काठमाडौं, २३ बैशाख । मलेसियामा आज सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ प्रतियोगितामा अन्तिम अंकतालिकामा शीर्ष २ मा रहँदै युगान्डा र डेनमार्क डिभिजन ३ मा बढुवा भएका छन् । अन्तिम दिन भएका खेलहरुमा युगान्डाले जर्सीलाई ७ रनले तथा मलेसियाले बर्मुडालाई ८९ रनले पराजित गरेका थिए ।

युगान्डा जर्सीलाई पराजित गरेसँगै अंकतालिकामा ५ खेलबाट ४ जित र एकहार सहित ८ अंकका साथ प्रतियोगिताको बिजेता भयो भने मलेसियाले बर्मुडालाई पराजित गरेपनि समान ६ अंक रहेपनि नेट रनरेटको आधारमा मलेसिया भन्दा अगाडी रहँदै डेनमार्क अघिल्लो चरणमा प्रवेश गरेको हो । यस्तै तेस्रो र चौथो स्थानमा रहँदै मलेसिया र जर्सी डिभिजन ४ मा यथावत रहे भने भानुवाटा र बर्मुडा डिभिजन ५ मा झरे ।

मलेसिया र बर्मुडाबिचको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आयोजक मलेसियाले ५० ओभरमा ८ विकेट गुमाएर २९७ रन बनाएको थियो । उसका लागि कप्तान अनवर अनुरिद्धीनले ६० रन (४९ बल, ३ चौका, ४ छक्का) तथा अहमद फैज़ले ५० रन (७४ बल, २ चौका, १ छक्का) र सयेद एईजले ५२ रन (५९ बल, ७ चौका) हान्दै दोश्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए । बलिंगतर्फ जानेरियो टकरले ३४ रन र चारे स्मिथले ४२ रन खर्चेर समान ३/३ विकेट हात पारे ।

जवाफमा बर्मुडाले जानेरियो टकरले ५५ रन (८१ बल, ३ चौका, ३ छक्का) र कमाउ लेभेरोकले ६१ रन (१११ बल, २ चौका, ५ छक्का) प्रहार गर्दै सातौँ विकेटको लागि ९७ रनको साझेदारी गरेपनि ९ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो । कुनै समय ६ विकेट मात्र ३७ रनमा गुमाएको बर्मुडाको पारि टकर र लेभेरोकले सम्हाले । बलिंगतर्फ मलेसियाका मोहम्मद वाफिकले ३५ रन खर्चेर ३ विकेट तथा पवन्दीप सिंह र मुहम्मद स्यहदतले समान २/२ विकेट लिए ।

यस्तै युगान्डा र जर्सीबिचको खेलमा जर्सीलाई पराजित गर्दै युगान्डाले उपाधी जित्यो । टस हारेर पहिले ब्याटिंग गरेको युगाण्डाले ३७ ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको थियो । कुनै समय २६/५ मा रहेको उसलाई रियाजत अलि शाहले २२ रन तथा केन्नेथ वैस्वाले ३४ रन बनाउँदै ६० रनको साझेदारी गरेका थिए । बलिंगतर्फ जर्सीका बेन स्टेभेनले २२ रन खर्चेर ४ विकेट लिएका थिए ।

जवाफमा ५० ओभरमा ९१ रनको लक्ष्य पछ्याएको जर्सीले ३५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । उसका लागि हव्किंस केले २४, कार्ल्योंसले अविजित २२ तथा स्टेभेनले १२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा पराजित हुन पुग्यो । बलिंगमा बर्मुडाका म्यान अफ द म्याच फ्र्यांक न्सुबुदुले २० रन दिएर ४ विकेट तथा मुकासाले ७ रन दिएर ३ विकेट लिए ।

(फोटो क्रेडिट : आइसीसी)