गणेश प्रसाद धानुक सौराहमा पर्यटकहरुलाई जंगल सफारी गराउँछन् । चाहे जीपबाट होस् या पौदल र डुंगाबाट होस् उनीसंग करिब २० बर्षको अनुभव छ । चितवनको सौराह जाने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरु जंगल सफारी गर्न रुचाउँछन् । राप्ती नदीमा डुंगामा सयर गरेर जंगलको किनार–किनार जान रुचाउनेहरु पनि धेरै हुन्छन् । लामो समय सौराह घुम्न आउने पर्यटकहरुलाई गाईडको भूमीका निर्वाह गरेका धानुक सोराहको जंगललाई नजिकबाट नियालेका छन्, बुझेका छन् र पर्यटक लिएर जाँदा धेरै दुःख समेत व्यहोरेका छन् ।
सौराह यात्रामा पनि उनले जीवनका धेरै दुःखदायी सम्झनाहरु सुनाए । जंगलभित्र जो कोहीलाई पस्न दिईदैन । जंगल जान गाईडका साथ पास अनिवार्य छ तर स्थानीयहरु र चोरी पैठारी गर्नेहरु कुनै न कुनै बाटो भएर जंगल पस्छन् । जंगल घुम्ने क्रममा धेरै ठाउँमा पानीका पोखरी देखा पर्छन् । स्थानीयहरु उक्त पानीमा माछा मार्न जाँदा धेरैलाई गोहीले खाएको उनले सम्झिए । आफ्नै आँखा अगाडी धेरै पटक बाधले झम्टीएको छ, गैडाले लखेटेको छ उनले सम्झिए । धानुक सम्झदै भन्छन्–केही समय अघिमात्र पैदलको माध्यमबाट जंगल सफारी गएका पर्यटकलाई गौडाले मारको थियो । गाईडलाई आफू पनि जोगिन र पर्यटकहरुलाई पनि जोगाउन गाह्रो हुने उनले तर्क गरे ।
जीप मार्फत जंगल सफारीमा गएकी युवती अस्मीता अर्यालले भने सौराहमा जंगल सफारी गर्नुको मज्जा छुट्टै भएको बताईन् । बिशेषत् नेपाल घुम्न आउने र त्यो पनि सौराह घुम्न आउने पर्यटकले गर्ने पर्ने र घुम्ने पर्ने भनेको चितवन राष्ट्रिय निकुञ्ज हो । चितवनकै स्थानीय बासिन्दा रहेकी अस्मीता धेरै पटक आफन्त र साथीभाईलाई लगेर जंगल सफारी गराईसकेकी छन् ।