नुवाकोट, २७ भदौ। दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् ।
आज अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । सम्पर्कविहीनको नाम भने नखुलेको अध्यक्ष तामाङले बताउनुभयो ।

गोठमा गएका दुई स्थानीयवासी पहिरामा फसेका कारण उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पानी परिरहेको र पहिरो गइरहेका कारण उद्धारमा कठिनाइ भएकाले मौसम खुलेपछि हेलिकप्टरमार्फत भए पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । पहिरो बस्तीतर्फ बढिरहेको र भने चार घर पहिराले बगाइसकेको छ । पहिरो निरन्तर झरिरहेकाले वरपरका बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताउनुभयो । रासस