काठमाडौं, २४ बैशाख । राष्ट्रिय सभाको अाज बसेको बैठकमा भारतीय पक्षद्वारा हुने गरेकाे सीमा अतिक्रमण र ज्यादतिबारे बहस भएकाे छ । बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्ने माग गरेका हुन् ।

पश्चिम तरार्इकाे कञ्चनपुरस्थित पुनर्बास सीमा क्षेत्रमा हुने पटकपटकको भारतीय ज्यादती अब दुई देशका प्रधानमन्त्रीय तहमा लैजानुपर्ने सांसदहरूले सरकारलार्इ सुझाव दिएका छन् ।

यही वैशाख २८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अाउन लागेका छन् । साे क्रममा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र एसएसबीको ज्यादतीबारे कुरा राख्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद हरिराम चौधरीले भारतीय सुरक्षाकर्मीबाट पुनर्वासमा गरिएको ज्यादती निन्दनीय रहेकाे बताउँदै मोदीको नेपाल भ्रमणका बेला यसलार्इ विशेष एजेण्डा बनाउनुपर्ने धारणा राखे । विशेष समय लिएर बोल्दै उनले भारततिरबाट आएका जनावरले बालीनाली नष्ट गर्ने र राेकथाम गर्न स्थानीय नगरपालिकाले प्रयास गर्दा भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको सुनाए ।

कन्चनपुरकै अर्का सांसद इन्दु कडरियाले पुनर्वासमा पटकपटक भारतीय सुरक्षाकर्मीले ज्यादती गर्ने गरेको भन्दै उनले गत वर्ष यही समयमा भारतीय ज्यादती विरुद्ध लड्दा गोविन्द गौतमले शहादत प्राप्त गरेको स्मरण समेत गरिन् ।

अर्की सांसद अनिता देवकोटाले पुनर्बासको सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादती सैह्य नहुने बताइन् । उनले सरकारलाई राष्ट्रवादका कुरा होइन काम गरेर देखाउन चुनौती दिदै यो विषय भारतीय पक्षसमक्ष उठाइनुपर्ने माग गरिन् ।