलाई । माके राखेको पनि उहाँहरुको चित्त दुःखाइ भएछ । यस्ता कुरामा ध्यान दिनुपर्छ ।

एमालेले हेप्यो, बराबरी संख्या चाहिन्छ भनेको त्यही कारण होला होइन ?

बराबरी भन्ने त हुन्न । एमालेको २ सय छ भने उहाँहरुले पनि २ सय भन्ने आधार के हो ? त्यो पनि आवस् । जनमत पनि हेरौं, संगठनको आधार पनि हेरौं । महाधिवेशनबाट नआएका मन्छेलाई अहिले ल्याइहालौं ठेलिहालौं भन्ने हुँदैन । कुनै न कुनै ठाउँमा निर्वाचित भएका मान्छे त आउनुपर्छ नि ।

तपाईले जनताको बहुदलीय जनवादमा अडान लिएर केही समयअघि पनि एकता अवरुद्ध भयो,अहिले पनि संख्यामा अडान लिनुभएको हो ?

जबजको पक्षमा मैले अडान लिएकै हो । त्यसमा मेरो प्रतिवद्धता कायम छ । अहिले त्यसमा दुवै पक्षको धारणा मेल नखाएकाले महाधिवेशनसम्म छलफलमा लगिएको छ ।

अहिले सहमतिको कुरामात्र राख्ने भनेकोले महाधिवेशनमा के हुन्छ त्यसमा हेरौंला । जहाँसम्म संख्याको कुरा छ, पचास/पचास हुँदैन भनेर हाम्रो अध्यक्षले नै भनिसक्नुभएको छ । माओवादीले पनि पचास/पचास भनेको छैन ।

अनि जनयुद्ध शब्द स्वीकार गर्न के गाह्रो भयो ?

जनयुद्ध शब्द राखेको छ । माओवादी जनयुद्धबाट आएकाले उसको अस्थित्व अस्वीकार गर्न मिल्दैन । जनयुद्धको भूमिकाबारे सकारात्मक नकारात्मक समिक्षा होला ।

जस्तो- हामीले झापा क्रान्तिबारे सकारात्मक र नकारात्मक दुबै कुरा भन्छौं । तर, कुनैबेला हामी पनि त्यसको नकारात्मक कुरा सुन्नै चाहान्नथ्यौं । उहाँहरुमा पनि आउला विस्तारै ।

अनि प्रधानमन्त्री आलोपालो पनि लिखितरुपमै गर्ने हो ?

प्रधानमन्त्रीमा लेखेर दिनुपर्ने भन्ने कुरा आएको छैन । उहाँहरु दुईबीच सहमति हुन्छ भने हामी असहमत हुने कुरा छैन । तर, प्रधानमन्त्री भनेको सरकारको स्थिरतासँग जोडिएको कुरा हो, यसमा बढ्ता बहस जरुरी छैन ।

अलि फरक प्रसंगमा जाउँ, तपाई पछिल्लो समय अध्यक्ष केपी ओलीसँग मज्जैले मिल्नुभयो होइन ?

नेताहरुको बीचमा समझदारी बढोस् भन्ने चाहाना सबैको छ । मैले त्यसका लागि केही आधार दिएको छु । पहिलो कुरा, पार्टीका कमिटीहरु संस्थागत ढंगल चल्नुपर्छ । दोसो, विषयवस्तुमा छलफल गर्ने र सहमति वा विधि प्रक्रियाबाट टुंगो लगाउने ।

तेस्रो भनेको कार्यकर्ताको बैज्ञानिक मूल्यांकन गरेर कामको जिम्मेवारी दिने । चौथो पारदर्शिता अपनाउने । अनि पाँचौ, नेताहरुको नियमित संवाद, भेटघाट र विश्वास तथा समझदारी सिर्जना गर्ने । निजी लेनदेनका आधारमा होइन, यी आधारमा पार्टी चल्नुपर्छ भनेको छु । योबाहेक अरु कुरामा मिलेको होइन ।

बीचमा महाधिवेशनपछि धेरैपटक फरक अडान राख्नुभयो, अब कति जुध्ने भनेर छाडेको हो कि ?

यी सबै कुरामा सुधार होला भनेर हो । कति सुधार भएको छ, छैन मैले अहिले बोल्ने बेला होइन । आँखा खुल्नुपर्‍यो, हृदय चौडा हुनुपर्‍यो । योग्य मान्छे छान्दा एकखाले मात्रै नपरुन् भन्नेमा जोड दिनुपर्छ । मूल्यांकन गरौं, गुट चलाउने काम नगरौं ।

भनेपछि तपाईले गुट चलाउन सक्नुभएन ?

