काठमाडौँ, २ पुस । राष्ट्रिय गौरवको सबै भन्दा ठुलो आयोजना स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। निर्माण समय पछाडी धकेलिदै जादा यसको लागत २७ अर्ब रुपैयाँ थप हुने भएको छ ।

नेपाली मुद्राको अवमूल्यन र ब्याजले मात्र आयोजनाको २७ अर्ब रुपैयाँ बराबर लागत थप हुने देखिएको हो । भूकम्पका कारण पहुँच मार्गलगायतमा क्षति भएर निर्माणको अवधि २ वर्षपछि धकेलिएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीको लागत निर्माण अवधिको ब्याज र डलरको भाउ उत्तारचढाव हुँदा लागत धेरै नै थप भएको हो । आयोजना सुरु हुँदा ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत नेपाली मुद्राको अवमूल्यनवापत ७ अर्ब ६ करोड तथा निर्माण अवधिको ब्याज वापत मात्र गत आर्थिक वर्ष २०७४-७५ सम्ममा १४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबर थप भएको आयोजनाले जनाएको आजको कारोबारदैनिकमा खबर छ ।

आयोजनाका अनुसार चालू आर्थिक वर्ष २०७५-७६ मा मात्र निर्माण अवधिको ब्याज खर्च ५ अर्ब ४१ करोड ५६ लाख थपिनेछ । आयोजनाको निर्माण सुरु गर्दा निर्माण अवधिको ब्याज १३ अर्ब २१ करोड ७० लाख रुपैयाँसहित ४८ अर्ब ८६ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । “निर्माण अवधिको ब्याजसहित आयोजना निर्माण सुरु हुँदा ४८ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो, भूकम्पलगायतका कारणले निर्माणमा ढिलाइ हुँदा र डलरको भाउ बढेकाले चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने बेलासम्म ६९ अर्ब ५९ करोड १९ लाख लागत अनुमान गरेका छौं,” माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, “निर्माणमा ढिलाइ हुँदा मासिक ४० करोड अर्थात् दैनिक सवा करोड घाटा परिरहेको छ ।”

आयोजना निर्माणको काम आगामी असारसम्म सक्ने लक्ष्य छ । उनका अनुसार, हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीले काममा ढिलाइ गरेपछि यसको विकल्प खोज्ने तयारी भइरहेको छ । आयोजना सुरु गर्दा डलरको भाऊ ८० रूपैयाँ भए पनि अहिले औसतमा ९७ रूपैयाँ ६० पैसा र कर्मचारी सञ्चय कोषबाट आयोजनाले लिएको ब्याजवापत १२.५ प्रतिशतसम्म पुगेका कारण लागत बढेको आयोजनाले जनाएको छ ।

कर्मचारी सञ्चय कोषको कष्ट अफ फाइनान्स ८ प्रतिशत मात्र भए पनि कोषले त्योभन्दा बढाएर लिएको र १२.५ प्रतिशतसम्म पु¥याए पनि हाल ११ प्रतिशत रहेको आयोजनाले जनाएको छ । लागत बढ्दै गए पनि माथिल्लो तामाकोसीको विद्युत् सस्तो मानिएको छ । प्राधिकरणले तामाकोसीसँग प्रतियुनिट ४.०६ पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । यो अरु आयोजनाको तुलनामा सस्तो हो ।

निर्माण सम्पन्न भएपछि तामाकोसीबाट वार्षिक २२ सय ८१ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ भने यसबाट ९ अर्ब राजस्व संकलन हुनेछ । रोल्वालिङको पानी थपिएपछि थप दुई सय गिगावाट आवर थपिने आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसीको लागत बढ्दै गए पनि आयोजना सम्पन्न भएपछि देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) एक प्रतिशत बढाउने तथा विद्युत् प्राधिकरणको नाफा उच्च बनाउनेछ ।

तामाकोसी बनेपछि हाल भारतबाट आयात हुँदै आएको विद्युत् विस्थापन हुँदै जाने र बर्षामा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । चालू वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हाइड्रोमेकानिकलको काममा ढिलाइ हुँदा समस्या पर्ने देखिएको छ । सर्बसाधारणको लगानी रहेको यस आयोजनाले विद्युत उत्पादन गरेर बत्ति बाल्ने ब्यग्र प्रतीक्षा भईरहेको छ ।

०००

यो पनि पढ्नुहोस :

नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक

– सन्तोष गौतम

म्याग्दी, २ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो ।

असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् । सन् २०१७ मा एक हजार विदेशी पर्यटक आएका थिए । प्राकृतिक, जैविक र भौगोलिक हिसाबले पनि मनमोहक खोप्राबाट मनास्लु, माछापुच्छ्र«े, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनाँै हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको प्रमुख विशेषता हो ।

खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्तीको अवलोकन गर्न सकिन्छ । ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

मृग, घोरल, डाँफेलगायत जङ्गली जनावर र पशुपछीको अवलोकन गर्न सकिने पाउद्धारका अगुवा भीमबहादुर तिलीजाले बताउनुभयो । समथर भूगोलको चरनमा पालिएका चाँैरी, गाई, बाख्रा र भेँडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतिको धेरै किसिमका सौन्दर्यको अनुभव लिन पाएको गत हप्ता खोप्रा भ्रमणमा गएकी बागलुङकी प्रमिला कुँवरले बताउनुभयो । पहाडको टाकुरामा रहेका भिरालो पाखोबाट पृष्ठभूमिमा देखिने दन्तलहरझैँ हिमाल, तलतिरका वन, टाढाटाढाका मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरु, बिहानीमा देखिने सूर्योदयले मन छोएको पोखराकी प्रशन्न खड्काले बताउनुभयो ।

वसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रङ्गिन्छ । बर्खायाममा रङ्गीबिरङ्गी बुकी फुलेर वातावरणमा उमङ्ग थपिन्छ । बादलले एकैछिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृश्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ ।

खोप्रामा सूचना प्रविधिका अभियन्ता महावीर पुनले बेतारे इण्टरनेटको रिपिटरटावर, मौसम सूचना केन्द्र सञ्चालन गर्नुभएको छ । खोप्रा, वयली, डाँडाखर्कका सामुदायिक लजमा पुनकै पहलमा ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरी २४सै घण्टा विद्युत् आपूर्ति गराइएको शिखका अगुवा बागवीर पाइजाले बताउनुभयो ।

पर्यटकको चाप बढेपछि विसं २०६५ मा स्थापना भएको २४ जना क्षमताको सामुदायिक लजको क्षमता विस्तारको तयारी गरिएको छ । अहिले क्षमताभन्दा बढी पर्यटक आउँदा टेन्टमा सुत्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयलाई पाँच लाख सहयोग

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई रु पाँच लाख सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका पुर्जाले तीन विद्यालयलाई रु चार लाख ९९ हजार ६०५ सहयोग गर्नुभएको वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

काफलडाँडा आधारभूत विद्यालयलाई रु तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभूत विद्यालयलाई रु एक लाख ११ हजार १०० र जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतिमण्डल माविलाई रु ५५ हजार ५०५ सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मथलो आउनुभएका पुर्जाले घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले काफलडाँडाको सूर्याेदय युवा क्लबलाई रु ३५ हजार ५०० सहयोग गर्नुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस् भनेर सहयोग गरेको पुर्जाले बताउनुभयो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिविधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयले जनाएका छन् । रासस

०००

यो पनि पढ्नुहोस :

सडक निर्माणसँगै डोल्पामा विकासको लहर

– हेमन्त केसी

जाजरकोट, पुस १ । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८ का सर्जन पहाडी नेपालगञ्जबाट नुन बोकेर घर ल्याएको पुरानो याद आफ्ना नाति नातिनालाई सुनाउने गर्नुहुन्छ । एक महीना लगाएर नेपालगञ्जबाट नुन बोकेर घर पु¥याएको कथा सुन्न पाउँदा अहिले उहाँका नातिनतिनाहरु अनौठो मान्छन् ।

अहिले पनि घरको सानोतिनो काम गर्ने एकहत्तर वर्षीय पहाडी छोराछोरीलाई पनि सघाउने गर्नुहुन्छ । नुन ल्याउन जाँदा बाटोमा रहेका ओढारमा पिठो लुकाएर गएको र आउँदा सोही पिठोको रोटी बनाएर खाँदै घर फर्केको कुरा सुनाउँदा नातीनतिना अचम्म मान्छन्् । अहिले घरआँगनमै जिप तथा ट्याक्टर चलेको र त्यसमै सबै सामान ल्याउने गरेको देखेका उनीहरूलाई विगतका घटना कथाजस्तै लाग्ने भएकाले सबै घटना सुनाउने गरेको उहाँ बताउहुन्छ ।

