काठमाडौं, २६ मङ्सिर । युवतीको सामुहिक बलात्कार गर्ने अभियुक्तलाई एक वर्ष पछी पक्राउ गरिएको छ । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार काण्डका दुई अभियुक्त पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २१ वर्षीय विशालध्वज कार्की र अर्का २१ वर्षीय पवन कुँवर पक्राउ गरेको हो ।

ललितपुरको गोदामचौरमा एक युवतीमाथि कार्की र कुँवरसहित रघु सिलवालले सामूहिक बलात्कार गरेका थिए । गत वर्षको मंसिर २ गते साँझ गोदावरीकी २२ वर्षीया एक युवतीमाथि गोदावरी खोलामा सामूहिक बलात्कार भएको थियो । जहाँ बलात्कारको प्रतिकार गर्ने क्रममा ती युवतीको हात भाँचियो र टाउकामा ढुंगा प्रहार गरी घाइते बनाएर बलात्कार गरिएको थियो । बलात्कृत ती युवतीको सफल उपचार भएको छ । बलात्कार पछी ति बलात्कारी युवाहरुको प्रहरीद्वारा तिब्र खोजी गरिएको थियो ।

०००

यो पनि पढ्नुहोस :

जबर्जस्ती करणी आरोपमा एक युवा पक्राउ

अछाम, २६ मङ्सिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिएलगतै प्रहरीले भुललाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभएको छ ।

०००

यो पनि पढ्नुहोस :

बालक अपहरण गर्ने तीन जना पक्राउ

भद्रपुर, २६ मङ्सिर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो । इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ । रासस