डा‍‍. महेशराज पन्त

काठमाडौं, १५ बैशाख । नेपालको पुराविद्याको खोजी गर्ने जीवित नेपाली विद्वान्हरूमा वर्षिष्ठ अर्थात् सबभन्दा वृद्ध र विद्यावृद्ध ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)को ठूलो अवदान नेपालको राजनीति–इतिहासको, नेपाली साहित्यको र नेपालमा रचिएको संस्कृत साहित्यको खोजीमा छ।

जंगबहादुर (वि.सं. १८७४–१९३३, शासनकाल वि.सं. १९०३–१९३३) देखि चन्द्रशमशेर (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६) सम्मका श्री ३ हरूले आफैँ र सन्धिविग्रह अर्थात् आजभोलिको भाषामा परराष्ट्र मामिला हेर्ने मुन्शीखानाका अधिकृतहरूले रेजिडेन्ट र भाइसरायसँग गरेका संवाद र पत्रव्यवहार, त्यसपछि मकवानपुरराज्यका राजा हरिहर सेनदेखि चौदण्डीका अन्तिम राजा कर्ण सेनसम्मले दिएका बिर्ताका निकै स्याहामोहर र जिमीदारी खानगीका केही स्याहामोहर ज्ञानमणि नेपालद्वारा झण्डै ४ वर्ष यतादेखि साप्ताहिक खबरपत्रिका ‘हिमाल’मा प्रकाशित हुँदै आएकाले नेपाली इतिहासका अनुद्घाटित निकै पाटाको उद्घाटन भएको छ।

अनुद्घाटितकान्तिपुरराज्यका राजा प्रताप मल्ल (वि.सं. १६८०–१७३१, राज्यकाल वि.सं. १६९८–१७३१)ले दूधकोशीको इलाकामा कुशबिर्ता दिई गरिदिएका ४ वटा दानपत्र यही ‘हिमाल’को सबभन्दा पछिल्लो अंकमा ज्ञानमणि नेपालद्वारा प्रकाशित छ (‘रावा डुम्रेमा प्रताप मल्लका चार बिर्ता’, ५८७ पूर्णाङ्क, २०७५।१।९–१५, ११ पृ.) । ती कागजातमा नाउँ किटिएका ठाउँमध्ये धेरैजसो खोटाङ जिल्लामा भएकाले दूधकोशीसम्म प्रताप मल्लको राज्य पुगेको देखिएको छ । प्रताप मल्लले कुशबिर्ता दिई गरिदिएका ती दानपत्र हेर्दा मनमा खेलेका कुरा तल लिपिबद्ध गर्दैछु।

कान्तिपुर राज्यको विस्तार बराबर परसम्म पनि पुग्थ्यो भन्ने देखिन गएको छ भनी भनिरहनुनपर्ला । यस कारण प्रताप मल्लले दूधकोशीइलाकाका रावा डुम्रेमा कुशबिर्ता दिई गरिदिएका दस्तावेजबाट कान्तिपुरराज्य पूर्वपट्टि गएकाे थप प्रमाण जुटेको छ।

कान्तिपुरराज्यको राजधानीभन्दा ३ कोस पर पूर्वमा भक्तपुरराज्यको राजधानी र १ कोस पर दक्षिणमा ललितपुर राज्यको राजधानी भए पनि यी राज्य परपरसम्म पैmलिएका थिए । त्यसमाथि, विजिगीषु राजाहरू छिमेकी राज्यको इलाका अँठ्याई आफ्नो राज्य बढाउने उद्योग गरिरहन्थे । यस्ता राजाहरूमा कान्तिपुरका शिवसिंह (निश्चित राज्यकाल वि.सं. १६३९–१६७५) अग्रगण्य थिए । आफ्ना वृद्धप्रपितामह अर्थात् बराजुका बाजे यक्ष मल्ल (वि.सं. १४६५–१५३८, राज्यकाल वि.सं. १४८५–१५३८) बितेपछि सामन्तराज्यको रूपबाट स्वतन्त्र राज्यको रूपमा उदाएको दोलखाराज्यलाई शिवसिंह वि.सं. १६५२ मा आफ्नो राज्यमा मिलाउन समर्थ भए।

