सूर्यराज आचार्य

सबैभन्दा मनपर्ने सहर ?
पोखरा हो । पोखरा मनपर्नुको कारण भौतिक र पूर्वाधार विकास होइन, त्यहाँ भएका प्राकृतिक सुन्दरताले मनपरेको हो । यो पयर्टकीय सहर पनि हो । मैले सानैदेखि यो सहरलाई नियाल्न पाएको थिएँ । मेरो जन्म पनि पोखरानजिकै भएको हो । ताल, हिमाल र पहाडी भू–भागले पोखरालाई ज्यादै सुन्दर बनाएको छ । तर, प्राकृतिक रूपमा जति सुन्दर थियो, भौतिक रूपमा हामीले पोखरालाई अन्याय गरेका छौँ।

सहरको मौलिकताभित्र के के पर्छन् ?
हाम्रा सहरमा विकासका काम गर्दा आर्किटेक्चरल र प्राकृतिक रूपमा पनि अन्याय भएको छ । अघिल्लो पुस्ताले कर्मी लगाएर हाम्रा सहरको मौलिकता राखेका थिए । अहिले टायल टल्काएर घर बनाउने प्रवृत्ति बढ्दै गएको छ । हामीले अहिले विकास र समृद्धि भनेका छौँ, त्यो विकास र समृद्धि कृत्रिमखाले हुन्छ । यो डरलाग्दो पक्ष पनि हो । इतिहास, प्राकृतिक सुन्दरता, वास्तुकलाको समायोजन हुन सकेन भने सहर कुरूप बन्छ।

तपार्इंसँग सहरी विकास र पूर्वाधार निर्माणकोे लामो अनुभव छ, त्यस आधारमा हाम्रा सहरको विकासको गति कस्तो पाउनुहुन्छ ?
सहर भनेको जनघनत्व बढी भएको ठाउँ हो । यसमा अरु आर्थिक क्रियाकलाप र सेवा–सुविधा पनि जोडिन्छन् । म इन्जिनियरिङको विद्यार्थी हुँदा पनि यही पढेको थिएँ । थोरै ठाउँमा धेरै मान्छे भए पनि त्यहाँ पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापनलाई कसरी व्यवस्थित पार्ने भन्ने अध्ययन गरेँ ।

जनघनत्व बढी भएको ठाउँमा जनताका आधारभूत आवश्यकतालाई कसरी पूरा गर्ने, कसरी सहज बनाउने भन्ने पनि हाम्रो इन्जिनियरिङ पार्टमा जोडिन्छ । मलाई युवा इन्जिनियर हुँदाखेरी बाहिर पढेर नेपालमा आएर कसरी काम गर्ने भनी चिन्ता हुन्थ्यो । पाठ्यक्रममा भएको आधारभूत कुरा पनि हामीले लागू गर्न सकेका छैनौँ ।

सहर विकासको योजना कस्तो हुनुपर्छ ?

सहरी विकास योजनामा उच्चस्तरको सुझबुझ हुनुपर्छ । त्यहाँ जनताले भोगेका कुरालाई चासोमा राखिन्छ । सडक विस्तारका योजना र एकीकृत जग्गा विकासमा प्राविधिक र राजनीतिक तहको समन्वय हुन्छ । सल्लाह हुन्छ । अध्ययन अनुसन्धान हुन्छ।

अनि मात्रै सहरमा विकासका काम सञ्चालन गरिन्छन् । अहिले मात्रै होइन, पञ्चायतकालमा पनि ठूलाबडाले नियम मिचेका हुन्थे । सर्सतीभन्दा पञ्चायतकाल पनि काम चलाउनमै गयो । बहुदल आएपछि अलिअलि भएका सरकारी संयन्त्रमा राजनीतीकरण भयो । राजनीतिक व्यवस्था परिष्कृत पनि भएनन् ।

