पाल्पा जिल्लाको रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ ।रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले जानकारी दिए ।

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, विभिन्न भगवान्का आकृति, पानीका धारा, पानी पोखरी रहेका छन् । गुफाको भित्री भाग निकै फैलिएकाले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमालले जानकारी दिए ।

१३ जना स्थानीय युवाले गुफाको खोजी अनुसन्धान गर्ने क्रममा भित्र पसेर हेर्दा अनौठो प्रकृतिको गुफा फेला परेको नगरपालिका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

गुफाले रामपुरको पर्यटन विकासमा ठूलो टेवा पु-याउने हुँदा गुफाको संरक्षण र विकासमा नगरपालिका लाग्ने उनले बताए ।