काठमाडौँ, ८ भदौ । अर्थतन्त्रका जानकाले स्थानीय तहको करसम्बन्धी विषय यथार्थभन्दा भ्रम फैलाउने ढङ्गबाट प्रेरित भएको टिप्पणी गरेका छन् ।

मदन भण्डारी बौद्धिक मञ्चद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता कार्यान्वयनको पहिलो महीना केही भ्रम केही यथार्थ’ विषय अन्तरक्रियाका सहभागीले करका विषयमा स्थानीय तहदेखि केन्द्रसम्म भ्रम र यथार्थको सम्मिश्रण देखिएको बताए ।

सो अवरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले अध्ययन नगरी कर घोषणा गरिएको छ भने सच्याउन र उठाएको करको पारदर्शी ढङ्गले जनहितका कार्यमा लगाउन स्थानीय तहका पदाधिकारीलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सरकारलाई कम्जोर बनाउने उद्देश्यले उठाइएको करको विषयमा यथार्थभन्दा भ्रम धेरै छ, यद्यपि मौरीले मह सञ्चय गरेजस्तै जनतालाई ज्यादै थोरै भार पर्ने ढङ्गबाट न्यून कर लगाउनुपर्छ, करको दर र मूल्याङ्कनलाई सन्तुलित तुल्याउनुपर्छ ।

नेकपाका नेता केशव बडालले हामीले स्वीकार गरी अभ्यास गरिसकेको सङ्घीयतालाई करलगायतका विषयसँग जोडेर ठीक वा बेठीक भन्ने ढङ्गबाट कुनै पनि नेपाली नागरिकले बहस पैरवी गर्न उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकराज शाहले स्थानीय तहले अधिकार छ भन्दैमा हचुवाका आधारमा नभई नागरिकको क्षमता, स्थानीय तहको सेवाप्रवाह र उठाइएको सदुपयोगिताको समन्वयका आधारमा कर उठाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कर सरकारको अनिवार्य स्रोत हो । निरपेक्षका आधारमा होइन आर्जन गर्नेको क्षमताको आधारमा हुनुपर्दछ । जनतासँग कर लिएर डोजर, महँगा सवारी साधन, पोशाकजस्ता सामग्री खरीद गर्नुहँुदैन । जनप्रतिनिधि आत्मअनुशासनमा बस्नुपर्दछ ।

पूर्वसचिव सुरेशमान प्रधानले स्थानीय तहले आफूलाई पूर्ण स्वायत होइन विकास निर्माण जनताको घरदैलोमा पु¥याउने कार्य गर्न मात्र स्वतन्त्र छ भन्ने मनन गर्न आवश्यक छ भन्नुभयो ।

डा शिवराज अधिकारीले सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न तथा दू्रत आर्थिक वृद्धि गर्नतर्फ लक्षित रहेको विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उक्त कार्यपत्रमाथि अर्थसम्बन्धी जानकार उमेश उपाध्याय, बाबुराम अधिकारीलगायतले राज्यले जनताको घरदैलोमा गएर प्रदान गर्नुपर्ने कामलाई सेवा शुल्कको नाममा मनमौजी ढङ्गबाट कर लिन खोज्ने प्रवृत्तिलाई सच्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । रासस