काठमाडौं अस्तव्यस्त हुनुको कारण ?
मख्य कुरा त आप्रवासनले हो, काठमाडौंलाई बिगारेको । गाउँबाट काठमाडौं पस्ने हरेक मानिसको लक्ष्य सहरमा एक टुक्रा जग्गा किन्ने र घर बनाउने भयो । यहाँ आएर विकास गर्छु, सहरलाई बनाउँछु भन्ने लक्ष्य कसैमा भएन । त्यसैले पनि सहरको विकास भएन भन्ने लाग्छ । सुरुदेखि नै सहरी विकास पनि काम चलाउ खालको भयो । राजनीतिज्ञमा पनि सहरको योजनाबद्ध विकासबारे बहस भएन।

हाम्रा सहरमा के हुनुपर्ने थियो र के भइरहेको देख्नुहुन्छ ?
हामीले योजनाबद्ध सहरी विकासको पद्दति नै मानेनौँ । २०३० सालमा २०७५ सालको काठमाडौं यस्तो हुन्छ भनेर काम गरेको भए अहिले काठमाडौंको हालत यस्तो हुने थिएन । हामीकहाँ त्यतिबेलादेखि नै दूरदृष्टि कसैले राखेनन् । योजनाबद्ध विकासको कुनै चरण पनि लागू भएन । २०३० सालको सरकारले अबको काठमाडौं यस्तो हुन्छ भनेर कुनै आँकडा निकाल्न सकेन । अहिलेका नेताको सोच र दृष्टिकोण पनि उस्तै छ । यहाँ विकास निर्माणमा काम गर्ने शैली जटिल छ । यहाँको इन्जिनियरिङ पक्ष पनि साँघुरो नै छ।

सहरलाई सफा राख्न र सरकारलाई घचघच्याउन नागरिकको पनि दायित्व हो, सहरका मानिसको सोच कस्तो लाग्छ ?
सहरका नागरिक आफ्नो फाइदाका लागि मात्रै काम गर्ने भए । आफ्नो घरको अगाडि चिल्लो सडक पनि होस् भन्ने, यसमा आफूले थोरै जग्गा गुमाउनुप¥यो वा अन्य कुनै क्षति व्यर्होनुपर्‍यो भने आनाकानी गर्ने सोच राम्रो भएन । सहरका नागरिकमा विकास चाहने तर आफूले केही गुमाउन नचाहने सोच भयो । सहरमा आफू मात्रै धनी भएर र आफ्नो मात्रै घर बनाएर सुखी जीवन हुँदैन । हामीले अरु मुलुकबाट सामान्य कुरा पनि सिकेका छैनौँ । जनप्रतिनिधिहरूले बुझ्दैनबुझी स्मार्ट सिटी बनाउने आशा देखाए । तर, स्मार्ट सिटी कस्तो हुनुपर्छ भनेर राम्ररी थाहा पाएका छैनन् ।

सहरको विकाससँग हरियाली पनि जोडिएको हुन्छ, तर हाम्रोमा घर बनाउँदा भएभरका रूख काटिँदै छ, यसले भविष्यलाई कस्तो असर पार्ला ?
सहरको गहना र नभई नहुने पक्ष हो, हरियाली । हरियालीविनाको सहर हामीले कल्पना पनि गर्न सक्दैनौँ । कस्ता–कस्ता मरुभूमि मुलुकले त माटो बोकेर आफ्नो ठाउँलाई हरियाली बनाए । विडम्बना, हामीले प्रकृतिले दिएको राम्रो कुरालाई चिन्न सकेनौँ । प्रकृतिलाई विकाससँगै हिँडाउन सकेनौँ।

हाम्रो सहरी विकासमा हरियालीलाई चासो दिइएको छैन । संसारमा विभिन्न सहरमा रोप्ने बिरुवा फरक छन् । जराले सहरको कालोपत्रेलाई नबिगार्ने रूखहरू रोपिएका हुन्छन् । अरु देशमा कतै हुर्केको रूखलाई जरैबाट उखेलेर सहरमा ल्याइन्छ । हाम्रो त सहर हरियाली बनाउने कुनै योजनै छैन।