दोलखा जितेकै ताका उनले लिस्ती, केरुङ, मकवानपुर र सिँधुली पनि जिते (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, ‘दोलखाको ऐतिहासिक रूपरेखा’, नेपाल र एशियाली अध्ययनसंस्थान, काठमाडौँ, २०३१, ३८ पृ.= गौतमवज्र वज्राचार्य, ‘हनूमान्ढोका राजदरबार’, नेपाल र एशियाली अध्ययनसंस्थान, काठमाडौँ, २०३३, १९ पृ.) । यसै गरी, यक्ष मल्लपछि स्वतन्त्र भएको ललितपुरलाई पनि दोलखा जितेको २ वर्षपछि वि.सं. १६५४ मा आफ्नो राज्यमा मिलाउन शिवसिंहले सके (महेशराज पन्त, ‘पाटनका राजाको रूपमा शिवसिंह मल्लको पाइएसम्ममा पहिलो लिखत’, ‘पूर्णिमा’ ९४ पूर्णाङ्क, २०५५, ६०–६१ पृ.) ।

यसैले शिवसिंहका जनाति पार्थिवेन्द्र मल्ल (वि.सं. ?–१७४४, राज्यकाल वि.सं. १७३७–१७४४)ले आफ्नो वंशावलीको वर्णनमा आफ्ना बराजुका बाबुको विषयमा लेख्दा यस्तो—
‘तस्माच्छीशिवसिंहमल्लनृपति–
र्विख्यातनामाभवद् …
मोरङ्गावनिपालपालक इह
प्राप्तप्रतापोदयः’
(घनश्याम सुवेदी आदि, ‘पार्थिवेन्द्रमल्लस्याभिलेखः’, ‘संस्कृत–सन्देश’ १ वर्ष १०–१२ अङ्क, २०१०, २४ पृ.)
अर्थात् ‘उहाँबाट (महेन्द्र मल्लबाट) मोरङका राजामा प्रतापको उदय भएका, प्रख्यात नाउँ भएका शिवसिंह मल्ल राजा यहाँ हुनुभयो ।’
‘तत्सूनुः ‘शिवसिंहभूपतिरभूद्
विख्यातनामावनौ
मोरंगाचलशृंगरोपितजयस्तम्भो–
तिदम्भोन्नतः
निद्र्वन्द्वं ललिताह्वयं पुरमरे–
भ्र्रूसंज्ञया योग्रहीत्’

(धनवज्र वज्राचार्य, प्रधान सम्पादक, ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’,
जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, १४२, १४३ पृ.)अर्थात् ‘उहाँका (महेन्द्र मल्लका) छोरा, मोरङको पहाडको टुप्पोमा गाडेको जयस्तम्भको अतिदम्भले उन्नत, पृथ्वीमा प्रख्यात शिवसिंह राजा हुनुभयो, जसले शत्रुको ललितपुर लडाइँ नगरीकनै आँखीभौँ हल्लाएरै लिनुभयो’ भनी लेखेको।

शिवसिंहले पूर्वतिर गरेको राज्यविस्तार उनका सन्तानको पालामा पनि कमोबेश कायम थियो । दोलखामा पछिसम्म पनि उनका उत्तराधिकारीहरूको राज्य चलेको थियो भन्ने कुराको उदाहरणको लागि उनका नाति लक्ष्मीनरसिंह (वि.सं. १६५५–१७१७, राज्यकाल वि.सं. १६७७–१६९८)को पालाका (‘दोलखाको ऐतिहासिक रूपरेखा’, १०७–१०८ पृ.), पनाति प्रताप मल्लका (उही, १०९–११०, ११४–११७, १८८–१८९ पृ.), प्रताप मल्लका पनि पनाति भास्कर मल्ल (वि.सं. १७५३–१७७९, राज्यकाल वि.सं. १७५७–१७७९)का उत्तराधिकारी जगज्जय मल्ल (वि.सं. ?–१७९२, राज्यकाल वि.सं. १७७९–१९९२)का (उही, १२१–१२२, १४३–१४४, १४५–१४६, १९० पृ.) र जगज्जय मल्लका छोरा जयप्रकाश मल्ल (वि.सं. ?–१८२६, राज्यकाल वि.सं. १७९२–१८२५)का (उही १६६–१६७ पृ.) अभिलेखतिर औँल्याउन सकिन्छ।

