डायरी : “उसको जन्मदिन”

उसको बर्थडे पार्टीमा सामेल हुन गए । पाँच फिट आठ इन्च उचाई र करिब पैसठ्ठी किलोको ज्यान बाहेक अरु केही लान सकिन । सबैले आआफ्नो एकदुइ नजर म तिर फ्याके।

मलाई कसैले वास्ता गरेनन् । किनभने तिनिहरुले म बिना गिफ्ट आएको देखे । तर मुटुमा बसेकी उनलाई देखेनन् । नियाल्ने प्रयाससम्म पनि गरेनन् । उसको अध्यरो मुहारको लागि भने म कुलमान सवित भए । म पुग्ने बित्तिकै झ्याप्पै उसको मुहार उज्यालियो ।

उसका सबै साथीहरू आइसकेका थिए । धेरैजसो केटीहरुनै थिए । थोरै केटाहरु क्लासमेट थिए उसका । अब त्यहा पर्खाइ मेरो मात्रै थियो । तर उसको पर्खाइमा मात्र प्रेम मिसिएको थियो । अरु साथीहरू त केवल करले मात्रै बसेका जस्ता देखिन्थे।

वरिपरि बेलुनहरु झुन्ड्याइएको थिएन । मैले नै उसलाई बेलुन नराख्नु भनेको थिए । बेलुनसङ्ग मेरो केही दु:खद बिगत जोडिएको छ । पछि कुनैदिन भनुला ।
टेबलमा केक राखिएको थियो । केकको माथिपट्टि बाहिरी घेरामा सेक्युरिटी गार्ड जस्तै क्यान्डलहरु तैनाथ थिए । भित्रपट्टि चाहिँ बाङ्गो अंग्रेजी अक्षरमा “Happy 22nd Birthday To You Juli” लेखिएको थियो । उसको नाम कोरिएर होला,त्यो बाङ्गो अक्षरपनि सुन्दर देखे । खोइ किन,उसको नाम जोडिएको हरेक चिज सुन्दर देख्छन् यी आखाहरुले।

मेरो नजरले ’22nd” लेखिएको ठाउमा गएर ब्रेक लगायो । फ्लासब्याकमा गए एकैछिन । उसले पोहोर सालपनि उमेर बाईस बर्ष भनेकी थिइ । आफ्नो ओठको हासोलाई नियन्त्रणमा लिन खोजे। तर उसकै साथीहरूको अगाडि मेरो मुस्कान खस्यो। उसले आफ्नो कुइनोले मेरो कम्मरमा सानो धक्का दिई ।

‘गएको सालपनि बाईस भनेकी थियौ त।अनि यो बर्षपनि कसरी बाईस ? ‘ व्यङ्ग्य मिसाएर कानमा सुटुक्क भने ।
‘त्यो एज अन्ली फर डाकुमेन्ट है । रियल बर्थडे आज हो मेरो । ‘ उसले अरुको अगाडि सामान्य बन्न खोजी ।

नतिनीले पछि छिटो बृद्दाभत्ता खाओस् भनेर बज्यैले उमेर बढाउनुभएको भनेर उसले पोहोर नै भनेकी थिइ। पढाईमा फेल भइराख्यो भने भर्ती हुने उमेर सकिन्छ भनेर हजुरबाले मेरो उमेर घटाउनुभएको भनेर मैले सुनाएको थिए ।

“उहाँ चाहिँ मेरो ब्वाइफ्रेन्ड है । केशु ” सबैको अगाडि उसले भनी । सबैले मलाई शिरदेखी पाउसम्म नियाले । यस्तो लाग्यो ,उनीहरु मनलाई होइन मेरो हैसियतलाई चिन्न खोज्दैनन् ।लाग्यो,मेरो व्यबहार उनीहरूको प्राथमिकतामा पर्दैनन् ।

जुत्ताको पलिस सकिएको थियो। जुत्ताको केही भाग कुनै घायल प्रेमीको छियाछिया परेको मुटु जस्तो थियो। च्यात्तिएको । बिना पलिसको लेदरको जुत्ता लगाएर गएको थिए । तर जुत्ता भने टेबलले छेकियो । देखेनन् कसैले । गर्मी गर्मी थियो दिन । पछाडीपट्टि उध्रीएको टिसर्टलाई छेक्न गर्मीमापनि कमिज लगाएर गएको थिए । त्यो पनि देखेनन् । पाइन्ट भने साथीको नया लगाएर गएको थिए । सायद हेरे कि हेरेनन् कुन्नी ।तिनिहरुको अत्तरको बास्नाबिच मेरो पसिनाको गन्ध पनि मिसियो होला । सायद कसैले थाहा पाए कि पाएनन् कुन्नि ।थाहा पाइन। मैले भने टाढैबाट “हाई” भने ।

क्यान्डेल निभाइयो । मृत्युको बेला बाल्ने र जन्मदिनमा निभाउने अनौठो चलन भने मलाई उत्ति मन परेन । केक काटियो । केक सबैभन्दा पहिले मलाई नै खुवाइन् । केही केक उसको मुहारमा लगाए अनि थोरै खुवाए । दुखको रङ्गहरुसङ्ग खेल्ने बानी परिसकेको मान्छे म।तर उसको जिन्दगीमा सधै खुशीहरु पोतिरहन सकु भन्दै मनमनै प्रण गरे । यता साथीहरू “ह्याप्पी बर्थडे टु यु सुन्दरी” भनेर कराइरहे । म भने बिहानको बादर काण्ड सम्झेर मनमनै हासिरहे ।

उसलाई सबैले केही न गिफ्ट दिए।तर मैले केही दिन सकिन ।उसलाई बर्षदिनमा गिफ्ट दिने एउटा अवसर पनि गुमाए मैले । त्यो भिडबाट टाढा जाउ जस्तो लाग्यो तर सकिन ।

भर्खरै रुममा आएर उसलाई फोन गर्न खोजे । “तपाईसङ्ग पर्याप्त रकम छैन ” भनिन् राष्ट्रिय दिदिले । सापटी लिन खोजे । मिलेन । पहिलेको चुक्ता गर्नुपर्छ भन्यो । चुक्ता गर्न सकिन । सापटी लिईन ।मैले कल गरिन । उसैले कल गरी।

‘सरी ल,तिम्रो बर्थडे जस्तो स्पेशलडेमा पनि मैले गिफ्ट दिन सकिन।’ लाजहरुको भारी बिसाएर बोले ।
‘हजुर नै त हो नि,मैले पाएको सबैभन्दा अमुल्य उपहार । ‘ उसले मेरो मनलाई सन्तवना दिन खोजी ।
‘तरपनि ! ‘ मेरो बोलीमा गरिबी मिसियो । म भावुक हुन थाले ।
‘त्यसो भए एउटा गिफ्ट माग्छु । दिनुहुन्छ ?’ उताबाट मलिन आवाज आयो।
‘भन न ! दिने कोशिस गर्छु ।’ आफ्नो मनलाई दह्रो बनाएर भने।
‘पक्का ?’ अविश्वास मिसाएर बोलिन् उनी ।
‘उम । दिन्छु।’ मनलाई अझै दह्रो बनाए ।
‘बादर हजुरको थर दिनुस । खण्डलु ।’ उ जोडले हासी ।
उसको आवाज मेरो कानभरी गुन्जियो । अनि मेरो हासो कोठाभरी ।

– लेखक: केशु खण्डलु मगर
निस्दी ०६,पाल्पा