नेपालका शासकलाई सूतक/जुठो पर्दा सारा नेपालीले पशुपतिनाथमा पूजा गर्न नमिल्ने भएकाले भारतबाट पुरोहित ल्याई पूजा गरेको भन्ने किंवदन्ती छ ।तीर्थयात्रा गएका बेला प्रताप मल्ल (कहीं यक्ष मल्लको पनि प्रसंग छ) ले भट्ट लिएर आएको इतिहासविद्ले उल्लेख गरेका छन् ।

पहिले राजालाई सम्मान प्रकट गर्न भट्ट शब्द प्रयोग गरिन्थ्यो । जब विद्वान् ब्राह्मणको नामपछि लगाइने उपाधिको रूपमा भट्ट ग्रहण हुन थाल्यो । त्यसपछि राजालाई भट्टारक भन्ने चलन चल्यो ‘राजा भट्टारको देव:’ । ‘अमरकोष’ हेर्दा विद्वान् पुरुष वा दार्शनिक व्यक्तिलाई भट्ट भनेको पाइन्छ । शब्द प्रयोगको इतिहास खोतल्ने इतिहासकारका अनुसार भट्ट एक प्रकारको मिश्र जाति हो जसले भाट र चारणझैं राजाको दैलोमा पुगेर स्तुतिगान गर्ने व्यवसाय गथ्र्यो । क्षत्रियबाट बाहुनकी छोरीमा बीजारोपण भई जन्मेको जातकलाई पनि भट्ट भन्ने गरेको पाइन्छ ।

‘भट्टं स्वामित्वमिच्छति’ विग्रहलाई आधार मानेर व्यक्ति वाचक नामका पछि लगाइने सम्मान सूचक उपाधिको रूपमा पनि भट्ट शब्द प्रयोग हुँदै आयो । पाशुपत संकल्पमा ‘श्रीराजराजेश्वरी महात्रिपुरसुन्दरी श्रीपशुपति महाभट्टारक देवता प्रीत्यर्थम्’ उल्लेख छ । श्रद्धास्पद पूज्य आराध्यलाई महाभट्टारक भनिएकोले भट्ट शब्द भक्त पुजारीलाई प्रयोग भयो । भट्टको वास्तविक अभिधेयार्थ हो वेदार्थ तत्त्व जान्ने । वर्णशंकर जातिका लागि भट्ट कहिलेदेखि प्रयोगमा आयो अझ खोज्नुपर्नेछ ।

किंवदन्तीमा नेपालका राज्यसञ्चालकलाई सूतक वा जुठो पर्दा सारा नेपालीले श्रीपशुपतिनाथमा पूजा गर्न नमिल्ने भएकाले भारतबाट पुरोहित ल्याई पूजा सञ्चालन गरेको भन्ने सुनिन्छ । मलाई श्रीपशुपतिनाथमा पहिलो नेपाली पुजारी भनियो । नेपाल राष्ट्रको निर्माण भएदेखि यस्तो अवसर कुनै नेपालीले पाएको छैन । मेरो अध्ययनले अंशुवर्मा आनो शासनकालमा श्रीपशुपतिनाथको पूजा आफंै गर्थे । जनताका छोराले देशमा अध्ययन गर्न पाएनन् । काशी तीर्थयात्रा गएका बेला प्रताप मल्ल (कहीं यक्ष मल्लको पनि प्रसंग छ) ले भट्ट लिएर आएको प्रसंग इतिहासविद्हरूले उल्लेख गरेका छन् । तर विक्रम संवत् १७५४, १७७३ मध्ये कुन साल हो स्पष्ट भएको छैन । त्यसैले श्रीपशुपतिनाथ भारतीय भट्टलाई सुम्पने प्रताप मल्ल नै हो वा अरू कुनै किटान हुन सकेको छैन । अर्को जनयुक्ति पनि छ आदि शंकराचार्य ज्योतिर्मठबाट हिमालय क्षेत्रको पदयात्रा गर्दै रुद्रगाढेश्वर (पाशुपतक्षेत्र) आए । उनले श्रीपशुपतिनाथको पूजा पद्धति निर्माण गरेर जोगीहरूलाई श्रीपशुपतिनाथको पुजारी बनाए । आचार्य शंकरसँग अनेक मिथक जोडिएका छन् ।

