काठमाडौं, २३ वैशाख । चालू सिजनमा ला लिगाको दोस्रो एल क्लासिको आज राति हुँदैछ । क्याम्प नाउमा राति १२ः३० मा हुने खेलमा बार्सिलोना र रियल मड्रिड ला लिगामा ३५ औं पटक आमने सामने हुँदैछ । बार्सिलोनाले यो सिजनमा ला लिगाको उपाधि सुरक्षित गरिसकेको छ । यो सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियललाई उसकै मैदानमा हराएको थियो । डिसेम्बर २३ मा भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।

यो सिजनमा रियल ला लिगामा जम्न सकेन । लिगका ३४ खेल खेल्दा २० खेलमा जित ८ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर हालसम्म ७१ अंक मात्रै जोडेको छ ।

कोपा डेल रे लेगानेससँग पराजय व्यहोरेको तथा ला लिगमा पनि बार्सिलोनाको पोल्टामा गएको अवस्थामा रियलको लागि जारी सिजनमा च्याम्पियन्स लिग मात्रै बाँकी छ ।

घरेलु मैदानमा भएको पहिलो एल क्लासिकोमा व्यहोरेको हारको बदला लिने योजनामा रियल मैदान उत्रनेछ । यता बार्सिलोना भने आफ्नै मैदानमा पुनः रियललाई स्तब्ध बनाउने योजनामा छ । दुवै टोलीका लागि एल क्लासिको प्रतिष्ठाको लडाई हुनेछ ।

यस्तो छ, इतिहास

बार्सा र रियल अहिलेसम्म सबै प्रतियोगितामा २७२ पटक आमने सामने भएका छन् । एल क्लासिकोमा बार्सिलोना अघि रहेको छ । बार्सिलोनाले ११२ पटक जित दर्ता गर्दा रियलले ९९ पटक जितेको छ । ५९ खेल भने बराबरीमा सकिएको छ ।

गोलको कुरा गर्ने हो भने पनि बार्सिलोना अघि रहेको छ । बार्सिलोनाले रियल विरुद्ध ४७० गोल गरेको छ । यता रियलले भने ४४३ गोल गरेको छ ।

बार्सिलोनामा आफ्नो मैदान क्याम्प नाउमा धेरै जित निकालेको छ । बार्साले ७२ पटक क्याम्प नाउमा खेल जितेको छ भने रियलले बेर्नाबेउमा ६७ पटक मात्रै जित निकाल्न सकेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा सबैभन्दा बढी खेलेको छ । उसले ३० पटक क्याम्प नाउमा बराबरी खेलेको हो भने रियलले बेर्नाबेउमा २९ पटक बराबरी खेलेको छ ।

बार्सिलोनाले सबैभन्दा बढी पटक रियलको घरेलु मैदानमा जित निकालेको छ । बार्साले ३६ पटक सान्टियागो बेर्नाबेउमा जित निकालेको हो । त्यस्तै रियलले बार्साको घरेलु मैदान क्याम्प नाउमा २८ पटक मात्रै जित निकालेको छ ।

एल क्लासिकोका उच्च गोलकर्ता लियोनल मेसी हुन् । उनले उनले हालसम्म २५ गोल गरिसकेका छन् ।