मेरो स्वाभाव सबैलाई समेट्ने छ, हेर्नुस् । होइन, चलाउने नै प्रतिस्पर्धा हो भने चलाउन त सक्छु । चलाउने नै प्रतिस्पर्धामा उत्रिने भने गुट चलाएरै देखाउँछु । तर, म त्यसमा रुची राखिरहेको छैन ।

कहाँ जिम्मेवारी दिने कुरा छ भने, मान्छेको नाम लिष्ट ल्याउनुस् भनेर जहिले पनि जोड दिने गरेको छु । आवस् न नामहरु, रोष्टर बनाएर छलफल गरौं ।

मानिलिउँ राजदूत बनाउनुछ भने आवस न ५० जनाको नाम । अहिले योजना आयोगकै कुरा गरौं, कुनै चिन्दै नचिनेका नाम आएका छन् । कसले कहाँबाट ल्याए केही थाहा छैन । यस्तो हुनुहुँदैन भनेको हो ।

हिन्दीमा भएको एउटा कहावत चारु मजुमदारले सुनाउथे । सरोज दत्तले जहिल्यै पनि मेरा क्या होगा भनेजस्तै नगरौं । महाधिवेशनपछि के होला भनेर सोच्यो भने दशवटा रोगब्याधी आउँछन् । अहिले नै महाधिवेशनपछि म हुने कि नहुने भन्ने चिन्ता नगरौं ।

अनि मन्त्री चयनमा चाहिँ कस्तो भयो ?

मन्त्रीमा आमरुपमा राम्रो भएको छ । आउनुपर्ने नाम आएका छन् । यसमा धेरै टिप्पणी नगरौं भनेको छु ।

तपाईले केपी ओलीलाई काँध थापेको प्रधानमन्त्रीका रुपमा हो कि, पार्टी अध्यक्षलाई ?

काँध थापेको हो । यो सरकार सफल भए पार्टी बलियो हुन्छ, देश पनि बलियो हुन्छ । यो सरकार बलियो हुनुपर्छ । यो सरकार असफल भयो भने जनताको ठूलो भरोसामाथि धोखाधडी हुन्छ । यो सरकार पनि सफल होस् र पार्टी पनि त्यही हिसाबले व्यवस्थितरुपमा चलोस् भन्ने मेरो चाहना हो ।

त्योअनुसार भएको छ त ?

अहिले सोच, भिजन र चाहना त आएको छ । एउटा अंग्रजीमा उखान छ, यदि चाहना घोडा भइदिएको भए मगन्तेहरु पनि घोडा चढ्थे । चाहना भएरमात्र हुँदैन, व्यवहारमा रुपान्तरण गर्नुपर्छ । प्रधानमन्त्रीले अब त्यता ध्यान दिनुपर्छ ।

तपाईले ओलीलाई सघाइरहँदा महाधिवेशनमा तपाईलाई साथ दिएकाहरु चाहिँ उनीहरुलाई छाड्नुभएको हो कि भनेर झस्किएका छन् होइन एमालेभित्र ?

झगडा गरेरमात्र हुँदैन । कतिपय कुराका बारेमा हामीले गम्भीरतापूर्वक छलफल गर्ने भनेको छौं । पेपर प्रस्तुत भएको छ, त्यसमा पनि छलफल गर्ने भनेको हो । तर, समय मिलिरहेको छैन । छलफल गर्ने भनेको मन माझामाझ गर्ने नै हो । सधैं झगडा गरेर हुँदैन ।

महाधिवेशनमा म पनि अध्यक्षको प्रतिस्पर्धामा थिएँ । उहाँले अध्यक्षमा जित्नुभयो, मैले सधैं मन दुःखाएर हुन्छ ? एक भोटले जिते पनि जितेकै हो । एकले अर्कोलाई निषेधचाहिँ गर्नुहुँदैन ।

अब पार्टी एकीकरणपछि केपी ओलीको समर्थनमा तपाई अध्यक्ष बन्ने आशंकाले पनि पार्टी एकीकरणमा केही समस्या त आएकै हुन् नि ?