प्रताप मल्लको राज्यमा नाला (भोलानाथ पौडेल, ‘जगत्प्रकाश मल्ल’, ‘पूर्णिमा’ ६ पूर्णाङ्क, २०२२, ३५ पृ.; ऐश्वर्यधर शर्मा, ‘कान्तिपुरका राजा प्रताप मल्लकालको ने.सं. ७९९ को ताडपत्राभिलेख’, ‘तन्नेरी’ १ वर्ष २ अङ्क, २०३६, ३१–३२ पृ.), काभ्रे जिल्लामा पर्ने कानपुर (महेशराज पन्त, ‘नेवारराज्यमा ब्राह्मण — २ वटा थप पत्र’, ‘पूर्णिमा’ १२६ पूर्णाङ्क, २०६४, १०४–१०६ पृ.) र सिन्धुपाल्चोक जिल्लामा पर्ने लिस्ती (प्रकाश खड्का र रोशनी श्रेष्ठ, ‘सिन्धुपाल्चोक थपिनारायणमन्दिरका ६ वटा र हनूमान्ढोका शिवमन्दिरको एउटा अप्रकाशित अभिलेख’, ‘अभिलेख’ ३४ पूर्णाङ्क, २०७३, ११२–११७ पृ.) पर्थे भन्ने कुरा तात्कालिक अभिलेखबाट देखिएको छ।तर शिवसिंहले गरेको विजय दीगो भएर रहेन । यसैले उनले जितिसकेको केरुङ उनका पनाति प्रताप मल्लले फेरि जित्नुपरेको थियो ।

यो कुरा प्रताप मल्लको शिलालेखमा
‘योऽकार्षीत् कूतिखासाकिरमिति सहसा
भोटभूपस्य देशाज्’
(दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ ३ भाग, काठमाडौँ, २०४५, ६७९ पृ.)
अर्थात् ‘जसले (प्रताप मल्लले) भोटका राजाको देशबाट एक्कासि कुती, खासा, केरुङ तान्नुभयो’ भनी लेखिएकोबाट स्पष्ट हुन्छ।
यसै गरी प्रताप मल्लका छोरा पार्थिवेन्द्र मल्लले वि.सं. १७३८ मा सिँधुली जितेको तात्कालिक टिपोट पाइएकोले (‘गोरखाको इतिहास’ १ भाग, २०४१, १५० पृ.) र आफ्नो विषयमा लेखाउँदा उनले यस्तो—
‘मध्येशृंगं लसन्तं शिखरिणि सिधुलीदुग्र्गमत्यन्तदुर्गं
यो जग्राह प्रतापप्रबलतरसहायैकबोधैः सुयोधैः ।…’
(‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, १४३ पृ.)

अर्थात् ‘जसले (पार्थिवेन्द्र मल्लले) पहाडको टुप्पोमा सुहाइरहेको, जान ज्यादै गाह्रो सिँधुलीको किल्ला बलिया असल योद्धाहरूद्वारा लिनुभयो’लेखाएकाले उनका वृद्धप्रपितामहको सिँधुलीविजय पछिपरन्तुसम्म दीगो रहेन भन्ने बुझिन्छ।

प्रताप मल्लको अधिकारमा रहेको नाला भक्तपुरका राजा जगत्प्रकाश मल्ल (वि.सं. १६९५–१७२९, राज्यकाल वि.सं. १७००–१७२९)ले वि.सं. १७२८ मा फर्काएकाले (‘पूर्णिमा’ ६ पूर्णाङ्क, ३४–३५ पृ.) विजय दीगो नभएको अर्को प्रमाण जुटेको छ।

दोलखाका अधिकारीहरूलाई सम्बोधन गरी भक्तपुरका अन्तिम राजा रणजित् मल्लले (वि.सं. १७५९–१८२८, राज्यकाल वि.सं. १७७९–१८२६) (‘दोलखाको ऐतिहासिक रूपरेखा’, १६५–१६६ पृ.) र कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले (‘उही’, १६६–१६७ पृ.) अलग अलग लेखेका दस्तावेज पाइएकाले २ राज्यको बीचमा दोलखाको लागि झीनाझपटी चल्दो रहेछ भन्ने बुझिन्छ।

मेरो विचारमा यी ४ वटै पत्र प्रताप मल्लले लेखेर दिएका मूल दानपत्र होइनन्, तिनका सारांश रूपमा पछिल्लो कालमा तयार पारिएका टिपोट मात्र हुन् । सम्झनाको भरमा पछि यो लेखोट तयार गरेको हुनुपर्छ । यसैले, दानपत्रमा दिइएको मिति पनि यहाँ छुट्न गएका छन्।

रणजित् मल्लले आफ्नो दरबारको मूलढोकामा यस्तो—‘महाराजाधिराज श्रीश्रीजयरणजिन्मल्लदेव पत्नी जयलक्ष्मीसहितन ।। श्रीस्वेष्टदेवताप्रीतिन कोट्याहुति यज्ञ याङाव, नालदुम पूव्र्व, दूधकोसि पश्चिम, दोलखासहितन राज्य याङाव’
(ऐश्वर्यधर शर्मा, ‘भक्तपुराधिपते रणजिन्मल्लस्य स्वर्णपत्राभिलेखः’,
‘संस्कृत–सन्देश’ १ वर्ष १०–१२ अङ्क, ७३–७४ पृ.)

