काठमाडौँ । बाल्यकालदेखि झण्डै डेढ दशक भारतका विभिन्न ठाउँमा मजदुरी गरेर जोडेको नेपालगञ्जस्थित एक कठ्ठा ऐलानी जग्गामा बनाएको सानो दुईकोठे घरमा अधबैंशे झक्कड थापा रेडियो सुनिरहेका थिए । रेडियोले फुक्यो, ‘तपाईंसँग प्रतिभा छ भने तपाईंका लागि सुवर्ण अवसर छ, नेपाल आइडलको नेपालगञ्ज अडिशन भोलि हुँदैछ ।’ एक राष्ट्रिय टेलिभिजनले देशभरि गिती ‘रियालिटी’ कार्यक्रम ‘नेपाल आइडल’ आयोजना गर्दै थियो ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइजी उक्त कार्यक्रमको अडिशन २०७३ फाल्गुनमा नेपालगञ्जमा थियो । दैलेखबाट नेपालगञ्ज झरेका झक्कड सानो हुँदा गाउँमा खुब देउसी भैलो खेल्थे। आफै भट्याउँथे। मादल ठोक्थे। तिरिरि मुरुली बजाउँथे। भारतमा नंग्रा तिखार्दा तिखार्दै खिइएका उनलाई लाग्यो– घर नजिकै अवसर आएको छ । म पनि आफूसँग भएको प्रतिभा देखाउँछु । केही अवसर पो मिलिहाल्छ कि ।

‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर थियो,’ डेढ वर्षअघिको अडिशन, जसले झक्कडलाई धेरैसँग परिचित गरायो, त्यसदिनको स्मरण गर्दै उनले भने, ‘फाल्गुनको महिना, नेपालगञ्जको गर्मीमा पनि साइकल चढेरै सात किलोमिटर हिंडे। दैलेखी भाकामा स्वर आउँछ त्यो गाउनुपर्ला भन्ने सोचेको थिएँ ।’ अडिशनस्थलको माहौल पूरै संगीतमय थियो। सबैजना गुनगुनाइरहेका थिए। सबै अभ्यासमा व्यस्त थिए। आ–आफ्नो पालो पर्खिएरहेका थिए।

त्यही भिडमा मिसिए झक्कड। र, गाउन थाले दैलेखी भाका । राति १ बजे पालो आयो। उनले ‘धासु’ इन्ट्रि मारे। ‘उध्रेको चोलीको खुकुलो तुना छ…’ बोलको गीतसँगै हात हल्लाएर निर्णायक (जज) हरु सामु झक्कड भुल्किए। जानीनजानी दुबै हात हल्लाएर नाच्दै गाउनु पछि उनको ‘ट्रेडमार्क’ नै बन्यो। उनको इन्ट्रिमा नै टेलिभिजन हेरिरहेका धेरैको खित्का छुटिसकेको थियो।