काठमाडौं, १६ बैशाख । नेपालको लागि २०७५ साल राम्रो नभएको नुवाकोटकोे भैरवी मन्दिरका धामी हरिमानसिंह डंगोलको भविष्यवाणिले बताएको छ । भैरबी मन्दिरका पुजारी हरिमानसिंह डंगोलले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष पठाएको भविष्यवाणिमा नेपालको लागि यो वर्ष राम्रो नभएको बताएका हुन ।

प्रत्येक बर्ष भैरबी रथ यात्राको क्रममा देबिघाटमा तान्त्रिक बिधि अनुसार वली लिईसकेपछि धामीले राष्ट्रका बारेमा भविष्यबाणी गर्ने चलन चलि आएको छ । उक्त भविष्यबाणी राष्ट्र प्रमुख समक्ष पठाईने परम्परा अनुसार हुलाक मार्फत धामीको भविष्यबाणी पठाईएको नुवाकोट दरबार मौला अमालले जनाएको छ ।

दरबार मौला अमाल नुवाकोटका द्वारे महेन्द्रबहादुर शाहीले जनाए अनुसार गत चैत्र १७ गते राती देबिघाटमा गुभाजु मुसमरत्न वज्राचार्यले तान्त्रिक विधिवाट आमन्त्रण गर्दा देबीदेवता कम उपस्थित भएको र आएका देबीदेवता पनि धामीलाई यो वर्ष राम्रो छैन भन्ने संकेत गरेर फर्किएका थिए ।

धामीको भबिष्यबाणी राष्ट्रपतिकहाँ पठाईएको र परम्परा अनुसार त्यहाँवाट जवाफ आएपछि क्षमापुजा लगायतका आवश्यक कामहरु गरिने पनि द्वारे शाहीले जानकारी दिए ।-नुवाकोटएक्सप्रेसबाट