विश्वका अन्य सहरलाई हेरी नेपालमा सहरीकरणको अवस्था कस्तो छ ?
म टोकियोमा लामो समय काम गरेँ । त्यहाँ छँदा सहरी विकास नितान्त प्राविधिक कुरा मात्रै होइन भन्ने थाहा पाएँ । सहरमा भएको चार लाइनको बाटो र फुटपाथ सहरको संस्कृतिसँग जोडिएको हुन्छ ।

त्यो सहरको पूर्वाधार मात्रै होइन, विकासका हरेक निकायले काम ग¥यो भने सहर सुन्दर बन्छ । सहरी सडक र राजमार्गको सडक इन्जिनियरले हेर्दा चार लेनको भए पनि सहरको सडक धेरै भिन्न हुन्छ । त्यहाँ सामाजिक, सांस्कृतिक र न्यायको कुरा जोडिन्छ।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
करिब ४० भन्दा बढी देशका सहर घुमेको छु । मलेसिया, जापान, कोरिया, अस्ट्रेलिया, फिलिपिन्स चाइना, जापान, टर्की, जमर्नी, अमेरिका क्यानडा, इजिप्टलगायत देशका सहर पुगेको छु । स्विट्जरल्यान्डका प्रत्येक सहर, अमेरिकाको टेक्सास, युरोप र एसियाका भित्री सहर मलाई ज्यादै राम्रो लाग्यो । धुलोधुवाँ कतै देखिन्न । सबैतिर सफा र सुन्दर देखिन्छ।

विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
भिन्नता धेरै छ । जस्तै : युरोपियन, अमेरिकन सहरमा सहरी विकासका लागि सुरुदेखि नै योजनाबद्ध रूपमा विकास भएको देखिन्छ । सार्वजनिक संरचना अग्ला र ठूला देखिन्छन् । नागरिकका घर साना र मौलिक शैलीमा बनेका हुन्छन्।

सहरमा हिँड्दाहिँड्दै पनि नागरिकभन्दा सरकार धनी छ भनेर महसुस गर्न सकिन्छ । हामीकहाँ हिलो बाटो छ, ग्राभेल बाटो छ र १२ फिटको बाटो छ, त्यो बाटो पनि पिच भएको छैन, तर त्यसकै छेवैमा तीन करोडको आकर्षक घर बनेको छ । यसलाई हेर्दा पनि के थाहा हुन्छ भने सार्वजनिक निकाय र सरकारले गर्नुपर्ने काम निम्छरो र कम गुणस्तर भयो।

सरकारले कसरी काम गर्‍यो भने काठमाडौं राम्रो बन्ला ?

मूलतः कानुनको पालना गर्नुपर्‍यो । विकास निर्माणका कामलाई तीव्रता दिनुपर्‍यो । काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो । सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ।

उपत्यकाको मनपर्ने पक्ष ?
मलाई उपत्यकाका मठ–मन्दिर र मौसम एकदमै मनपर्छ । यहाँ हाम्रो मौलिक पहिचान बोकेका अमूल्य सम्पदा छन् । यहाँका मौसम र हरियालीले गर्दा दिनहुँ विदेशी पर्यटक आइरहेका छन् ।

हाम्रो मुलुकका ढुंगाले पनि ठूलो विशेषता बोकेका छन् । नेपाल सानो र सुन्दर छ । मात्र यहाँको सरकार कमजोर भएको हो।

मन नपर्ने पक्ष ?
प्रदूषण, ट्राफिक जाम र भीडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरले मूलतः दुई–तीनवटा कुरा समेटेको हुनुपर्छ । सहरको पहिचान भनेको इतिहास र संस्कृति पनि हो । सहरलाई बनाउँदा नयाँ र पुरानो दुवै पक्षलाई ख्याल गरिनुपर्छ । पुराना मौलिकतालाई इज्जत गरेको हुनुपर्छ । अर्को कुरा सहर त्यो देशको आर्थिक इन्जिन हो।