मान्छेलाई त्यस्तो कुरा पर्नु अस्वाभाविक होइन । मैले आठौं महाधिवेशनमा पनि अध्यक्षबाट आफैंपछि हटेको हो । नवौंमा प्रतिस्पर्धामा गएको हो । मलाई यसपटक पनि राष्ट्रपतिमा पठाउन प्रचण्डजीले कोशिश गर्नुभएको थियो । यसअघि ओलीजीले पनि भन्नुभएको हो । त्योबेला ठट्टा गरेर उमेर पुगेको छैन पनि भनेँ ।

खासमा मेरो स्वाभाव कार्यकारी खालकै छ, त्यसैले मैले राष्ट्रपतिमा रुची नराखेकै हो । सक्रिय राजनीतिमा रहँदा कस्तो भूमिका कार्यकर्ता र समयले माग्छन्, त्यही गर्ने हो । पद नपाउँदैमा केही हुँदैन । हामीलाई कसैले माइनस गर्न सक्दैन । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हाम्रो व्यक्तित्व उठिसकेको छ । धेरै चिन्ता गर्ने होइन ।

तर, प्रचण्डलाई आशंका त भयो नि ? आगामी महाधिवेशनमा ओलीले तपाईलाई पो अघि बढाउने हुन् कि भनेर ?

पछि-पछिको कुरा के होला भन्नेतिर नजाउँ । हिन्दीमा भएको एउटा कहावत चारु म्ाजुमदारले सुनाउथे । सरोज दत्तले जहिल्यै पनि मेरा क्या होगा भनेजस्तै नगरौं । महाधिवेशनपछि के होला भनेर सोच्यो भने दशवटा रोगब्याधी आउँछन् । अहिले नै महाधिवेशनपछि म हुने कि नहुने भन्ने चिन्ता नगरौं । समय आएपछि सबै ठिक हुन्छ ।

१० वर्षसम्म पार्टी सत्ताको कमाण्ड बाहिरै रहनुभयो, अहिले फर्केर हेर्दा चुनाव हार्दैमा किन राजिनामा दिएँछु जस्तो लाग्दैन ? आखिर पार्टीहरु त चुनाव हारेकै छन् । तर, राजस्नामा शेरबहादुर देउवाले पनि दिएनन् । तपाईले चाहिँ त्योबेला महासचिवबाट राजिनामा दिएर गल्ती भएछ जस्तो लाग्दैन ?

यी सबै कुरा समीक्षा गर्दै जाउँला । मैले आफ्नो जग्गा पार्टीलाई दिएँ, अरु कुनै नेताले दिएका छैनन् । आठआना जग्गा कलंकीमा अहिले आनाको कति पर्छ, सोच्न सकिन्न । त्यो दिँदा ठीक भयो कि भएन भन्ने मेरो मनमा पनि आउँछ । जब कुनै मूल्यांकन हुँदैन भने किन दिएँछु भन्ने पनि हुन्छ ।

मैले अरु नेताले पनि देलान् भनेर दिएको हो, तर पार्टीले त्यसको कुनै चर्चा नगर्दा, लेखो नगर्दा कहिले कहीँ चित्त दुःख । बेकार दिइएछ पनि लाग्छ । जहाँसम्म राजीनामाको कुरा छ, म पदको निम्ति हुरुक्क हुने मान्छे होइन । प्रधानमन्त्रीबाट पनि राजिनामा दिएँ ।

पार्टीको महासचिवबाट पनि राजीनामा दिएँ । नदिएको भए पनि हुन्थ्यो, तर दिएँ । त्यसैले यस्ता कुरामा धेरै चर्चा नगरौं । हिन्दीमा एउटा भनाइ छ- पर्दे मे रहेने दो, पर्दे नउठाओ, पर्दे उठाए त भेद खुलजाएगा ।

बाहिर जे-जे भनिए पनि मूलतः तपाई र केपी ओली मिलेपछि भावी अध्यक्षमा प्रचण्डले तपाईबाट असुरक्षित महशुस गर्नुभयो, त्यो संशय नहटेसम्म एकता अलि गाह्रो होला कि ?