उहाँजस्तै अर्का ६५ वर्षीय कौशिला थापा र उहाँको श्रीमान्को भोगाइ पनि कम छैन । भावविह्वल हुँदै उहाँ भन्नुहुन्छ, “विसं २०४१ मा आफ्ना श्रीमान् नुन लिएर नेपालगञ्जबाट फर्कंदा बाटोमा नुन बोकेको भारी बिसाएर थकाइ मार्दा सल्यानको रेउचे लेकबाट तल खसेर मृत्यु भएको थियो । अहिले नुनदेखी सुनसम्म घरआँगनमै जिप, ट्याक्टरमा ल्याएर खाना पाउँदा खुशी एकातिर लाग्छ भने अर्कोतिर मृत्यु भएका श्रीमान्को याद पनि बेलाबखत आउने गर्छ ।”

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत डोल्पाको त्रिपुराकोटमा अहिले सहजै यातायातका साधन सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । पहिलेजस्तो दैनिक उपभोग्य सामग्री महङ्गो नभएकाले केही राहत महसुस भएको अर्का स्थानीयवासी टङ्क न्यौपाने बताउनुहुन्छ । पहिले जाजरकोटबाट पिठ्युमा बोकेर ल्याइएका सामान महङ्गो हुन्थ्यो भने अहिले यातायातका साधनमा ल्याउँदा सस्तो पर्ने उहाँ उल्लेख गर्नुहुन्छ ।

निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीसम्म हवाइ जहाजमा ल्याउँनुपर्दा भने तिनको मूल्यभन्दा पनि भाडा बढी लाग्ने गरेको त्रिपुरासुन्दरी नगरपालिका–९ लिकुका हरिबहादुर खत्रीको गुनसो छ । डोल्पामा भौतिक संरचना निर्माण गर्दा आवश्यक सामग्री नपाएर काममा समेत बाधा पुग्दै आएको उहाँको भनाइ छ ।

अहिले कुनै पनि संरचना निर्माण गर्नका लागि सामग्री घर, आँगनमै पाइने भएपछि भवन निर्माण शुरु गरिएको जानकारी दिँदै खत्री भन्नुहुन्छ । वर्षेनी डोल्पामा भवन निर्माणका लागि बजेट आए पनि निर्माण सामग्रीको अभावमा रकम फिर्ता भएर जाने गरेको थियो ।
अहिले जाजरकोट–डोल्पा सडकखण्डको ट्याक खुला भएपछि गाउँगाउँमा स्काभेटरद्वारा आन्तरिक सडक निर्माणको काम तीव्ररूपमा बढेको त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढा बताउनुहुन्छ । गाउँगाउँमा सडक पु¥याउनका लागि काम भइरहेका छन्, सडक निर्माण पहिलो प्राथमिकता भएको उहाँको भनाइ छ ।

नेपाली सेनाले यो सडकखण्डको ट्याक खुलाउने काम पूरा गरेसँगै यहाँका बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै घटेको सांसद पद्मा बोहरा बताउनुहुन्छ । पहिले यातायात सञ्चालन नहुँदा मसिनो चामल रु चार हजार ५०० मा किन्नुपथ्र्यो भने अहिले यातायात सञ्चालनपछि दुई हजार १०० मा पाइने उहाँको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक सडक निर्माणलाई तीव्रता दिएसँगै मसिनाचौर विमानस्थलसम्म ट्याक्टर सञ्चालन भएको छ ।

त्रिपुराकोटदेखि छल, रमा, रसी, रल्ली, कालीकासम्मको सडक निर्माणको काम शुरु भएको छ । यसैगरी ठूलीभेरी नगरपालिका, जगधुला गाउँपालिका, मुट्केचुला गाउँपालिकामा समेत सडक निर्माणका लागि काम भइरहेको छ । जुम्लाबाट चौरीकोट जगधुला जोड्ने सडकको कामसमेत भइरहेको सांसद बोहोरा बताउनुहुन्छ । सडक निर्माण तीव्ररूपमा भएमा अर्को वर्षदेखि जगदुला हाइड्रोपावरका लागि सामग्रीसमेत ढुवानी गर्न सकिने उहाँको भनाइ छ ।

अहिले नेपाली सेनाले जाजरकोट–डोल्पा सडकखण्डको डोल्पा खण्डमा ट्याक खुला भएको ठाउँमा सडक स्तरोन्नतिका लागि काम जारी राखेकाले डोल्पामा उत्पादन भएको वस्तु जाजरकोट, रुकुममा ल्याएर बिक्री गर्न सजिलो भएको निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडी बताउनुहुन्छ । रासस