भगवान् श्रीसदाशिवको पूजा आराधनाका नाउँमा पाशुपत साम्राज्य कब्जा गर्न वंशाणुगत दक्षिण भारतीय भट्टहरू कहिलेदेखि आए यकीन तथ्य छैन । तर उनीहरूले श्रीपशुपतिनाथमा बसेर भारतीय विचार र शक्तिलाई मात्र फैलाएनन् अपितु राजनीतिक प्रभावको विस्तारका लागि पनि ठूलो खेल खेले, पापड बेले । व्यापार व्यवसाय गर्न भनेर आएका अरबियन र बेलायतीहरूले जसरी भारतमा राजनीतिक साम्राज्य फैलाए । भाषा, वेशभूषा, आर्थिक र राजनीतिक प्रभाव प्रचारमा ल्याए । त्यसरी नै भारतीय भट्टहरू पनि श्रीपशुपतिनाथमा पूजाका नाउँमा आए । तर उनीहरूले यहाँ बसेर पूजा–आराधना र भक्तिको संस्कार विकास गर्नुभन्दा भ्रष्टाचार र नैतिक पतनको बाटो देखाए । आफूले बढाएको धार्मिक, सांस्कृतिक र राजनीतिक सामथ्र्यबाट राजाहरूलाई पनि निस्तेज बनाए ।

भारतीय भट्टहरूले धर्मको आवरणमा धाकधम्की देखाएर, भ्रष्टयोग गरेर खर्बौं धार्मिक दान–दातव्य कुम्ल्याउँदै गए । उनको दृष्टि कमाउन र वर्चस्व स्थापित गर्नमा मात्र गयो । उनीहरू यो देशको सांस्कृतिक मूल्य मान्यतालाई छायामा पार्न सक्रिय रहे । नेपालमा भट्टहरू अस्थिरता बढाउने कारक पनि बने । त्यसैले उनीहरूप्रति यहाँ नकारात्मक धारणा बढेको छ । भिन्न–भिन्न कारणहरूबाट श्रीपशुपतिनाथमा भारतीय भट्टहरूको वर्चस्व स्थापित हुँदै आएको छ ।

आचार्य शंकर दिग्यात्रामा रहँदा केही द्रविड ब्राह्मणहरू पनि सँगै थिए । कान्तिपुर उपत्यका प्रवेश गरेपछि यहाँको प्राकृतिक सौन्दर्य र रमणीय वातावरण देखेर उनीहरू मोहित भए । द्रविड ब्राह्मणहरूले यहाँबाट नफर्कने निधो गरे । उनीहरू आचार्य शंकरसँग अनुनय गरी श्रीपशुपतिनाथमा पुजारी बनेर बसें । यो प्रमाणहीन कुरा हो । यसमा कुनै प्रामाणिक तथ्य पनि भेटिंदैन । तर उनले जोगीहरूले गर्नुपर्ने आन्हिक कर्तव्य विधि र पूजा पद्धति ‘यति दण्डैश्वर्य विधानम्’ निमार्ण गरे र दशनामी दण्डी संन्यासीहरूलाई श्रीपशुपतिनाथको पुजारी बनाए भन्ने कुरा यथार्थपरक हो ।

पूजा गर्दैगर्दा आवाहनादि धार्मिक नियम वा विधि, प्रणाम, मुद्राहरूको प्रयोग र पूजा क्रम मिलेन भनेर अफवाह फैलियो । गृहस्थी र संन्यासीहरूको नित्य विधि, उद्देश्य र व्यावहारिक सिद्धान्त फरक छ । यसैलाई मुद्दा बनाएर संन्यासीहरूको समर्पण भावमा अनास्था बढाइयो । पन्ध्रौं, सोह्रांै शताब्दीको बीचतिर यस्तो अवस्था आयो ।