अर्थात् ‘महाराजाधिराज श्रीश्रीजयरणजित् मल्लदेवले पत्नी जयलक्ष्मीसहित भई आफ्ना इष्टदेवतालाई प्रसन्न पार्न कोटिहोम गरेर नालदुमदेखि पूर्व, दूधकोशीदेखि पश्चिम, दोलखासहित राज्य गरेर’(‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, १८१ पृ.)लेखाई राखेको कुराको सम्झना पनि यसै प्रसंगमा हुन्छ ।

यतिसम्मका कुराबाट कान्तिपुरराज्यको विस्तार बराबर परसम्म पनि पुग्थ्यो भन्ने देखिन गएको छ भनी भनिरहनु नपर्ला । यस कारण प्रताप मल्लले दूधकोशीइलाकाका रावा डुम्रेमा कुशबिर्ता दिई गरिदिएका दस्तावेजबाट कान्तिपुरराज्य पूर्वपट्टि पैmलिएको थप प्रमाण जुटेको छ।

ज्ञानमणि नेपालले यी दानपत्रको भाषाको विषयमा केही टिप्पणी यसरी गरेका छन्—
‘प्रताप मल्लले रानीको पुत्रशोक निवारणको लागि खनेको रानीपोखरीको डिलमा राखेको शिलालेखमा नेपाली भाषा नै प्रयोग गरे, सबैले बुझुन् भनेर ।

प्रताप मल्लभन्दा पहिलेका धर्मात्मा राजाहरू दिनहुँ पशुपति दर्शन गर्न जान्थे । दिनैपिच्छे जान टाढा भो भनेर हनुमानढोका दरबार नजिकै पश्चिमतिर पशुपतिको मन्दिर स्थापना गरियो । त्यहीं रहेको शिलालेखमा पनि नेपाली भाषाकै प्रयोग गरिएको छ । पूर्व सीमान्त प्रदेशमा बिर्ता दिंदा प्रताप मल्लले निश्चय नै सबैले बुझ्ने भाषाकै प्रयोग गरेका थिए।’

प्रताप मल्लले कुशबिर्ता दिएको कुरा भएका जुन दानपत्र ‘हिमाल’ खबरपत्रिकामा छापिएका छन्, यी मूलकै उतार हुन् भनी ज्ञानमणि नेपालले ठानेको यस लेखाइबाट आउँछ । तर यसमा प्रश्न उठाउन सकिने ठाउँ छ—
१) पहिलो कुरा त, प्रताप मल्लले नेपाली भाषामै यी दानपत्र लेखिदिएको भए पनि यी दस्तावेजको भाषा प्रताप मल्लको समयको नेपाली भाषा होइन, प्रताप मल्लको रानीपोखरीको शिलापत्रको भाषासँग दाँजे यो कुरा छर्लङ्ग हुन्छ । यी लेखोटको भाषा त शाह–राणाकालका हुन् ।

२) नेवारकालका कानूनी लिखत केही अपवाद छोडेर संस्कृत र नेवारी मिसिएको भाषामा लेखिएका हुन्छन् । खुद प्रताप मल्लका कानूनी लिखत पनि यस्तै भाषामा छन् । यस कारण यहाँ अहिले चर्चा गरिइरहेका दस्तावेजको मूल रूप पनि यस्तै भाषामा हुनु धेरै सम्भव छ।

३) यी दानपत्रमा दानीय ब्राह्मणका थर ‘घिमि¥या’ र ‘भडारि’ छन् । दानपत्रमा ब्राह्मणको थर लेख्ने चलन पछि मात्र आएको हो । खुद प्रताप मल्लले मैनालीलाई र गोतामेलाई दानपत्र लेखेर दिँदा ‘जोसि ब्राह्मण’ मात्र लेखेका छन् (महेशराज पन्त, ‘नेवारराज्यमा ब्राह्मण— २ वटा थप पत्र’, ‘पूर्णिमा’ १२६ पूर्णाङ्क, २०६४, १०५ पृ.; उही, ‘नेवारराज्यमा ब्राह्मण— प्रताप मल्लका २ ताम्रपत्र’, ‘पूर्णिमा’ १३६ पूर्णाङ्क, २०६९, ४६७, ४७० पृ.)।