केही सशंकित हुन जरुरी छैन । हामी दुबैजना बसौं । प्रचण्डजीले हिजो पनि भन्दै हनुहुन्थ्यो तपाई र म बसेर कुरा गर्नुपर्ने जरुरी छ । बसौं, कुराकानी गरौं भनेको छु । कस्ता-कस्ता समस्या त हल गर्‍यौं भने हामीले अहिले सशंकित हुनुपर्ने कुरा केही पनि छैन ।

नेपालमा बलियो सरकार बनेको छ, स्थायीत्वतर्फ गएको छ । अब लगानीको वातारण बनेको छ भन्ने चीनको ठम्याइ छ । अब चाँडै नै राष्ट्रपति सी जिनपिङ पनि नेपाल आउँदै हुनुहुन्छ ।

अर्को प्रसंगमा कुरा गरौं, तपाई भर्खरै चीनबाट फर्किनुभयो, नरेन्द्र मोदी चीन पुगेका छन् र चाँडै नेपाल आउँदैछन्, त्रिदेशीय साझेदारीमा नेपालको सम्भावना कस्तो देख्नुभएको छ ?

राम्रो सम्भावना छ । जति धेरै चीन र भारतबीच समधुर सम्बन्ध हुन्छ त्यसको लाभ नेपालले लिन्छ । चीनबाट भारतले लाभ लिने, चीनले भारतबाट लाभ लिने र दुवैबाट नेपालले लाभ लिने हो । मोदीजी आउँदै हुनुहुन्छ । हाम्रो प्रधानमन्त्रीले पनि भारतको भ्रमण गर्नुभयो । अब राम्रो संकेत देखेको छु मैलेचाहिँ ।

तर, हाम्रोतर्फबाट हालै चीनमा भएको बोआओ फोरममा सहभागिता नहुँदा चीनले गुनासो गरेको हो ?

चीनको कुनै गुनासो छैन । नेपालमा बलियो सरकार बनेको छ, स्थायीत्वतर्फ गएको छ । अब लगानीको वातारण बनेको छ भन्ने चीनको ठम्याइ छ । अब चाँडै नै राष्ट्रपति सी जिनपिङ पनि नेपाल आउँदै हुनुहुन्छ । हाम्रोतर्फबाट पनि प्रधानमन्त्रीको भ्रमण हुन्छ ।

छिमेकीसँग सम्बन्ध राम्रो बनाउन यो सरकार अघि बढेको छ । चीनले भारतसँगको सम्बन्ध पनि राम्रो होस् भन्ने नै चाहेको छ । अब नेपालको वैदेशिक सम्बन्ध धेरै राम्रो हुने देखिरहेको छु ।

तपाईले त केही समयअघि उत्तर कोरिया भ्रमण गर्दा पनि ठूलो विवाद भयो नि होइन ?

हामी आफ्नो क्षमतलाई नै पहिचान गर्दैनौं । बरु विदेशीले पहिचान गर्दा रहेछन् । मेरो त्यो भ्रमण रोक्न दुनियाँ लागे । मलाई त तत्कालिन सरकारले समातेर मुद्दा चलाउला कि जस्तो पनि गरे । ज्ञानेन्द्रको कालमा राष्ट्रद्रोहको मुद्दा लगाउछु भनेर कमल थापाजी कुर्लिएका थिए । त्यस्तै गर्न खोजे ।

तर, यो बुझेनन् कि हामीसँग शान्ति प्रक्रिया टुंगो लगाएको अनुभव छ । कस्ता-कस्ता द्वन्द्व समाधान गरेको अनुभव छ । मलाई फिलिपन्सका सभामुखले, दक्षिण अमेरिकाका नेताले, अमेरिकाका सिनेटरले उत्तर कोरिया जान उत्प्रेरित गरेका थिए । मलाई कति गाह्रो परेको थियो, तर पनि मैले आँट गरेँ ।

मैले त्यहाँका राष्ट्रपति, पार्टीका तीनजना उपाध्यक्षसँग अलग-अलग कुराकानी गरेँ । उहाँहरुले मेरो कुरा शुरुमा नमिठो मानेजस्तो गर्दै हुनुहुन्थ्यो, तर पछि कति सहज र सुमधुर हुनुभयो, मलाई सबै सम्झना छ ।

गाह्रो कुरालाई सहज बनाउनु नै नेतृत्वको खुबी हो नि । आज हेर्नुस दुवै कोरियामा उच्चस्तरीय भ्रमण भइरहेका छन् । उत्तर कोरियाका नेता दक्षिण पुगेका छन् । अब छिटै ट्रम्प र सी जिन पिङ पनि जाने कुरा छ । द्वन्द्व समाधानको कुरा खाली अमेरिका र युरोपेली मात्र गर्न सक्ने, हामी नेपालीले गर्न नसक्ने ? हामीसँग खुबी छैन ? हामीसँग अनुभव छैन ? यसमा बहस जरुरी छ । -अनलाइनखबरबाट