त्यसपछि नेपालमा लोकले सिद्ध गरेको राजा भगवान् हुन्छ भन्ने लोकायत सम्प्रदायको अधिमान्यता प्रचारमा आयो । राजा दिवंगत हुँदा प्रजालाई आशौच लाग्ने, दरबारमा सुत्केरो पर्दा जनतालाई सूतक लाग्ने नयाँ काल्पनिक मान्यताले प्रश्रय पायो । जुठो सुत्केरो दोषका कारण यस उपत्यकाका रैथाने पण्डितहरूले निरन्तर श्रीपशुपतिनाथमा पूजा गर्न नपाउने भए । त्यसपछि प्रताप मल्ल (यक्ष मल्लको पनि प्रसंस उठ्छ) तीर्थयात्राबाट फर्किंदा उनले भट्टहरूलाई लिएर आए ।

श्रीपशुपतिनाथको पूजा गर्न आएका भारतीय भट्टहरूले त्यसपछि उत्तराधिकारीको रूपमा दक्षिणभारततिरबाटै भट्ट ल्याउने क्रम सुरु गरे । बीच–बीचमा यो राम्रो भएन भनेर दरबारमा कुरा उठ्ने गथ्र्यो । तर त्यतिखेरसम्म उनीहरूले आनो वर्चस्व बढाइसकेका थिए । प्रशासनिक अधिकार पनि हासिल गरिसकेका थिए । त्यसपछि भय, त्रास र राजनीतिक प्रभावको विस्तारका कारण उनीहरू श्रीपशुपतिनाथ मन्दिर कब्जा गरिरहन नयाँ नयाँ रणनीति अपनाउन थाले । यतिखेर पनि उनीहरू त्यही सूत्रलाई प्रयोग गरिरहेका छन् । त्रिकालव्यापी पूजा छोडेर श्रीको आरधाना, स्नान भोग आरती सबै त्यागेर हठात् मन्दिरको द्वार बन्द गरेर भागेका भगौडाहरू दिल्लीको राननीतिक र प्रशासनिक शक्तिलाई प्रयोग गर्दै फेरि श्रीपशुपतिनाथ मन्दिर कब्जा गर्न प्रयत्नशील देखिन्छन् । उनीहरू नेपाली जनता, राजनीतिकर्मी, श्रीपशुपतिनाथका भक्तलाई समेत गुमराहमा राख्न अझै सफल छन् ।

पाशुपत शैव धर्मको तन्त्रशास्त्रीय पाण्डित्य परम्परा नेपालमा पहिलेदेखि नै विद्यमान थियो र विकसित पनि । राजनीतिक सत्ताको आडमा भारतीय भट्टहरू बल बढाउन समर्थ भए । उनीहरूले शिवस्व हरणका लागि हर उपाय अवलम्बन गरे । यहाँ वैदिक शाखा र आगम बोधको अभाव रहेको कुतर्क गरे । अनुपलब्ध विषयलाई कसले उपलब्ध गराउने ? एउटा जालसाजीपूर्ण भ्रमको बीज रोप्ने, उमार्ने र फैल्याउने काम भइसकेको छ । राजा गीर्वाणयुद्ध विक्रमबाट श्रीपशुपतिनाथमा चढाइएको गुठी बिर्ता जग्गा हेर्ने अख्तियारी पाएपछि मूलभट्टले दरबारलाई समेत धम्क्याएर बहुमूल्य रत्नजडित गहनाहरू गायब गरे । राजा राजेन्द्र विक्रम शाहले प्रशासनिक दायरालाई अझ बढाइदिएपछि श्रीपशुपतिनाथको मूलभट्ट अधिकार सम्पन्न व्यक्तिका रूपमा स्थापित भयो । भारतीय दूतावासबाट परिचालित नेपाली मुटुमा बसेको यो समूहले यो देश र यहाँको समाजलाई कहिल्यै हित गर्ने छैन । (दाहालको पुस्तक ‘पशुपतिमा सात दिन’ को अंश) -कान्तिपुरदैनिकबाट