४) यी ४ वटा दानपत्रमध्ये पहिलो छोडेर सबैको उठान ‘आगे’बाट भएको छ । यो शैली शाहकालको र राणाकालको हो।मेरो विचारमा यी ४ वटै पत्र प्रताप मल्लले लेखेर दिएका मूल दानपत्र होइनन्, तिनका सारांश रूपमा पछिल्लो कालमा तयार पारिएका टिपोट मात्र हुन् । सम्झनाको भरमा पछि यो लेखोट तयार गरेको हुनुपर्छ ।

यसैले, दानपत्रमा दिइएको मिति पनि यहाँ छुट्न गएका छन् ।प्रताप मल्लले कुशबिर्ता दिएको कुरा परेका यी टिपोट हेर्दा उनका बराजु शिवसिंहले विद्याकर खकुराललाई दहचोकको र उनै राजाले पीरपति न्यौपानेलाई मानखुको जग्गा दिएको कुरा लेखिएका टिपोटको सम्झना हुन्छ(रामजी तेवारी आदि, ‘इतिहास–संशोधन’ २ संख्या, २ संस्करण, २०१२, ५ पृ. = ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, १८१ पृ.) । नेपाली भाषामा तयार पारिएका ती टिपोटभन्दा यी लेखोट अलि विस्तृत रूपका मात्र छन्, फरक यति मात्र हो।

‘यी मोहरका सकल हेर्न नपाउँदा यी बिर्ताका दानपत्र ताडपत्रमा थिए वा नेपाली कागजमा भन्ने थाहा भएन । मल्ल राजाका जग्गा सुक्रीबिक्रीका तमसुक प्रायः ताडपत्रमा माटाका छाप लागेका हुन्छन्’ भनी ज्ञानमणि नेपालले लेखेकोमा पनि केही टिप्पणी गर्नुपरेको छ ।
ताडपत्रमा पुस्तक लेख्न छोडी कागतमा लेख्न थालेको सयौँ वर्षपछिसम्म पनि पछिल्लो मल्लकालमा कानूनी लिखतचाहिँ ताडपत्रमै लेखिन्थे र ज्ञानमणि नेपालले भने जस्तै, तिनमा माटाका छाप लगाइन्थे ।

अपवादको रूपमा ललितपुरका राजा श्रीनिवास मल्ल (वि.सं. १६८४–१७४३, राज्यकाल वि.सं. १७१७–१७४१)को एउटा(महेशराज पन्त, ‘नेपाली काँचो कागतमा लेखिएको वि.सं. १७१७ को पाटनको लिखतपत्र’, ‘पूर्णिमा’ ७५ पूर्णाङ्क, २०४५, १६–१७ पृ.) र उनका छोरा राजा योगनरेन्द्र मल्ल (वि.सं. १७२४–१७६२, राज्यकाल वि.सं. १७४१–१७६२)को एउटा (उद्धव आचार्य, ‘राजा योगनरेन्द्र मल्लले सामाजिक व्यवस्था सम्बन्धमा गरिदिएको लालमोहर’, ‘अभिलेख’ १० पूर्णाङ्क, २०४९, ८०–८१ पृ.) गरी २ वटा कानूनी लिखत भने नेपाली काँचो कागतमा लेखी माटोको छापको सट्टा लाहाछाप लगाएको मैले देखेको छु।

दानपत्रचाहिँ मूल्यभार कम गर्नको लागि धेरैजसो ताडपत्रमा लेखिए पनि चिरस्थायिताको लागि ताम्रपत्रमा कुँदिन्थे । खुद प्रताप मल्लले मैनाली र गोतामेलाई गरिदिएका दानपत्र ताम्रपत्रमा कुँद्नु यसको ठोस प्रमाण हो।यस्ता ऐतिहासिक उपकरण जति जति प्रकाशमा आउँछन्, त्यति त्यति नेपालखाल्डोमा राजधानी भएका ३ राज्यलाई ‘सिट्इ–स्टेट्’ अर्थात् ‘नगरराज्य’ भन्ने जुन गलत परम्परा छ, त्यसको खण्डन हुँदै जान्छ भनी अन्त्यमा भन्नुपर्छ। -साभार नागरिकन्युजबाट