सहर सभ्यताको परिचय दिने ठाउँ हो । अर्को कुरा सहरको नागरिक उत्पादनशील हुन्छ । देशको आर्थिक क्षेत्रलाई नै हाँक्ने शक्ति सहरमा हुन्छ । त्यस अर्थमा पनि सहर उत्पादनशील, उद्यमशील, सुविधासम्पन्न हुनुपर्छ । मैले चाहेको सहर कस्तो हो भने सांस्कृतिक र सामाजिक रूपमा गर्भ गर्न लायक, आधारभूत सेवा–सुविधाका लागि चिन्ता गर्न नपरोस् र सहरमा समान वर्ग र हैसियत भएका मानिस होऊन्।

उपत्यकालाई कहिलेदेखि चिन्नुभयो ?
म २०३६ सालमा कास्कीबाट काठमाडौं आएको थिएँ, आइएस्सी पढ्नका लागि । काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा पढाइ सुरु गरेँ । त्यतिबेलैदेखि काठमाडौंसँग नजिक भएँ।

कस्तो थियो, त्यतिबेलाको काठमाडौं ?
अहिलेभन्दा निकै बेग्लै थियो, त्यतिबेलाको काठमाडौं । खुकुलो थियो । सहरभित्र खेतीपाती गर्ने ठाउँ प्रशस्त थिए । भक्तपुर र ललितपुरका प्रायः ठाउँहरूमा कृषि उत्पादन भएको देख्न पाइन्थ्यो ।

नयाँ बानेश्वरकै कुरा गर्दा त्यतिबेला बाँस र अन्य रूखको घनाजंगल थियो । इन्द्रचोक र ठमेलमा तरकारी किन्न पुग्थ्यौँ । रिङरोड पनि त्यति विकास भएको थिएन । सहरभित्रका नेवारी गाउँहरूले उपत्यकाको मौलिकता झल्काएको थियो । ठाउँ–ठाउँमा ढुंगेधारा र पोखरीहरू थिए । अहिले सहरमा यी सबै मौलिक पक्ष हराएर गए।

यहाँको मौलिकता कसरी हरायो ?
हामीले भवन र अलिकति सडक पिच गरेपछि सहरको विकास हुन्छ भन्ने सोच्यौँ । पैसा हुनेले मापदण्ड मिच्दै सरकारलाई पेलेरै भए पनि अग्ला भवन बनाए । यसले सहरको मौलिकता मेट्दै लग्यो।

उपत्यकाभित्र घुम्न गइरहने ठाउँ ?
म प्रायः परिवार लिएर मठ–मन्दिर भएको क्षेत्रतिरै जान्छु । त्यस्ता ठाउँ घुम्दा आनन्द हुन्छ । पहिले–पहिले धेरै घुम्न हिँडिन्थ्यो । अहिले घुम्न अलि कम गरेको छु । यहाँ घुम्ने ठाउँ पनि त्यति छैनन् । लप्सिफेदी, नाङ्लेभार, टोखा, धुलिखेल, नगरकोटलगायत ठाउँमा पनि कहिलेकाहीँ पुग्ने गर्छु।

मन भएर पनि जान नपाएको ठाउँ ?

मलाई जुम्ला जान मन छ । जुम्ला खस सभ्यता भएको ठाउँ हो । यहाँ हाम्रो मौलिकता छ । धेरैपल्ट जाने इच्छा गर्दागर्दै पनि समय जुरेको छैन । हेरौँ, यो चाहना पनि एक दिन पक्कै पूरा हुनेछ।

पछिल्लो समय घुमेको सहर ?
केही समयअघि पोखरा घुम्न गएको थिएँ । पोखरा घुम्नका लागि राम्रो ठाउँ छ । यहाँ पूर्वाधार भन्दा पनि प्राकृतिक पक्ष धेरै राम्रा छन्।

उपत्यकाको मनपर्ने खानेकुरा ?
यहाँको सबैखाले खानेकुरा मिठो लाग्छ ।
प्रस्तुति :शिवहरि घिमिरे -साभार नागरिकन्युजबाट