धरान । गत मङ्सिर ८ गते घना जंगलमा शिकार खेल्ने क्रममा आफ्नै साथीलाई बँदेल सम्झेर गोली हान्दा घटनास्थल मै साथीको मृत्यु भएको छ। शिकार खेल्ने क्रममा धरान १७ उदय टोलका आशिष ठटाललाई बँदेल सम्झेर कमल गुरुङले भरुवा बन्दुकबाट गोलि प्रहार गरेका थिए । यसरी आफ्नै साथीको छातीमा गोली हानेर हत्या गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान १७ उदय टोलका कमल गुरुङ, हेमन राई, आबिश्कार लिम्बु, मोहन बराईली र सन्जेल राई रहेका छन् ।

पक्राउ परेका साथीको बयान अनुसार – शिकार छेक्न तीन वटा टोली बनाएका थिए । २–२ जनाको टोलीले ३ तिरबाट छेक्न योजना बनाएका थिए । ठटाल टाउको दुख्यो भन्दै त्यहीँ बसेपछि उनका टोलीको साथी एक्लै गए । अर्को टोलीबाट आउँदै गरेको साथी कमल गुरुङले रुखको फेदमा बसिरहेका ठटाललाई चिन्न नसकेर बँदेल सम्झेर गोली प्रहार गरे । आशीषको छातिमा लाग्यो । उनी त्यहीँ ढले । गुरुङको गोली प्रहारबाट मृत्यु भएका ठटाललाई सबै साथीहरु मिलेर जंगलमा गाडेर घर फर्किए ।

पक्राउ परेका साथीहरुकै मद्दतले गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए । ११ दिनपछि उनको शव प्रहरीले उत्खनन् गरी निकालेको हो । उनीहरुका साथबाट दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । ५ अपराधीलाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडि बढाइएको डिएसपी तिम्सिनाले बताउनुभयो ।